समुदायलाई अध्ययन केन्द्र हस्तान्तरण

समुदायलाई अध्ययन केन्द्र हस्तान्तरण

भक्तपुर : भक्तपुरका केही युवायुवतीको पहलमा निर्माण गरिएको अध्ययन केन्द्र चाँगुनारायण नगरपालिका ६ नगरकोटको समुदायलाई हस्तान्तरण गरिएको छ।

भक्तपुरका सञ्जय सुवाल, सम्झना बासुकला र राजु तामाङले आफ्ना विदेशी साथीहरुको सहयोगमा साढे चार लाख रुपैयाँमा निर्माण गरिएको उक्त केन्द्र समुदायलाई हस्तान्तरण गरिएको हो। सहयोगीमध्ये प्रमुख सञ्जय सुवालको क्यान्सरका कारण गत चैतमा निधन भएको थियो।

उहाँहरुले करिब एक वर्षको प्रयासपछि चाँगुनारायण नगरपालिका ६ नगरकोटस्थित लामाटोलमा अध्ययन केन्द्र निर्माण गर्नुभएको हो।
लामाटोलका करिब ६० घर भूकम्प पीडितका छोराछोरीहरुको लागि गृहकार्य गर्ने, ट्युसन कक्षा सञ्चालन गर्ने र अन्य शैक्षिक तथा खेलकुद गतिविधि गर्ने गरी अध्ययन केन्द्र निर्माण गरिएको हो।

सहयोगी युवायुवतीले उक्त अध्ययन केन्द्रमा दुई जना शिक्षकसमेत व्यवस्था गर्नुभएको छ। ती शिक्षकहरुले बिहान दुई घन्टा र बेलुका तीन घन्टा गरी दैनिक पाँच घन्टा ट्युसन कक्षा लिने स्थानीयसमेत रहेका सहयोगी राजु तामाङले जानकारी दिनुभयो।

केन्द्रमा बालबालिकालाई खेल्नको लागि क्यारोम बोर्ड, व्याडमिन्टनको समेत व्यवस्था गरिएको छ। केन्द्रमा मल्टिमेडियामार्फत शिक्षा दिने आफूहरुको लक्ष्य रहेको अर्का सहयोगी युवती सम्झना बासुकलाले बताउनुभयो।

‘भूकम्प पीडितहरु अझै टहरामा बसिरहनुभएको छ, जहाँ बालबालिकालाई गृहकार्य गर्न अध्ययन गर्ने ठाउँ र वातावरण थिएन’, बासुकलाले भन्नुभयो, ‘ती बालबालिकाको समस्या बुझेर अध्ययन केन्द्र स्थापना गर्ने सोच आएको हो।’
स्थानीयसँग धेरैपटक छलफल र बैठकपछि मात्रै केन्द्र निर्माण अघि बढाइएको उहाँले बताउनुभयो। उहाँका अनुसार स्थानीयले उपलब्ध गराएको सार्वजनिक जग्गामा केन्द्र निर्माण गरिएको छ। स्थानीय रुपमा उपलब्ध बाँस, काठ, जस्तापाताले केन्द्र निर्माण गरिएको छ।

केन्द्रभित्रको कोठा बालमैत्री रुपमा सजाइएको छ। जहाँ सेतोपाटीको व्यवस्था गरिएको छ। केन्द्रको व्यवस्थाले आफ्ना बालबच्चाहरु बिग्रन नपाएको स्थानीय अभिभावकहरुले प्रतिक्रिया दिएका छन्। उनीहरुका अनुसार अध्ययन केन्द्र सञ्चालनमा आएपछि आफ्ना छोराछोरीहरुको बानीव्यहोरामा सकारात्मक परिवर्तन आएको छ।

पहिले जथाभावी र छाडा बोल्ने बालबालिका अहिले सभ्य र शिष्ट भाषा बोल्ने गरेको उनीहरुको भनाइ रहेको छ। पहिले खालि खेल्न र कुद्न मन गर्ने बालबालिका अहिले केन्द्रमा गएर गृहकार्य गर्न तथा ट्युसन पढ्न जान हतार गर्ने गरेको अभिभावक सुस्मिता तामाङ बताउनुहुन्छ।

‘केन्द्र निर्माण गरिएपछि बालबच्चा खेलेर बिग्रन पाएका छैनन्’, उहाँले भन्नुभयो, ‘गृहकार्य सिकाउन हामीलाई आउँदैन। केन्द्रमा शिक्षकको व्यवस्था गरिएकाले छोराछोरी त्यही जान्छन्। हामीलाई पनि सजिलो भएको छ।’

यसैबीच चाँगुनारायण नगरपालिका ६ वडा नगरकोटका अध्यक्ष सन्ते वाइबाले एक कार्यक्रमबीच समुदायलाई हस्तान्तरणसँगै उक्त केन्द्रको उद्घाटन गर्नुभएको छ।

अध्ययन केन्द्र हरेक टोल टोलमा आवश्यक भएको बताउँदै वडा अध्यक्ष वाइबाले उक्त केन्द्रको स्थायित्व एवं निरन्तरताको लागि नपाबाट आर्थिक सहयोगको लागि पहल गर्ने बचन दिनुभयो।

उहाँले सधैं अरुको मात्रै सहयोग नताकी केन्द्रको निरन्तरताको लागि अभिभावकहरुले छुट्टै कोषको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा स्थानीय समाजसेवी धनबहादुर तामाङ, माउन्ट एभरेस्ट युवा क्लवका अध्यक्ष हरिबहादुर हरिबहादुर लामा, विजय लामालगायतले अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई नियमित रुपमा केन्द्रमा पठाउनुपर्ने धारणा राख्नुभयो।

उक्त केन्दमा कक्षा एकदेखि पाँचसम्मका ४० जना विद्यार्थीहरु लाभान्वित हुँदै आएको केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी तामाङले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.