प्रहरीसँग ‘सेटिङ' मिलाउन तस्करको दौडधुप
विराटनगर : विराटनगरको रानीस्थित सीमा प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक (सई) दीपक यादव आफ्नै कार्यालयमा बसिरहनुभएको थियो । भेटघाट गर्नुछ भनेर छिरेकी विराटनगरकी सवनम मियाँले सई यादवसंग गफगाफ सुरु सुरु गर्नुभयो । लामो समयदेखि भारतबाट नेपालतर्फ कपडा तस्करीमा संलग्न रहेकी ती महिलाले भनिन्,‘ सर तपाई यहाँको प्रमुख भएर आउनु भएको रहेछ । हामी पनि सहयोग गर्छौ र तपाईले पनि हामीलाई सहयोग गर्नुपर्छ ।'
यादवले आफूले सहयोगको आशय नबुझेको भन्दै प्रष्ट कुरा राख्नका लागि ती महिलालाई भन्नुभयो । महिलाले एउटा प्रस्ताव ल्याउँदै भनिन्, ‘म पारिबाट (भारत) कपडाको काम गर्छु । तपाईले पनि सहयोग गर्नु पर्यो ।' सहयोग गरे बापत मियाँले सई यादवलाई महिनै पिच्छे ठूलै रकम दिने प्रस्ताव गरिन् ।
त्यसपछि मात्रै ती महिला कपडा तस्करीमा संलग्न भएको यादवले थाहा पाउनुभयो । ‘तपाई यहाँबाट तुरुन्त निस्कनु हुन्छ की महिला प्रहरी लगाएर निकाल्नु पर्ने हो ?' उहाँले कड्किंदै भन्नुभयो,‘प्रहरीलाई पैसाको प्रलोभन देखाएर गलत धन्दा गर्ने सोंच बनाएको भए तपाईंलाई नै कारवाही गर्छु ।' प्रहरीले दुई नम्बरी धन्दा रोक्न सम्झौता नगर्ने बुझेपछि ती महिला लुसुक्क त्यहाँबाट बाहिरिन् ।
सीमा प्रहरी चौकीका प्रमुख सई फिरोज चौधरी तालिममा गएपछि जिप्रका मोरङले यादवलाई एक साताअघि त्यहाँ खटाएको हो । एक वर्षअघि सई चौधरीले पनि ती महिलालाई झपारेर पठाएका थिए । उनले चौधरीलाई पनि पैसाको लोभ देखाएकी थिइन् । भारतबाट कपडाको तस्करी गर्ने ती महिलाले खटाएका भरिया पटकपटक पक्राउ परिसकेका छन् । मियाँको प्रहरीसंग ‘सेटिङ' मिलाएर तस्करी चलाउने योजना भएपनि आफूले अस्वीकार गरेको सई यादवले बताउनुभयो ।
‘प्रहरीको नयाँ प्रमुख आएको थाहा पाएपछि दुई नम्बरी धन्दा चलाउनेहरु लाइन मिलाउने आश गरेर आउँदा रहेछन्,' यादवले भन्नुुभयो,‘ यस्ता धन्दालाई निरुत्साहित गर्न प्रहरीले नेपाल-भारत सीमा क्षेत्रमा विशेष अप्रेशन नै चलाएको छ ।' प्रतिबन्धित बाहेक भारतबाट भन्सार तिरेर ल्याइने कुनै पनि सामानमा प्रहरीले अवरोध नगर्ने बताउँदै उहाँले भन्सार छलेर गरिने तस्करी नियन्त्रणमा भने कुनै पनि सम्झौता नहुने स्पष्ट पार्नुभयो ।
सई यादवले कार्यालयमा तस्करलाई प्रवेश निषेध नै गर्नुभएको छ । ‘राम्रा काम गर्नेलाई मात्रै यो कार्यालयमा प्रवेश छ । कुनै पनि गलत धन्दा गर्ने र तस्करी चलाउनेहरुका लागि प्रहरी कार्यालय हैन भन्ने कुरा स्पष्ट हुनु पर्छ,' उहाँले भन्नुभयो ‘समस्या र अप्ठेरोमा परेर कोही आएमा प्रहरीबाट सहयोग हुन्छ । तर तस्करी चलाउन सहयोग गर्नु पर्यो भन्दै आउनेलाई भने बाहिरैबाट पठाउने र त्यस्ता कुरामा बल गर्नेलाई कारवाही गर्ने गरिएको छ।'
