कांग्रेस केन्द्रीय बैठक: अन्तर्घातीमाथि कारबाही माग
काठमाडौं : कांग्रेस केन्द्रीय सदस्यले महाधिवेशनको दुई महिनाभित्र गठन हुनुपर्ने पार्टीका विभागहरूले अझै पूर्णता पाउन नसकेको भन्दै सभापति शेरबहादुर देउवासँग आक्रोश पोखेका छन् ।
केन्द्रीय कार्यसमितिको जारी बैठकमा आइतबार नेताहरूले संसदीय समिति र अनुशासन समिति गठन हुनै नसकेको तथा ६ वटा समिति र ४२ वटा विभागले पूर्णता पाउन नसकेको भन्दै सभापतिलाई विधान कार्यान्वयन गर्न आग्रह गरेका हुन् । विधानअनुरूप ०७२ साल फागुनमा सम्पन्न महाधिवेशनको दुई महिनाभित्र ती विभाग गठन भइसक्नुपर्थ्यो । आइतबारको बैठकमा बोल्ने अधिकांश सदस्यले अनुशासन समिति गठन गरी पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तर्घात गर्नेहरूमाथि कारबाहीको माग गरे ।
अनुशासन समिति नेतृत्वलाई नै कारबाही गर्नसक्ने हैसियतको हुनुपर्ने उनीहरूको माग थियो । दोस्रो संविधानसभा निर्वाचनमा सुजाता कोइरालामाथि लागेको अनुशासनको कारबाही फुकुवा गरेको प्रसंग झिक्दै केही सदस्यले गाउँका क्रियाशील सदस्यमाथि मात्र अनुशासनको कारबाही नहोस् भन्ने माग गरेका थिए ।
केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले तत्काल केन्द्रदेखि गाउँ इकाइसम्म विधान कार्यान्वयन हुनुपर्ने, विधानअनुसार नेतृत्व चयन हुनुपर्ने माग गरे । ‘हिजो साथीका लागि सेना र पुलिसको गोली खाने कांग्रेसजन आज साथीलाई निर्वाचनमा पराजय गराउन घात र अन्तर्घातको रणनीतिमा किन गए ? ', नेता जोशीले प्रश्न गर्दै भने, ‘यसमा नेतृत्वलाई गम्भीर हुन आग्रह गर्छु ।' उनले गाउँदेखि संसद्सम्मको टिकट वितरणमा ‘मेरो–तेरो गुटको' भन्ने कुरा अन्त्य हुनुपर्ने धारणा व्यक्त गरे।
‘मानहानिको मुद्दामा किन मौन ? '
केन्द्रीय सदस्य रमेश लेखकले प्रहरी महानिरीक्षक नियुक्ति र सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउने निर्णय सही भएको बताए । उनले भने, ‘पार्टी नेतृत्वले महाभियोग प्रस्ताव संसद्मा नल्याएको भए राजनीतिले निकास नपाउने मात्र होइन, स्थानीय तह निर्वाचन र संविधान कार्यान्वयन हुँदैनथ्यो', नेता लेखकले भने । बैठकमा केही सदस्यले निर्वाचनमा पराजयको प्रमुख कारणका रूपमा प्रहरी प्रमुखको विवादास्पद नियुक्ति र महाभियोग हो भनेर राखेको धारणा गलत भएको उनले बताए ।
पार्टी सभापतिविरुद्ध नै मानहानिको मुद्दा उठाएर कांग्रेसमाथि आक्रमण गरेपछि संविधान र पार्टीले अंगीकार गरेको शक्ति पृथकीकरणको सिद्धान्त कायम गराउन पनि महाभियोग प्रस्ताव दर्ता गरेको उनको भनाइ थियो । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाविरुद्ध अख्तियार र सर्वोच्चले बयानका लागि पत्र काटेको अवस्थाको स्मरण गर्न पनि उनले आग्रह गरेका थिए । ‘त्यतिबेला सभापति कोइरालाले अख्तियारमा बयानका लागि जान्न भन्ने अडान लिएकोमा समर्थन गर्नेहरू अहिले सभापतिविरुद्ध मानहानिको मुद्दामा किन मौन ? ', उनले भने, ‘सभापतिविरुद्ध मानहानिको मुद्दा कुनै व्यक्तिविरुद्ध नभएर निर्वाचनलाई प्रभावित पार्ने मनसायका साथ सिंगो पार्टीविरुद्धको षड्यन्त्र हो ।'
केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेतृत्वलाई संकट पर्दा मात्र युवा पुस्ता देख्ने कि राजनीतिक हस्तान्तरण प्रक्रियामा पनि देख्ने भन्दै असन्तुष्टि जनाएका थिए । उनले युवा पुस्ता चाहेको हो भने सहजतासाथ स्थान छाड्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरे । भने, ‘म त ७२ वर्षको भएँ । मेरो शरीर अहिले पनि युवाको जस्तै छ, आगामी निर्वाचन पनि जित्न सक्छु । तपाईंहरूले युवालाई स्थान दिनुभए म त्यो बाटो हिँड्न तयार छु ।' बैठक आज (सोमबार) पनि बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।