चितवनको पर्यटन व्यवसाय चौपट

चितवनको पर्यटन व्यवसाय चौपट

भरतपुर : पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध बनेपछि चितवनको पर्यटन व्यवसाय धराशायी भएको छ । राजधानीबाट चितवन आउने प्रमुख मार्ग नै पहिरोका कारण निरन्तर अबरुद्ध भएपछि पर्यटक ह्वात्तै घटेको व्यवसायी बताउँछन् । पहिरोले जोखिम बढ्नुका साथै घन्टौंसम्म जाममा बस्नुपर्ने भएपछि चितवनमा पर्यटक आगमन घटेको छ ।

भूकम्प, भारतीय नाकाबन्दी र मधेस आन्दोलनले सुस्ताएको पर्यटन विस्तारै उकासिन थालेको थियो । सुस्ताएको पर्यटन तंग्रिन नपाउँदै पर्यटक आउने मुख्य मार्ग अबरुद्ध भएपछि यहाँको पर्यटन व्यवसाय पुनः धराशायी हुन लागेको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो ।

नारायणगढ-मुग्लिन सडक अनिश्चित बनेपछि पर्यटन व्यवसायी वैकल्पिक मार्गको खोजिमा लागेका छन् । चितवनमा सबैभन्दा बढी आन्तरिक पर्यटक घुम्न जान्छन् । चितवन जाने स्वदेशी र विदेशी पर्यटकको प्रमुख मार्ग नै यही हो । जहाजबाट चितवन घुम्न जाने पर्यटक धेरै कम हुने गर्छन् । जहाजमा पनि सहजै टिकट पाउन कठिन छ । संघको हालै मकवानपुरको दामनमा बसेको बैठकले वैकल्पिक बाटोका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

व्यवसायीले नारायणघाट-मुग्लिनको विकल्पका रूपमा नौविसे-हैटौंडा सडकलाई जोड दिने भएका छन् । संघले नौविसे-हेटौंडा सडकखण्डको निरीक्षण गरेको थियो । कुलेखानी -हेटौंडाको सडक मर्मत गरे चितनवन आवातजावत गर्न केही सहज व्यवसायीले बताएका छन् । यस्तै, अलपत्र अवस्थामा रहेको भण्डारा-मलेखु सडकलाई विकल्पका रूपमा अघि सारिएको छ । मलेखुसम्म बाटो खुलिसकेको भए पनि स्तरोन्नति गरिएको छैन । संघले बाटो सुधार गर्न ध्यानाकर्षण गराउने भएको छ ।

‘भूकम्पपछि विस्तारै उकासिन लागेको सडक अवरुद्ध भइदिँदा सुस्ताउँदै गएको छ', अध्यक्ष घिमिरेले भन्नुभयो, ‘सडककै कारण पर्यटन नखस्कियोस् भन्ने हो ।' आर्थिक वर्ष २०७३/७४ मा एक लाख ३९ हजार एक सय २५ पर्यटकले चितवन निकुञ्ज घुमेका छन् । तीमध्य विदेशी पर्यटक ८७ हजार एक सय ९० थिए । सार्क राष्ट्रका १५ हजार आठ सय ७९ जना थिए । ३६ हजार ५६ स्वदेशी पर्यटकले चितवन निकुञ्ज घुमे । अघिल्लो वर्षको तुलनामा बढी भए पनि सन्तोषजनक नभएको व्यवसायीको भनाइ छ ।

पहिरोले जोखिम बढ्नुका साथै घन्टौंसम्म जाममा बस्नुपर्ने भएपछि चितवनमा पर्यटक आगमन घटेको छ ।

आर्थिक वर्ष २०७१/७२ मा चितवन निकुञ्ज घुम्ने पर्यटकको संख्या एक लाख ७८ हजार दुई सय ५७ पुगेको थियो । तर, २०७२ वैशाखमा गएको भूकम्प, लगत्तैको भारतीय नाकाबन्दी र इन्धन संकटले चितवनको पर्यटन नराम्ररी खस्किएको थियो । त्यसपछि चितवन निकुञ्ज घुम्ने पर्यटकको संख्या ८७ हजार तीन सय ९१ मा खुम्चिएको थियो ।

‘सिजन नभए पनि यो बेलामा आउने पर्यटकले हाम्रो भार थेग्थ्यो', संघका सचिव दामोदर रेग्मीले भन्नुभयो, ‘पर्यटन नै धराशायी बनेको कारणप्रति सबैको बेवास्ता छ ।' सडकको दुरावस्थाकै कारण पर्यटकले चितवनको बुकिङ धमाधम रद्द गरिरहेका छन् । वैकल्पिक मार्ग नहुँदा चितवन आउने पर्यटक अन्यत्रै घुम्न जान थालेका छन् ।

‘वैकल्पिक बाटो साँघुरो भएकाले स्तरोन्नति गरेमात्र साना गाडी ल्याउन सकिन्छ', संघका द्धितीय उपाध्यक्ष भेषराज दुवाडीले भन्नुभयो, ‘हामीलाई जति घाटा भएको छ, त्योभन्दा बढी राष्ट्रलाई भएको छ ।' नारायणघाट- मुग्लिन सडक समयमै बन्नेमा व्यवसायीले आशंका व्यक्त गर्दै विकल्पको खोजिका लागि लबिङ सुरु गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.