राहदानी सेवाले आइएसओ प्रमाणपत्र पायो
काठमाडौं : अन्र्तराष्ट्रिय नागरिक उड्डन प्राधिकरण (आइकाओ) ले गुणस्तरीय सेवा प्रदान गरेकोमा परराष्ट्र मन्त्रालय अन्र्तगतको राहदानी विभागलाई अन्र्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र (आइएसओ) प्रदान गरेको छ।
विभागले राहदानी तयारी, प्रमाणीकरण, वितरण तथा यात्रा अनुमतिपत्र जारी गर्दा अन्तर्राष्ट्रिय मापदण्डा अनुरुप सेवा प्रवाह गरेकाले उक्त प्रमाणपत्र पाएको राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले बताए।
राहदानी विभाग अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र ‘आईएसओ ९००१-२०१५’ पाउने नेपालको पहिलो सरकारी निकाय बनेको छ। ‘यसबाट हामीलाई आगामी दिनमा सेवालाई अझै प्रभावकारी बनाउन उर्जा मिलेको छ’ महानिर्देशक खड्काले अन्नपूर्णसँग भने।
आइकाओले अन्र्तराष्ट्रिय गुणस्तर प्रदान गरेको प्रति उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सन्तुष्टि व्यक्त गरे। उनले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवाप्रवाह गर्ने राहदानी विभागले विकसित प्रविधिअनुसार अगाडि बढ्नुपर्ने धारणा राखे। विभागले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘विद्युतीय राहदानी जारी गर्ने सरकारको योजनालाई मूर्तरुप दिन सूचना प्रविधिको प्रचुर ज्ञान आवश्यक छ, धेरै चुनौती पार गर्दै अघि बढ्नुछ।’
मन्त्री महराले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय राहदानी विभाग बन्नु गौरवको विषय रहेको उल्लेख गरे।
कर्मचारीको लगनशीलता, कार्यकुशलता र गुणस्तरप्रतिको सचेतनाका कारण उपलब्धि हासिल भएको उनले बताए। परराष्ट्र सचिव शंकर बैरागीले पारदर्शिता, व्यावसायिकता र प्रभावकारिता वृद्धिको परिणामस्वरुप विभागले उक्त प्रमाणपत्र पाएको बताए।
‘यो उपलब्धि अन्य सरकारी नियकालाई पनि प्रेरणा स्रोत हो’, सचिव वैरागीले भने ‘सुधार निरन्तर हुने प्रक्रिया भएको बताउँदै उपलब्धीसँगै महत्वपूर्ण जिम्मेवारी थपिएको छ,’ नले भने। सन् २०१० देखि नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्न थालेको हो। विभागले जारी गर्ने राहदानी जिल्ला प्रशाशन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत् सेवाग्राहीलाई वितरण हुने गरेको छ। दश हजार रुपयाँ तिरेर द्रुत रुपमा राहदानी लिन केन्द्रीय राहदानी विभागमै आउनुपर्ने हुन्छ।
फ्रान्सेली कम्पनी ओबर्थरसंग सन् २०१० मा भएको सम्झौता अनुसार हालसम्म ५० लाख एमआरपी राहदानी जारी भइसकेको छ। ओबर्थरसँगको पाँच बर्षे सम्झौता गतबर्ष नवीकरण भएको थियो।
विभागले आगामी बर्षदेखि ई-पासपोर्ट जारी गर्ने तयारी गरेको छ। ई-पासपोर्ट एमआरपी भन्दा अत्याधुनिक खालको पासपोर्ट हो। यो पासपोर्टमा एमआरपीमा भन्दा अझ बढी ‘सेक्युरिटी फिचर’ हरु हुने भएकाले अझै बढी सुरक्षित र प्रभावकारी मानिन्छ। ई-पासपोर्ट जारी गर्न विभागले नयाँ टेन्डर प्रक्रिया आह्वान गर्नेछ।