रसियाबारे ट्रम्पको अधिकार कटौती गर्दै कंग्रेस
वासिङटन : अमेरिकाको संसदले रसियाबारे राष्ट्रपति डोनल्ड ट्रम्पको अधिकार कटौती गर्ने तयारी गरेको छ । कंग्रेसमा सत्तारुढ रिपब्लिकन र विपक्षी डेमोक्रेटिक दलका सांसदले रसियामाथिको प्रतिबन्ध हटाउन सक्ने राष्ट्रपति ट्रम्पको अधिकार सीमित पार्ने एउटा विधेयकमा सहमति गरेका हुन् ।कंग्रेसले रसियालाई दण्डित गर्न ऊविरुद्ध नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
रसियाविरुद्ध अमेरिकाको राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप छ । नयाँ कानुनअन्तर्गत राष्ट्रपति ट्रम्पका ती अधिकार पनि सीमित गरिनेछ, जसको प्रयोग गरी ट्रम्पले रसियामाथि लगाइएका कुनै पनि प्रतिबन्ध फिर्ता लिन सक्छन् । उनले भने आफूलाई रसियाका मामिलामा संसदबाट केही राजनीतिक छुट आवश्यक परेको बताएका थिए ।
राष्ट्रपति ट्रम्पले चुनावमा कुनै पनि किसिमको रसियाली हस्तक्षेपको खण्डन गर्दै आएका छन् । रसियाले पनि हस्तक्षेपको आरोपको खण्डन गर्दै आएको छ । अमेरिकी गुप्तचर एजेन्सीहरूले ट्रम्पले कुनै पनि रसियाली अधिकारीसँग चुनावका बेला साँठगाँठ गरे÷नगरेको छानबिन गरिरहेका छन् ।
कंग्रेसमा दुई दलबीच भएको सहमतिले राष्ट्रपति ट्रम्पको रसियाप्रतिको दृष्टिकोण जस्तो भए पनि अमेरिकी संसद रुसबारे निकै कडा भएको संकेत गरेको छ । राष्ट्रपति ट्रम्पले अधिकार सीमित गर्ने विधेयकविरुद्ध भिटो प्रयोग गर्न सक्छन् । तर उनले भिटो प्रयोग गरे रसियासँग उनको साँठगाँठ रहेको आशंका अझ बलियो हुन्छ ।
अमेरिकी सांसद बेन कार्डिन भन्छन्, ‘अमेरिका रसियालाई स्पष्ट सन्देश दिन चाहन्छ र यसमा राष्ट्रपति ट्रम्पको सहयोग आवश्यक छ ।’ उनी वरिष्ठ डेमोक्रेटिक सांसद हुन् । उनी परराष्ट्र सम्बन्ध समितिमा आबद्ध छन् । संसदले तत्काल कारबाही गर्ने र यसका लागि कडा कानुन चाहिएको थियो भन्छन् अर्का सांसद चक सुमर । नयाँ कानुनअन्तर्गत इरान र उत्तर कोरियामाथि पनि प्रतिबन्ध लगाउन सकिनेछ । सिनेटबाट अनुमोदन भइसकेको विधेयक प्रतिनिधि सभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स)मा मतदान हुनेछ ।
राष्ट्रपति चुनावमा रसियाली हस्तक्षेपको आरोपपछि तत्कालीन राष्ट्रपति बाराक ओबामाले ३५ जना रसियाली कूटनीतिज्ञलाई निस्कासित गरेका थिए । यसबाहेक उनले अमेरिकामा रहेका दुई रसियाली भवन पनि जफत गरेका थिए । अहिले रसियाले जफत गरिएका ती दुवै भवन फिर्ता मागिरहेको छ । गत साता रसियाली अधिकारीहरूले भवनसम्बन्धी मामिला सल्टिन लागेको बताएका थिए ।