सचिव मैनालीलाई गाडी, ल्यापटप र आइफोन फिर्ता गर्न आयोगले पत्र काट्यो
काठमाडौं : निर्वाचन आयोगले आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका सचिव गोपीनाथ मैनालीलाई गाडी, ल्यापटप र आइफोन फिर्ता गर्न ताकेता गर्दै पत्र काटेको छ ।
सामान्यता सरुवा भएपछि सचिवले एक सताभित्रमा सामान फिर्ता गर्नुपर्ने व्यवस्था छ । तर, सचिव मैनालीले महिनादिन बितिसक्दा समेत फिर्ता नगरेको भन्दै आयोगले पत्र काटेर सामान फिर्ता गर्न ताकेता गरेको हो ।
निर्वाचन आयुक्त ईश्वरी पौडेलले अन्नपूर्ण अनलाइनसँग भन्नुभयो, ‘सचिव मैनालीले दुई गाडी लगेकोमा प्राडो अझै बुझाउनु भएको छैन, आयोगको ल्यापटप र एप्पलको आइफोन समेत बुझाउनु भएको छैन ।’
आयुक्त पौडेलले आफू आदर्शका कुरा गर्दै हिड्ने सचिवले नै आफैँ सामान नबुझाएपछि पत्र काटिएको जानकारी दिनुभयो । सचिव मैनाली निर्वाचन आयोगबाट असार ८ गते प्रधानमन्त्री कार्यालयमा सरुवा हुनु भएको हो । सचिव मैनालीले आयुक्तहरुले महंगा गाडी खरिद गर्ने प्रस्ताव गर्दा अस्वीकार गरेपछि आफ्नो सरुवा भएको बताउदै आउनु भएको छ ।