गोर्खाल्याण्डका अनशनकारीको स्वास्थ्य अवस्था नाजुक
इलाम (अन्नपूर्ण): भारतको पश्चिम बंगालअन्तर्गतका दार्जिलिङ, मिरिक, खर्साङ र कोलेबुङमा गोर्खाल्यान्ड राज्य माग गर्दै चार दिनदेखि अनशनमा बसेका युवाको स्वास्थ नाजुक बन्दै गएको छ।
आमरण अनशन सुरु भएको चार दिन हुँदासमेत बंगाल सरकार र केन्द्रीय सरकारले कुनै वास्ता नगरेको गोर्खा जनमुक्ति मोर्चाकी नेत्री निरा शर्माले जानकारी दिइन्।
भारत सरकारले आन्दालनको बेवास्ता गरेपछि आन्दोलनकारीमध्येको एक घटक गोर्खा जनमुक्ति मोर्चाका १२ कार्यकर्ता शुक्रबारदेखि चार ठाउँमा आमरण अनशन बसेका छन् । उनीहरूले माग पूरा नभए आहुति दिने चेतावनी दिएका छन्।
दार्जिलिङमा नोरजेन डुक्पा, अमित सुब्बा र राकेश क्षेत्री, कालेबुङमा राजु विश्वकर्मा, सागर दियाली र अजित रोका, मिरिकमा कुशल खनाल, कञ्चन क्षेत्री र धनप्रसाद सुब्बा र खर्साङमा अनोज थापा, नरेन खवास र श्रेय राई अनशन बसेको युवा मोर्चाका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए।