६७ सम्पदाको पुनर्निर्माण

६७ सम्पदाको पुनर्निर्माण

 

काठमाडौं : विश्व सम्पदा सूचीमा सूचीकृत स्थलका २२ सहित ६७ सम्पदाको मर्मत तथा पुनर्निर्माण कार्य सम्पन्न भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र दातृ निकायले गत आर्थिक वर्षमा क्रमशः ४१ अर्ब र ४१ अर्ब खर्च नगरेको र आधा दर्जन भन्दाबढी मन्त्रालयले अख्तियारी पाएको बजेटको आधा पनि खर्च नगरिरहेको सन्दर्भमा पुरातत्व विभागले भने हालसम्म ६७ सम्पदाको संरक्षण, मर्मत र पुनर्निर्माणको काम गरेको हो ।

विश्व सम्पदामा सूचीकृतमध्ये हनुमानढोका परिसरमा रहेका भिमसेन मन्दिर अगाडिको मूर्ति, योगनरेन्द्र मल्लको शालिक, पञ्चमुखी हनुमान र मोहनकली चोकको पश्चिमी मोहडा, महादेव मन्दिर (तलेजु पश्चिमी) र सिलायन सत्तल, कालभैरव तर्फको लक्ष्मीनारायण मन्दिर र नगरा र देगुतलेजुको पुनर्निर्माण काम सकिएको हो ।

पाटन क्षेत्रको स्वठ गणेश, पटुको गणेश र सुन्दरी चोक, भक्तपुरको खौमा गेट, रामेश्वर, द्धिमाजु, यन्त्रबत्सला र नारायण मन्दिर, चाँगुस्थित किलेश्वर महादेव र चाँगुनारायण मन्दिरका बहुमुल्य सामग्रीहरु संरक्षण गर्न टहरा बनाउने काम पनि सम्पन्न भएका छन् । स्वयम्भूस्थित मञ्जु श्री सत्तल, टासी गोमाङ सत्तल, वसुबन्धु चैत्य र पुरानो स्वयम्भू चैत्य (मञ्जु श्री डाँडो) र बौद्धस्थित बौद्धनाथ क्षेत्रको पुनर्निर्माण सम्पन्न भएको हो ।

विभागका अनुसार, नेपाल सरकारबाट गरिएका २५ सम्पदाको काम पनि सकिएको छ । जसमा नागार्जुन नगरपालिकामा पर्ने आकाशभैरव द्योछें, त्रिपुरेश्वर महादेव मन्दिरको चारकुनाको मन्दिर सत्तल, नागार्जुन जमाचोस्थित सत्तल, कीर्तिपुरस्थित लोंहदेग मन्दिर, इचंगुनारायणस्थित शरण भद्रेश्वर महादेव मन्दिर, खोकनास्थित रुद्रायणी मन्दिर, बुङमतिस्थित प्रथमपुर महाविहार, गोदावरीस्थित धुनीघर र चापागाउँस्थित बज्रवाराही मन्दिरको संरक्षण गर्ने काम सम्पन्न भएको हो ।

यसैगरी संरक्षण गरिएकामा काभ्रे गैरविसैना देवपुरस्थित देवल भद्रेश्वर महादेव मन्दिर, काभ्रेकै दाप्चा काशीखण्डस्थित भीमसेन मन्दिर परिसरको ठुलो सत्तल, दोलखाका लापिलाङस्थित कालिका मन्दिरको छाना र मागादेउरालीस्थित काली भगवती मन्दिर, दोलखाको देउलांगेश्वर छेउको कमलामाई मन्दिर, दोलखाकै गुम्बेसीको कालिका मन्दिर, ओखलढुंगाको नर्मदेश्वर महादेव मन्दिर, रामेछापको गणेश मन्दिर, गोकर्ण उत्तरगयास्थित पञ्चमुखी हनुमानसँगैको सत्तल र आनी घर छन् । गोकेर्णेश्वरस्थित सरस्वती तथा भिमसेन मन्दिर, गणेशथाना गाविसको गणेश मन्दिर, दोलखाको महाकालेश्वर मन्दिर, गोरखा दरबार परिसरको गोरखनाथ मन्दिर र रोट पाटीको भने पुनर्निर्माण गरिएको छ ।

आपतकालीन २० सम्पन्न

विभागले आपतकालीन तर्फका २० सम्पदाको काम पनि सम्पन्न गरेको जनाएको छ । जसअनुरुप प्रतापपुर भत्काउने कार्य, गोरखा संग्रहालयको माथिल्लो तला मर्मत, साँखुस्थित न्ह्याक सत्तल टहरा निर्माण, हनुमानढोकास्थित तानादेवी मन्दिर निर्माण, वत्सला देवीकोट घर निर्माण, फर्पिङस्थित भीमसेन पाटी संरक्षण, चाँगुनारायणमा अस्थायी टहरा निर्माण, किराञ्चोक रणकालिका मन्दिर निर्माण, शंखमूलस्थित शिव मन्दिर निर्माण र विभागको प्रांगणमा टहरा निर्माण कार्य सम्पन्न भएका छन् ।
यसैगरी, गोरखा दरबारको आवास कोठा र शौचालय मर्मत, हनुमानढोकाको दाख चोक संरक्षण, बुढानिलकण्ठको गुरुयोजना निर्माण, गोकर्णस्थित गणेश मन्दिर सत्तल संरक्षण, गोरखा दरबारको माटो परीक्षण, गोरखा दरबार र परिसरमा वर्षात्को पानीबाट जोगाउनका लागि संरक्षण, गोरखा दरबार परिसरमा रहेको प्रहरी निवास, रोट पाटी र टुटेश्वर महादेव मन्दिरको भूइँ तथा परिसर र इचंगुनारायणको सत्तल (भजन पाटी) संरक्षणका काम भएका हुन् ।विभागको प्रतिवेदनअनुसार, काठमाडौंमा २ सय ५०, ललितपुरमा १ सय ३० र भक्तपुरमा करिब ८० सम्पदा क्षति भएका थिए।

विभागका महानिर्देशक भेषनारायण दाहालले हालसम्म पूँजीगततर्फ ४२ करोड ८२ लाख ३० हजार दुई सय ८४ र चालुतर्र्फ ३ करोड ५२ लाख १४ हजार एक सय ४४ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सरकारबाट २५ वटा, विश्व सम्पदाका २२ र आपतकालीनतर्फ २० वटा सम्पदाका काम सकिएका छन् भने अन्य अन्तिम चरणमा रहेका छन् जुन बहुवर्षीय छन् तिनको लक्ष्यअनुसार काम भइरहेको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.