नेपाल टेलिकमको डाटा पयाकेज अब अनलाइनबाटै
काठमाडौं: नेपाल टेलिकमको डाटाप्याकेज अब अनलाइनको माध्यमबाट खरिद गर्न सकिने भएको छ। टेलिकमका अनुसार कम्पनीले उपलब्ध गराएउँदै आएको विभिन्न डाटा प्याकेज अब नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने छ।
यसका लागि अफर डट एनटीसी डट एनइटी डट एनपीमा लग अन गर्नु पर्ने कम्पनीले जनाएको छ । लग अन पश्चात आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेज छनोट गर्न सकिने बछ।
विभिन्न डाटा प्याकेजको मूल्य र समयावधि समेत उक्त अनलाइनमै उल्लेख गरिएको छ । त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके नम्बर राख्नुपर्नेछ । आफ्नो सीमको पीयूके नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न सकिने कम्पनीले जनाएको छ।
सबै विवरण भरेर बाइ डाटा प्याक बटन थिचे पछि ग्राहकको मोबाइलमा आवश्यक डाटा प्याकेज उपलब्ध हुनेछ । यसका लागि मोबाइलमा आवश्यक ब्यालेन्स हुनु भने आवश्यक छ।
नेपाल टेलिकमको डाटा प्याकेज आफ्नो मोबाइलमा स्टार १४१५ ह्यास डायल गरेर पनि लिन सकिन्छ । त्यसैगरी १४१५ मा एसएमएस पठाएर पनि डाटा प्याकेज लिन सकिने कम्पनीले जनाएको छ। तर ग्राहकको सुविधाका लागि अहिले अनलाइन माध्यमबाट समेत डाटा प्याकेज लिन सकिने व्यवस्था गरिएको हो।
यसबाट ग्राहकलाई डाटा प्याकेज लिन थप सहज हुने अपेक्षा कम्पनीले लिएको छ । नेपाल टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रुपमा विभिन्न अफर उपलब्ध गराउँदै आएको छ। त्यसैगरी सीडीएमए सेवामा रेगुलर र नाइट डाटा प्याकेज उपलब्ध छ टेलिकमले जनाएको छ।