दुई नम्बरी काम गर्ने र तस्करीको धन्दा चलाउनेहरुलाई प्रहरी कार्यालयमा प्रवेश दिएमा त्यसले जनतामा नराम्रो सन्देश जाने र प्रहरी काम कारवाही प्रति नै शंका उत्पन्न गर्ने उहाँको बुझाई छ । ‘नेपाल-भारत सीमा क्षेत्रबाट हुने तस्करीले राज्यको राजश्व गुम्छ । त्यस्ता काममा प्रहरीले सहयोग गर्नै सक्दैन,' यादवले भन्नुभयो, ‘भन्सार तिरेर सामान आयात गर्दा कुनै पनि समस्या छैन । राज्यको आम्दानी गुम्ने हिसाबमा प्रहरीले गतिविधी गर्ने र दुई नम्बरी धन्दा संचालन गर्नेसंग साँठगाँठ गर्नै हुँदैन ।'
रानीस्थित सीमा प्रहरी चौकी मात्रै हैन मोरङका नेपाल-भारत सीमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटका प्रमुख परिवर्तन हुने बित्तिकै दुई नम्बरी धन्दा सञ्चालन गर्ने र तस्करीको लाइन चलाउन खोज्नेहरु पैसाको प्रलोभन देखाउँदै प्रहरी कार्यालय सम्म पुग्ने गरेको पाइएको छ । नयाँ प्रमुख परिवर्तन हुने बित्तिकै प्रहरीसँग ‘सेटिङ' मिलाउन तस्करी चलाउनेहरुको दौडधुप हुने गरेको पुष्टि भएको छ ।
उनीहरु प्रहरी कार्यालयमा आँफै उपस्थित भएर वा अरु व्यक्तिहरु पठाएर प्रहरीसंग ‘सेटिङ' मिलाउने प्रयास गर्छन । सीमा क्षेत्रमा कार्यरत एक प्रहरीले भने, ‘नयाँ प्रमुख आउने बित्तिकै तस्करीमा सहयोग गर्नु पर्छ भनेर धेरै आउने गरेका छन् । उनीहरुसंग ‘सेटिङ' मिलाउने नमिलाउने भन्ने कुरा हाकिममा भर पर्छ।'
भारतबाट नेपालतर्फ खाद्यान्न, मसला, चिनी लगायतका दैनिक उपभोग्य वस्तु, कपडा, माछा, मोटर पार्टस्, कम्प्युटरका पार्टस्, औद्योगिक कच्चा पदार्थ तस्करी हुने गरेको छ । नेपालबाट भारततर्फ सुपारी, चौपाय लगायत तस्करी हुने गरेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले सीमा क्षेत्रबाट हुने दुई नम्बरी धन्दा नियन्त्रणमा प्रहरीको विशेष टोली नै परिचालन गरिएको बताउनुभयो । ‘गलत धन्दा र तस्करी नियन्त्रण गर्नका लागि सक्रिय हुनु पर्ने प्रहरीले तस्करसंगै मिलेर काम गरेको पाइएमा तत्काल कारवाही हुन्छ,' उहाँले भन्नुभयो,‘सीमा क्षेत्रबाट हुने दुई नम्बरी धन्दा नियन्त्रण गर्न मातहत सबै प्रहरी युनिटलाई निर्देशन दिइसकिएको छ ।'
उहाँका अनुसार त्यस बाहेक सीमा क्षेत्रमा परिचालित प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण एवं अनुसन्धानलाई विशेष प्राथमिकता दिनु पर्छ ।