पाँच अर्ब मूल्यको हस्तकलाका सामान निर्यात
काठमाडौँ: आर्थिक वर्ष २०७३/०७४ मा रु चार अर्ब ८० करोड मूल्य बराबरको नेपाली हस्तकलाका सामान विदेश निर्यात भएको छ।
नेपालमा उत्पादित अल्लो, बाँसजन्य पदार्थ, पोतेका सामान, हाड विभिन्न वन्यजन्तुका सिंङ, सेरामिक, सुर्तीजन्य पदार्थ, स्फटिक, ढाका, फेल्ट, सीसा, धूप, छाला, धातुजन्य सामग्री, ढाका कपडा, चित्रकला, कागज, वनस्पतिका रेसा, चाँदी गरगहना, प्रस्तरकला, काष्ठकला र उनका सामान विदेश निर्यात भएको हो।
नेपाल हस्तकला महासंघका अनुसार निर्यात भएको हस्तकलामध्ये सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा भएको छ। अमेरिकामा रु एक अर्ब ५६ करोड चीनमा रु ६७ करोड ४७ लाख, जर्मनीमा रु ४३ करोड ७१ लाख, जापानमा रु ३५ करोड मूल्य बराबरको हस्तकलाका सामान निकासी भएको छ।
महासंघका महानिर्देशक डा गोविन्दप्रसाद रेग्मी अमेरिकामा नेपाली हस्तकलाको धेरै माग भएका कारण अत्यधिक व्यापार भएको बताउनुहुन्छ। “महासंघबाट निर्यात हुने हस्तकलामध्ये सबैभन्दा धेरै अमेरिकामा माग रहेको छ”- महानिर्देशक रेग्मीले भन्नुभयो।
प्रदर्शनका लागि लैजाने हस्तकलाका सामानमा महासंघबाट निर्यात तथा व्यापार प्रवद्र्धन केन्द्रलाई, केन्द्रबाट त्रिभूवन अन्तराष्ट्रिय भन्सार कार्यालयलाई पत्र लेखेपछि मात्र लान पाइने व्यवस्था भए पनि अहिले केन्द्रले बन्द गरेका कारण प्रदर्शनका लागि विदेश लाने सामानमा समस्या परेको उहाँले बताउनुभयो।
महासंघबाट हाल अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दाबढी देशमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ। नेपालमा उत्पादित हस्तकलामध्ये सबैभन्दा धेरै ललितपुरमा हुने गरेको छ।