तोकिएको समयभित्रै निर्वाचन: गृहमन्त्री
काठमाडौं : गृहमन्त्री जनार्दन शर्माले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको तयारीमा सरकार जुटेको बताउनुभएको छ।
व्यवस्थापिका संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री शर्माले संविधान कार्यान्वयन गर्न स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन पहिलो खुड्किलो रहेको चर्चा गर्दै सरकार ती तीनवटै निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तोकिएकै समयमा अब बाँकी दुई तहका निर्वाचन सम्पन्न हुनेछन्। सरकारले तलमाथि गर्न सक्दैन।'
निर्वाचनमा खर्च कटौती गर्न कानुनी प्रावधानको खोजी गर्न आग्रह गर्दै गृहमन्त्री शर्माले निर्वाचन आचारसंहिता पालनाकर्ता स्वयं राजनीतिक दल नै भएकाले यसमा राजनीतिक दलले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । रासस