सेनेटरी प्याड आँफै बनाएर प्रयोग गर्दै ग्रामीण महिला
बैतडी: जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ३ श्रीकोटकी लक्ष्मी भाट आजभोली महिनावारी भएको सेनेटरी प्याड प्रयोग गर्न थालेकी छिन्।
सेनेटरी प्याडले महिनावारी भएको बेला सरसफाईमा रहन सहयोग गर्ने कुरा थाहा पाएपछि उनी सेनेटरी प्याड प्रयोग गर्न थालेकी हुन्। उनले भनिन् ‘पहिला पहिला महिनावारी भएको बेला चारदिन सम्म ननुहाउने चलन थियो। प्याडको त कुरै नगर्नुस हामीलाई केही पनि थाहा थिएन।
हामीलाई सामुदायिक सिकाइ केन्द्र श्रीकोट सेनेटरी प्याड बनाउने तालिम दियो। त्यसपछि हामी गाउँघरका महिला आँफै घरमा बनाएर प्याड प्रयोग गर्न थालेका हौं।'दोगडाकेदार गाउँपालिकाकै ३५ बर्षीया ईश्वरी भाट पनि आजभोली महिनावारी भएको बेला सेनेटरी प्याड प्रयोग गर्न थालेकी छिन्।
'हाम्रो बजार सम्म त्यति पहुँच थिएन् । सेनेटरी प्याडको बारेमा हामीलाई थाहा पनि थिएन । अहिले हामी आँफै बनाएर प्रयोग गर्छौं । यसले हामीलाई सजिलो भएको छन्।'उनले भनिन् ‘महिनावारी भएको बेलामा अरुको नजिक जान समेत समस्या हुन्थ्यो । अहिले त सेनेटरी प्याड प्रयोग गर्न थालेपछि सजिलो भएको छ।'
सामुदायिक सिकाइ केन्द्र श्रीकोटले दोगडाकेदार गाउँपालिकाका तीनसय बढी महिलालाई सेनेटरी प्याड बनाउने तालिम दिएपछि उनीहरुले प्याड प्रयोग गर्न थालेको सामुदायिक सिकाइ केन्द्रका रामचन्द्र अवस्थीले बताए।
उनले भने ‘महिनावारी भएको सरसफाईमा रहनुपर्ने कुराको बारेमा हामीले सामूहिक रुपमा तालिम दियौं। अहिले गाउँका महिलाहरुले सेनेटरी प्याड आँफै बनाएर प्रयोग गर्न थालेका छन्।'
महिनावारी भएको बेला समूहको बैठकमा जान नसक्ने ग्रामीण महिला अहिले नियमित बैठकमा जाने गरेका छन् । ‘महिनावारी भएको बेला रगत बग्ने र सबैको सामू बस्न पहिला अप्ठ्यारो भएर समूहको बैठकमा समेत जाँदैनथे।
अहिले आँफै सेनेटरी प्याड बनाएर प्रयोग गर्न थालेपछि यताउता जान पनि सजिलो भएको छ ।’श्रीकोटकी शान्ति नाथले भनिन्‘अहिले हामीले गाउँका अरु दिदीबहिनीहरुलाई प्याड बनाउन सिकाइरहेका छौं।'
महिनावारी भएको बेला सरसफाई रहन सेनेटरी प्याडले सहयोग गर्ने हेल्थ असिष्टेन्ट जयबहादुर चन्दले बताए । उनले भने ‘महिनावारी भएको बेलामा अन्य समयको तुलनामा बढी सरसफाई गर्नुपर्छ ।
जुन पछिल्लो समयमा ग्रामीण भेगका महिलाहरुले गरिरहेका छन् । अहिले आँफैले बनाएर सेनेटरी प्याड पनि प्रयोग गरिरहेका छन् । यसले अनावश्यक रुपमा बग्ने रगतलाई व्यवस्थापन गर्नका लागि सहयोग गर्छ।'
महिनावारी भएको बेला सरसफाई रहनुपर्ने र सेनेटरी प्याडको प्रयोगका बारेमा गाउँका दीदीबहिनीलाई बताउने गरेको श्रीकोटकी राजु धामीले बताइन् । उनले भनिन् ‘मैले पनि घरमै सेनेटरी प्याड बनाउन सकिन्छ भन्ने कुरा थाहा पाएकी थिइन् । सामुदायिक केन्द्रबाट तालिम लिएर यो कुरा थाहा पाएकी हुँ । अहिले सबैलाई सिकाइरहेकी छु।'
दोगडाकेदार गाउँपालिका वडा नं ३ श्रीकोटका महिलाहरु अहिले समूहको बैठकमा पनि महिनावारी भएको बेला सरसफाईमा रहनुपर्ने कुरालाई छलफलको रुपमा अघि बढाउने गर्छन। 'सुरक्षित महिनावारीका बारेमा हामीले समूहमा छलफल गर्ने गरेका छौं। सेनेटरी प्याडको प्रयोग र सरसफाईका बिषयमा कुराकानी गर्ने गर्छौं । यसले महिलाहरुको व्यवहारमा समेत परिवर्तन आएको छ।'
श्रीकोटकी सरस्वती बिष्टले भनिन्,‘पहिलाको भन्दा आजभोली धेरै कुरामा परिवर्तन आएको छ । महिनावारी भएको बेला हुने विभेद न्यूनीकरणका लागि पनि हामी सामूहिक रुपमा अघि बढ्ने तयारी गरिरहेका छौं।'