दुई हजार थान लागुऔषधसहित दुई पक्राउ
काठमाडौँ : प्रहरीले दुई हजार ३६७ थान लागुऔषध एम्पुलसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले आइतबार काठमाडौ, बूढानीलकण्ठ नगरपालिका- ७ बाट काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं १ का दिनेश थापा र तेह्रथुम आठराई नगरपालिका-४ घर भई नयाँ बजार बस्ने पदम आले मगरलाइ पक्राउ गरेको लागुऔषध ब्युरोका प्रमुख धिरु बस्नेतले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट ४७ हजार नेपाली नगद र एक हजार ९२० भारतीय रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार देशभित्र लागुऔषध प्रयोगकर्ताको संख्या करिब एक लाख रहेको छ । काठमाडौँ, पोखरा, बुटवल, धरानलगायत सहरमा लागुऔषध दुर्व्र्यसनीको संख्या अरु शहरको तुलनामा बढिरहेको जनाइएको छ ।
लागुऔषध प्रयोगकर्ता खास गरी १४ देखि २५ वर्ष उमेर समूहका भएको पाइएको छ । पछिल्लो छ वर्षमा लागुऔषध दुव्र्यसनीको संख्या दोब्बर पुगेको तथा सात प्रतिशत महिला रहेको जनाइएको छ ।
अवैध हातहतियारको व्यापारपछि दोस्रो ठूलो व्यवसायका रुपमा गिरोहले लागुऔषध ओसारपसारलाई चलाउँदै आएको छ । हातहतियारको अवैध ओसारपसार र लागुऔषधको व्यवसाय अन्तर्राष्ट्रिय समस्याका रुपमा रहँदै आएको छ । रासस