डाबर नेपालद्वारा पशुपति कोषलाई नर्सरी हस्तान्तरण
काठमाडौं : डाबर नेपालले पशुपति क्षेत्र विकास कोषलाई ग्रिनहाउस नर्सरी हस्तान्तरण गरेको छ । उक्त ग्रिनहाउस नर्सरी डाबर समूहका ग्लोबल प्रमुख मानव संशाधन ए. सुधाकरले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीलाई हस्तान्तरण गर्नुभएको हो । डाबरले सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक संरक्षण तथा संवद्र्धनका योजना प्रमुखता साथ अघि बढाएको छ । यही योजनाअन्तर्गत कम्पनीले उक्त ग्रिनहाउस नर्सरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको जनाएको छ ।
१४ वषदेखि डाबर नेपालले पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा गौशाला चोकको बाटिकाको पुनर्निर्माण, संरक्षण, संवद्र्धन तथा व्यवस्थापन गर्दै आएको छ । वनकाली क्षेत्रमा सरसफाइ गरी रुद्राक्ष, बेल, चन्दन, बर, पीपलजस्ता धार्मिक महत्वका विभिन्न प्रजातिका बिरुवा रोपेर हरियाली बढाउने काम गर्दै आएको छ । रुद्राक्ष, श्रीखण्ड, स्वामी, कपुर, हरसिंगारलगायत विभिन्न प्रजातिका बिरुवा तयार गरी पशुपति क्षेत्र परिसरभित्र बृक्षरोपण गर्ने उद्देश्यले डाबर नेपालले ग्रिनहाउस नर्सरी स्थापना गरेको हो । उक्त ग्रिनहाउसबाट वार्षिक एकदेखि दुई लाख विभिन्न प्रजातिका बिरुवा उत्पादन गर्न सकिने जनाइएको छ । आवश्यक पर्ने बिरुवा सो ग्रिनहाउस नर्सरीमा उत्पादन गरी पशुपतिको खाली क्षेत्रमा रोपेर पशुपति क्षेत्रलाई हरियाली बनाउन मद्दत पुग्ने कम्पनीले जनाएको छ।