कर्णाली राजमार्ग अवरोध पहिरो पन्छाउन दुई दिन लाग्ने
जुम्लाः कर्णाली राजमार्गमा दर्जन बढी ठाउँमा पहिरो खस्दा राजमार्गअबरुद्ध भएको छ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण राजमार्गमा एकदर्जन ढाउँमा ढुंगासहितको पहिरो खसेपछि राजमार्गअबरुद्ध भएको हो ।
कालिकोटको कालिका गाउँपालिका वडा नम्बर नं. १ को दहीखोलामा ढुंगासहितको ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । एसमोडदेखि दहीखोलासम्म करिब १३ ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पहिरो खसेपछि सोमबार बिहानैदेखि एसमोडदेखि दहीखोलासम्म सवारी साधन जाममा परेका छन् । वर्षात लागेदेखि नै स-साना पहिरो खस्दै आएपनि यसपटक भने ठूलै पहिरो खसेका कारण करिब चार दर्जन बढी सवारी साधन बाटोमै अलपत्र परेका छन् ।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार दहीखोलामा माटो ढुंगासहितको पहिरो खसेको छ । यस्तै दहीखोला भन्दा केही किलोमिटर अगाडी रहेको गोगने खोलामा १० मिटरजति पुरै सडक पहिरोबाट क्षति पुगेको छ । पुरै सडक पहिरो खसेपछि त्यहाँबाट यात्रुलाई पैदलसमेत हिड्ने ठाउँ नभएको र यात्रुले भिरको घोरेटो बाटो प्रयोग गर्दै राजमार्ग छिचोल्ने गरेका छन् ।
धेरै ठाउँमा ठूलो पहिरो खसेका कारण राजमार्ग मंगलबार साँझसम्म खुन्ने सम्भावना नभएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ । राजमार्ग खुलाउने प्रयास जारी राखिएको छ । सडक डिभिजनको स्काभेटरबाट राजमार्ग खुलाउने प्रयास जारी राखेपनि पहिरो ठूलो भएका कारण दुईदिनसम्म अबरुद्ध राजमार्ग खुलाउन नसकिने प्रशासनले जनाएको छ ।
पहिरो गएको ठाउँभन्दा दायाँ र बाँया दुवैतर्फ निकै लामो दुरीसम्म कुनैपनि होटल छैनन् । करिब १० किलोमिटर दक्षिणतर्फ सुर्खेततिर पर्ने खिड्की जीउला पैदल पुग्नको लागि दुई घण्टा लाग्ने गरेको छ भने कालिकोट तर्फको हुल्ममा पुग्नको लागि पनि डेढ घण्टा लाग्ने प्रहरीले बताएको छ । सुर्खेततर्फ जाने यात्रुले पैदल हिडेर खिड्की जिउलाबाट अर्को गाडी चढ्ने गरेका छन् भने कालिकोट हुँदै जुम्लातर्फ आउने यात्रुहरु हुल्मसम्म पैदल हिडेर आउने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पहिरोले दुइदिनसम्म खुल्न नसक्ने संकेत देखिएपछि कालिकोटबाट छुटेका सवारी साधन आधा बाटैबाट फर्किएका छन् ।
बाटोअवरुद्ध हुँदा खान र बस्नको लागि समस्या भएको सुर्खेतदेखि जुम्ला आउँदै गरेका देवीप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले टेलिफानेमार्फत धेरै ठाउँमा पहिरो गएका कारण केही दिनसम्म बाटो नखुल्ने र आफुले ल्याएको सामग्री समेत अलपत्र परेको गुनासो गरेका छन् । यस्तै यात्रुले पहिरो खुसेको दुवैतर्फबाट आएका गाडीमा सट्टापट्टा गर्दै गन्तव्यमा पुग्ने प्रयास गरिरहेका छन् ।
राजमार्गअबरुद्ध हुँदा जुम्ला, मुगु र कालिकोटदेखि सुर्खेत हुँदै नेपालगन्जतर्फ हिँडेका र नेपालगन्जबाट सुर्खेत हुँदै जुम्लासम्म आउँदै गरेका सवारी साधन बाटोमै रोकिएका हुन् । सवारीसाधन नचल्दा यात्रु बाटोमा अलपत्र परेका छन्।
सानो स्काभेटरले पहिरो हटाउन सम्भव नभएकोले जुम्ला र सुर्खेतदेखि ठूलो स्काभेटर नआएसम्म राजमार्ग खुल्ने सम्भावना नभएको कालिकोट प्रहरीले जनाएको छ । पहिरो गएको ठाउँमा उद्दारका लागि प्रहरी खटिएपनि ठूलो डोजर आएर तिव्र गतिमा पहिरो नहटाएसम्म राजमार्ग खुलाउन नसकिने पहिरो पन्छाउने काममा खटिएका प्रहरीलाई उदृत गर्दै कर्णाली अञ्चल प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
कर्णाली राजमार्गको स्तरउन्नतीका लागि अबौं रकम खर्चेपनि अँझैसम्म ढुक्कका साथमा यात्र गर्न लायकको राजमार्ग बन्न नसकेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । यस्तै स्थानीयले पटक पटक राजमार्गअबरुद्ध हुँदा समेत सरोकारवाला निकालयले राजमार्गमा पहिरो पन्छाउने कार्य तिव्र गतिमा नगरेको गुनासो गरेका छन् ।