मन्त्रिपरिषद विस्तार नहुँदा प्रचण्ड लज्जित
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार नगरीदिँदा सत्ता गठबन्धनको अर्को प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लज्जित हुन थाल्नु भएको छ ।
प्रधानमन्त्री देउवालाई आइतबार बालुवाटारमा भेट्दा पनि अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् विस्ता नहुँदा आफू लज्जित भएको जानकारी गराउनु भएको हो ।
‘आज बिहान मात्रै मैले प्रधानमन्त्रीलाई भेटेर अब त हदै भयो, लाज लाग्नै थालिसक्यो मन्त्रिपरिषद् विस्तार गरौं भनेको छु’, अध्यक्ष प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।
कांग्रेस भित्रको विवाद मिलाउन नसकेको हो भने आफनो पार्टीका नेतालाई मन्त्री बनाउन पनि आफूले प्रधानमन्त्री देउवालाई आग्रह गरेको प्रचण्डले बताउनुभयो ।
‘तपाईको पार्टीका तर्फबाट मन्त्री हुनेको सूची नभएको भए हाम्रो पार्टीका नेतालाई भएपनि सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्नुहोस् भनेको छु’, प्रचण्डले भन्नुभयो ।
जवाफमा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेतालाई मात्रै मन्त्री बनाउँदा राम्रो सन्देश नजाने प्रचण्डलाई बताउनु भएको थियो । ‘उहाँ (देउवा)ले त्यसो गर्दा दुवै पार्टीका बीचमा नमिलेको जस्तो हुन्छ भन्नुभो’, प्रचण्डले भन्नुभयो । प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै प्रचण्डले भन्नुभयो, ‘आजसम्म कांग्रेस केन्द्रीय समितिको बैठक सकिन्छ, त्यसपछि भोलि (सोमबार) विस्तार गरौला भनेर उहाँले भन्नुभएको छ । अब विस्तार हुन्छ ।’
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बीचमा असार ४ गते नै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो । ‘जहाँसम्म मन्त्रिपरिषद् विस्तारको विषय छ, त्यसमा असार ४ गते नै विस्तार गरेर जाने सहमति हाम्रो बीचमा भएको थियो । पछि देउवाजीले पार्टी भित्रको तयारी नपुगेको, निर्वाचनले पनि धपक्कै छोपेकोले पछि गरौला भन्नु भएपछि ठिकै छ, चुनावपछि गरौं भन्ने भयो’, प्रचण्डले भन्नुभयो, ‘तर, अहिले निर्वाचन भएकै एक महिना बितिसकेको छ । मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।’
प्रचण्डले मन्त्रिपरिषद् विस्तारका बिषयमा देउवा नेतृत्वको सरकारको विकल्प खोज्ने आफ्नो पार्टी भित्र कुनै योजना नरहेको बताउनुभयो ।
माओवादी केन्द्रले आफनो तर्फबाट गिरिराजमणि पोखरेललाई स्वास्थ्य, आशा कोइरालालाई महिला, बालबालिका तथा समाजकल्याण, टेकबहादुर बस्नेतलाई कृषि विकास, महेन्द्रबहादुर शाहीलाई ऊर्जा, श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासन र शिवकुमार मण्डललाई आपूर्ति मन्त्रालयमा पठाउने तयारी गरेको छ।