चन्द्र ग्रहणले गर्दा नाग पञ्चमी कै दिन रक्षा बन्धन र जनैपूर्णिमा
भक्तपुर : विज्ञानसम्म बनाउन सरकारले ज्योतिषशास्त्रमा लगानी गर्नुपर्नेमा जोड दिइएको छ। सरकारको उपेक्षाको कारण ज्योतिषशास्त्र लोप हुँदै गएकोमा चिन्तासमेत व्यक्त गरिएको छ।
ज्योतिषाचार्य डा. वीरेन्द्रप्रसाद कायष्ठद्वारा लिखित ‘ज्योतिष र रोग’ नामक पुस्तकको शनिबार भएको विमोचन कार्यक्रमका वक्ताहरुले ज्योतिषशास्त्र समय भएको र सबै काम समयानुसार भए त्यसले सतप्रतिशत परिणाम दिने दावी गरे। पुस्तक विमोचन गर्नुहुँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ज्योतिषशास्त्रलाई धर्म र संस्कृतिको भन्दा विज्ञानको दृष्टिले हेर्नुपर्ने धारणा राख्नुभयो।
हजारौं वर्षको अनुभव र प्रयोगको आधारमा ज्योतिषशास्त्र आएको हुनसक्ने उहाँको भनाइ थियो। ‘विज्ञानले नै ग्रह र नक्षत्रको प्रभाव हुने पुष्टि गर्दै आएको छ’, सांसदसमेत रहनुभएका अध्यक्ष बिजुक्छेले भन्नुभयो, ‘त्यसैले ज्योतिषशास्त्रलाई पनि विज्ञानसम्मत बनाउनुपर्छ। सरकारले ज्योतिषशास्त्रबारे अध्ययन अनुसन्धान गर्ने बन्दोबस्त गर्नुपर्छ।’
ज्योतिषशास्त्रलाई भाग्यवाद र नियमित आकस्मिकताको पर्याय बन्नबाट रोक्न उहाँले ज्योतिषाचार्यलगायतलाई आग्रह गर्नुभयो।
कालसर्प योग ठगी हो
कार्यक्रममा नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेले केही ज्योतिषहरुले कालसर्प योगको नाउँमा सर्वसाधारण ठग्ने कार्य गर्दै आएको भन्दै आक्रोश पोख्नुभयो। उहाँले कुनै पनि प्रमाणिक वेद तथा ग्रन्थहरुमा कालसर्प योगबारे उल्लेख नभएको दावी गर्नुभयो।
‘काल सर्प योग कुनै पनि प्रमाणिक वेद तथा ग्रन्थमा उल्लेख छैन’, उहाँले भन्नुभयो, ‘तर केही ज्योतिषहरुले सर्वसाधारणहरुमा भ्रम फैलाएर ठमी धन्धा चलाइरहेका छन्। यस्तो भ्रममा नपर्न सर्वसाधारणहरुमा आग्रह गर्न चाहन्छु। यो शास्त्रविरुद्ध हो, धर्मविरुद्ध हो।’
विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेलले सरकारबाट ज्योतिषशास्त्र उपेक्षित बन्दै आएको दुःख व्यक्त गर्नुभयो।
ज्योतिषशास्त्रमाथि धेरै प्रहारहरु हुँदै आएको बताउनुहुँदै उहाँले अधिकमासको नाउँमा १२ बाट ११ महिना गर्नु धर्म संस्कृति र ज्योतिषशास्त्रविरुद्ध हुने बताउनुभयो।
चन्द्र ग्रहणले गर्दा नाग पञ्चमीमा रक्षा बन्धन
त्यस्तै नेपाल पञ्चाङ निर्णायक समितिका सदस्य प्रा.डा.रामचन्द्र गौतमले यस वर्षको जनै पूर्णिमाका दिन ग्रहण परेकाले नाग पञ्चमीको दिनमा रक्षा बन्धन गर्ने पञ्चाङ समितिले निर्णय गरेको स्पष्टीकरण दिनुभयो।
‘जनै पूर्णिमाको दिन चन्द्र ग्रहण परेको छ। ग्रहण हुने दिन रक्षा बन्धनजस्तो पवित्र कार्य गर्न हुँदैन’, उहाँले भन्नुभयो, ‘मानवमात्रले गर्नुपर्ने रक्षा बन्धनको उपाक्रमलाई दोषमुक्त बनाउन यस वर्ष नाग पञ्चमीको दिन रोजिएको हो।’
कार्यक्रममा वास्तुविद् डा. माधवमंगल जोशी, राजुमृग्रेन्द्र जोशी, नेपाल ज्योतिष परिषद् उपत्यका समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशी, उपाध्यक्ष केदारप्रसाद जोशीलगायतले डा. कायष्ठद्वारा लिखित पुस्तकबारे चर्चा गर्नुभएको थियो।
ज्योतिष शिक्षाबारे जान्न चाहनेहरुका लागि पुस्तकले आधारभूत ज्ञान दिने उहाँहरुको भनाइ थियो। लेखक डा. कायष्ठले पुस्तकलाई दुई खण्डमा बाँडेर २३ वटा लेखहरुलाई संग्रह गर्नुभएको छ। रोगको उत्पत्ति र ज्योतिषशास्त्रअनुसार त्यसको निदानबारे लेखक डा. कायष्ठले पुस्तकमा सरल नेपाली भाषामा उल्लेख गर्नुभएको छ।
पुस्तकमा मधुमेह, हृदयरोग र यसका ज्योतिषीय उपाय, रोगमा लग्नस्थ राशीको भूमिका, ज्योतिष र चिकित्साशास्त्र, ग्रह, कुण्डली एवं रोगको प्रकोपबारे जानकारी दिइएको छ।
लेखक डा. कायष्ठले प्रविधिको विकाससँगै नयाँ पुस्तामा ज्योतिषशास्त्रबारे अनाकर्षण बढिरहेकाले उनीहरुलाई लक्षित गरेर पुस्तक तयार पारिएको जानकारी दिनुभयो।