एक वर्षदेखि गाउँमाथिबाट खोलो, गाउँले चउरमा
मिक्लाजुङ : मोरङको मिक्लाजुङ गाउँपालिका ६ बेतेनीका गोपाल हुमागार्इंको नाममा भएको जग्गामाथिबाट अहिले नुनसरी-बक्राहा खोलो बगिरहेको छ ।खोलामा गत वर्षको असार ६ गते राति आएको बाढीले हुमागार्इं परिवारको बिल्लीबाठ बनाउँदै नम्बरी जमिनलाई बाटो बनाएर खोलो बगिरहेको छ । घर र सबै जग्गा जमिन बगाएर खोलाले सुकुमबासी बनाइदिएपछि चारजनाको परिवार मिक्लुङ सामुदायिक वनको खुला चउरमा टहरामुनि बसिरहेको छ । ‘भएको सबै जग्गा जमिन बगाएर खोलो अहिले त्यहीँबाट बगिरहेको छ’, उनले भने, ‘हामी भने सुकुमबासी भएर चउरमा समय बिताइरहेका छौं ।’
खोलाले बासस्थान उडाइदिएपछि परिवारको कन्तबिजोग भएको गुनासो हुमागाईंको छ । ‘अन्न उब्जिने सबै जग्गा बग्यो । जग्गासहित घर पनि बाढीले लग्यो’, उनले भने, ‘जंगलनजिककै खाली चउरमा बसिरहेका छौं । एक वर्षदेखि राम्ररी खान पनि पाएका छैनौं ।’ उनले उपयुक्त बासस्थान अभावमा एक वर्षदेखि भोकभोकै संघर्ष गर्नुपरिरहेको बताए । ‘उत्पादन हुने जमिन बगाएका कारण अन्न फलाउन सकिएको छैन’, उने भने, ‘किनेर खान सक्ने अवस्था नभएपछि भोकभोकै बस्नु परिरहेको छ ।’
ज्याला मजदुरी र बनिबुतो गरेर भएको कमाइले अहिलेसम्म सास अल्झाउन सकेको बताउँदै हुमागार्इंले बाढीका कारण विस्थापित भएका सबैको कन्तबिजोग अवस्थामा रहेको जानकारी दिए । हुमागार्इं परिवारले एक वर्षदेखि राम्ररी खान र सुत्न पनि पाएको छैन । ‘बासस्थानको व्यवस्था राज्यले गरिदिएको भए हामी मजदुरी गरेर पनि खाने थियौं । अहिलेसम्म हाम्रो पीडामा राज्यले वास्ता गरिरहेको छैन’, उनले भने, ‘विभिन्न संघसंस्थाले अस्थायी रूपमा बनाइदिएका टहरा पनि मक्किएर भत्किने अवस्थामा पुगेका छन् । टहरा पनि भत्किएपछि कहाँ गएर बस्नुपर्ने हो टुंगो छैन ।’
बाढीका कारण पीडित हुनेहरू गरिब भएकै कारण राज्यले वास्ता नगरेको गुनासो उहाँको छ ।
बाढीले घर र सबै जमिन बगाएर हाम्रो परिवारलाई चउरमा पुर्यायो । अहिलेसम्म जमिनमाथिबाट खोलो बगिरहेको छ । खोलो बगिरहेका कारण त्यहाँ गएर बस्न सक्ने अवस्था छैन । सरकारले पनि उचित बासस्थानको व्यवस्था गरिदिएको छैन । -अगम दाहाल, पीडित मिक्लाजुङ ६ मोरङ
‘आर्थिक अवस्था अत्यन्तै कमजोर भएका हामीमाथि बाढीले पनि थप पीडा दियो । सम्बन्धित निकायसँग आफ्ना कुरा राख्न पनि हामी सक्दैनौं’, हुमागाईंले भने, ‘त्यही भएर एक वर्षदेखि कष्टकर जीवन बिताउन बाध्य छौं । रात पर्दा उज्यालो र तिर्खा लाग्दा खानेपानी पनि सजिलै पाएका छैनौं।’
