८० रोपनीमा अलैंचीखेती

८० रोपनीमा अलैंचीखेती

फिदिम : फालेलुङ ८ सुर्केनागिका यामबहादुर कुरुङबाङ अलैंचीखेतीमा अब्बल साबित हुनुभएको छ । अलैंचीखेतीबाटै करोडौं रुपैयाँ कमाएको उहाँ बताउनुहुन्छ । बुवा मनप्रसाद र आमा खड्ककुमारीको कान्छो छोराको रूपमा २०३२ साल पुस १६ गते जन्मिएका यामबहादुरले बुवाले सुरु गरेको अलैंचीखेतीलाई नै निरन्तरता दिएर सफल किसानको पहिचान बनाउनुभएको हो ।

‘पैसा कमाउनलाई धेरै पढ्नैपर्छ भन्ने छैन', कक्षा १० सम्मको अध्ययन गर्नुभएका यामले भन्नुभयो, ‘आफ्नो काममा निरन्तर रूपमा लागियो भने सफल बन्न गाह्रो छैन ।' निरन्तरता र लगनशिलताले नै सफलता हात पार्ने यहाँको ठहर छ । बुवाले सुरु गरेको अलैंचीखेती विस्तार अभियानलाई नै यामबहादुरले निरन्तरता दिनुभएको हो । उहाँका बुवा मनप्रसादले जिल्लामा सबैभन्दा पहिले अलैंची भित्र्याउनुभएको हो । उहाँले २०१४ सालमा सिक्किमको माङसिलाबाट पाँच बोट अलैंचीको बिरुवा ल्याएर खेती सुरु गर्नुभएको थियो । बुवाको अलैंचीखेती विस्तार अभियानलाई यामबहादुरले २०५५ सालदेखि साथ दिनुभएको हो । अहिले यामबहादुरले ८० रोपनी जमिनमा अलैंचीखेती विस्तार गरिसक्नुभएको छ । अलैंचीखेतीबाट १५ जनाले रोजगारी पाएका छन् । अलैंचीखेतीका लागि वार्षिक दुई लाख लगानी गर्ने यामबहादुर सुनाउनुहुन्छ ।

यामबहादुरले अलैंचीखेतीबाटै करोडौं कामाउनुभएको छ । बगानबाट ४७ मनसम्म अलैंची उत्पादन गरेको उहाँले बताउनुभयो । २०५३ सालमा सबैभन्दा धेरै अलैंची उत्पादन गरेको उहाँको भनाइ छ । २०६३ सालमा ४२ मन अलैंची उत्पादन भएको र प्रतिमन २२ हजार रुपैयाँले बिक्री गर्दा लाखौं रुपैयाँ हात पारेको उहाँले हिसाब सुनाउनुभयो ।

‘उत्पादनमा अत्यधिक ह्रास आउँदा पनि १० मनभन्दा बढी नै अलैंची उत्पादन गर्छु', यामबहादुर भन्नुहुन्छ, ‘अहिलेसम्म अलैंचीको आम्दानी जोड्ने हो भने करोडौं रुपैयाँ कमाएको छु ।' अलैंचीको आम्दानीबाटै ललितपुरमा पाँच आना र फिदिममा १० आना जग्गा जोडेको यामबहादुरले सुनाउनुभयो । सुर्केनागिमा उहाँको एक सय २० रोपनी जमिन छ । अलैंचीको आम्दानीबाट पुर्खौंली जमिनमा ६० रोपनी थप गर्नुभएको हो । ‘अलैंचीबाट राम्रो कमाई गरेको छु, ललितपुरको जमिनमा यही साल घर बनाउने योजना बनाएको छु,' यामबहादुले भन्नुभयो ।

अहिले अलैंची उत्पादनमा ह्रास आएको छ । छिर्के फुर्के र गानो कुहिने रोगका कारण उत्पादनमा ह्रास आएको हो । उत्पादनमा ह्रास आए पनि वार्षिक १० लाख रुपैयाँ अलैंचीखेतीबाटै आम्दानी हुने गरेको उहाँको भनाइ छ । पुरानो बगानमा उत्पादनमा ह्रास आएपछि यामबहादुले नयाँ बगान विस्तार गर्नुभएको छ । नयाँ बगानमा अलैंची उत्पादन राम्रो भएकाले आउँदो वर्षदेखि आम्दानी बढ्नेमा यामबहादुर ढुक्क हुनुहुन्छ ।

यामबहादुरका एक छोरा र दुई छोरी छन् । उहाँले छोराछोरीलाई काडमाडौंका सुविधासम्पन्न कलेजमा पढाउनुभएको छ । ‘अलैंचीको आम्दानीबाटै छोराछोरीलाई राम्रो शिक्षा दिलाउन सकेँ', खुसी हुँदै उहाँ भन्नुहुन्छ, ‘छोराछोरीकै लागि वार्षिक १० लाख खर्च गर्छु ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.