बोलबम तीर्थ यात्री सवार टयाक्टर दुर्घटना हुदा दुईको मृत्यु
वीरगन्ज : भारतीय तीर्थयात्री बोकेर पर्साको धार्मिक एंव पर्यटकीय स्थल दुग्धेश्वर महादेवको मन्दिरमा लागेको साउने भाथा मेलामा जान लागेको टयाक्टर आइतबार मध्यरातमा दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।सात जना घाइते भएका छन् ।
भारत रक्सौलका बोलबम तीर्थयात्री बोकेर भाथा मेलामा जादै गरेको ना ५ त ३६३० नम्बरको ट्याक्टर पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ बलुवा र देउरवानाबीचको सडकमा आइतबार राति १२ बजे दुर्घटनामा पर्दा रक्सौलको पन्टोकाका ५० वर्षीय महेन्द्र पसवान र नौ वर्षीया पुजा कुमारीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका दुवै जनाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा वीरगन्जको सिमावर्ती रक्सौल पन्टोकाका शोभा देवी राम, राधिका देवी पासवान, सन्तोष राम, बिटु कुमार साह, सुमिन्त्रा राम र ट्याक्टर चालक बुनिलाल राम समेत घाइते भएका हुनुभएको छ । शोभा देवी बाहेकका अन्य घाइते नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारपछि घर फर्किएका छन् । शोभा देवीको भने खुट्टा भाँचिएकाले उहाँको उपचार भइरहेको छ ।
पर्साको दुग्धेश्वर माहदेव मन्दिरमा लागेको साउने मेलामा चढाउन जादै गरेका भारतीय बोलबम तीर्थयात्रीहरु सवार ट्याक्टर मध्यरातमा सखुवाप्रसौनी गाउँपालिका वडा नंबर ५ बलुवा र देवारवानाको बीचमा पर्ने सडकबाट १० मिटर तल खेतमा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक महेश बस्नेतले बताउनुभयो ।
घाइतेलाई प्रहरीचौकी रंगपुर टाँडी, इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, प्रहरी चौकी महुवन र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प बागेश्वरी तित्रौनाका सुरक्षाकर्मीको टोलीले उद्दार गरेको थियो । ट्याक्टरमा २५ जना बोलबम तीर्थयात्री सवार थिए ।चालक बुनिलाल रामले अत्याधिक मादक पदार्थ सेवन गरी ट्याक्टर चलाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।