मिक्लाजुङ ६ कै अगम दाहालको परिवार पनि मिक्लुङ सामुदायिक वनकै चउरमा बनाइएको टहरोमा वर्षदेखि रातदिन काटिरहेको छ । भएको जग्गा जमिन र घर बाढीले लगेपछि एक वर्षदेखि दाहाल परिवार विस्थापित अवस्थामा छ । ‘बाढीले घर र सबै जमिन बगाएर हाम्रो परिवारलाई चउरमा पुर्यायो । अहिलेसम्म हाम्रो जमिनमाथिबाट खोलो बगिरहेको छ’, उनले भने, ‘खोलो बगिरहेका कारण त्यहाँ गएर बस्न सक्ने अवस्था छैन । सरकारले पनि उचित बासस्थानको व्यवस्था गरिदिएको छैन ।’
तटबन्ध निर्माण गरेर खोलोलाई पुरानै धारमा फर्काउने काम नभएका कारण विस्थापित भएर अस्थायी रूपमा बसोबास गरिरहेको ठाउँमा दुःख र कष्ट झेलेर समय काट्नु परिरहेको दाहालको गुनासो छ । उनले भने, ‘खोलो बगेको ठाउँमा गएर बस्ने कुरा पनि भएन ।’ सरकारले कुनै राहत नदिएको बताउँदै उहाँले केही संघसंस्थाको पहलमा अस्थायी रूपमा बस्न बनाइएको टहरो पनि मक्किएर भत्कन लागेको जानकारी दिनुभयो ।
‘जनताले कष्ट भोगे पनि सरकार रमिते बनेर बसिरहेको छ । हाम्रा पीडा र दर्द हामीसँगै छन्’, दाहालले भने, ‘अब त राज्यको सहयोग पाउने आस पनि मरिसक्यो ।’ उनले टहरोको बास भएकाले सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा पीडित हुने गरेको बताए । ‘समयमा खाने कुरा र पिउने पानी पनि भेटिँदैन’, उनले भने, ‘बिरामी पर्दा उपचार पनि पाएका छैनौं ।’ भोकभोकै रोग पालेर कष्टकर जीवन बिताइरहँदासमेत कुनै निकायबाट सहयोग नपाउँदा दुःख लागिरहेको गुनासो दाहालको छ ।
हुमागार्इं र दाहाल परिवारमात्रै होइन गत वर्षको असार ६ गते राति नुनसरी-बक्राहा खोलामा आएको बाढीले घर र जमिन बगाउँदा मिक्लाजुङ ६ एवं साविकको मधुमल्ला गाविस ५ बेतेनीका २९ परिवार विस्थापित भएका थिए । न्यानो अभियान र मधुमल्लाका स्थानीय बासिन्दाको सहयोगमा विस्थापितलाई अस्थायी टहरा बनाएर सामुदायिक वनको चउरमा तत्कालका लागि बासस्थानको व्यवस्था गरिए पनि उनीहरूलाई स्थिायी बसोबासको व्यवस्था गर्दै पुनस्र्थापना भने गरिएको छैन । बाँसको भाटा र टिन (कर्कट पाता) को छानो लगाएर टहरा निर्माण गरिएको छ ।
टहरा निर्माणमा प्रयोग गरिएका बाँस मक्किएका छन् । ठूलो हावाहुरी आउँदा उडाउने खतरा छ । वर्षा भएको बेला चुहिने समस्या छ । ‘हावाले छानो उडाउन खोज्नुका साथै वर्षा हुँदा पानी चुहिने समस्या त छँदैछ’, मिक्लाजुङ ६ का नवनिर्वाचित वडा अध्यक्ष बुद्धिलाल निरौलाले भने, ‘अहिलेसम्म विस्थापितलाई पुनस्र्थापना गर्न कुनै पनि पहलसमेत भएको छैन ।’ सरकारी निकायको बेवास्ताको सिकार विस्थापितहरू हुनु परिरहेको बताउँदै उनले स्थानीयस्तरबाट बाँध बाँधेर खोलो फर्काउने प्रयास गरिए पनि सफल नभइरहेको जानकारी दिए । ‘खोलो पुरानै धारमा फर्काउन सके विस्थापितलाई उनीहरूकै जग्गा भएको ठाउँमा ल्याएर राख्न सकिने थियो’, निरौलाले भने, ‘उनीहरूको सहयोगका लागि सरकारलाई दबाब दिने काम पनि गरिरहेका छौं।’