शिक्षक नेताकै विद्यालयको स्तर खस्कँदो
अछाम : बाब्लास्थिा राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकको नाम सुनेपछि विद्यालयप्रति सबैको समान बुझाइ रहन सक्छ, यो स्कुल त पक्कै पनि पढाइमा उत्कृष्ट नै होला । यहाँका भौतिक संरचना राम्रा होलान्, विद्यार्थी प्रशस्त होलान् । नेपाल शिक्षक महासंघका केन्द्रीय महासचिव रहेका तिलक कुँवर कार्यरत यस स्कुलको नतिजा भने सोचेजस्तो छैन ।
हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नजिताअनुसार विद्यालयबाट कुल ५३ परीक्षार्थीमध्ये एक विद्यार्थीले मात्र दुई जीपीए अंक प्राप्त गरेका छन् । २ दशमलव ४ जीपीए ल्याएर पनि गणितमा सी ग्रेडमात्र भएकाले ती विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षा दिनुपर्ने भएको छ ।
एसईई परीक्षामा सहभागी सबै ५३ विद्यार्थीले नै ग्रेड वृद्धि परीक्षा दिनुपर्ने भएको छ । यस्तो नतिजा प्राप्त गर्ने विद्यालय यस वर्षमात्र होइन एसएलसी परीक्षा र कक्षा ८ को जिल्लास्तरीय परीक्षाको विगत पाँच वर्षको नजिता हेर्दा बर्सेनि ओरालो लाग्ने क्रममा छ । घुघुरकोट स्रोत केन्द्र अन्तर्गतका अन्य सबै मावि र निमाविको कक्षा ८ को जिल्लास्तरीय परीक्षाको पछिल्लो नजिता हेर्दा शतप्रतिशत उत्तीर्णदर छ भने त्यही राष्ट्रिय माविको उत्तीर्ण दर ९२ प्रतिशतमात्र छ ।
२०७२ सालको एसएलसी परीक्षामा जिल्लाभरको उत्तीर्ण दर २२ दशमलव ९ प्रतिशत रहेकोमा राष्ट्रिय माविको उत्तीर्ण दर १०.५३ प्रतिशतमात्र छ । त्यसभन्दा अघिल्लो वर्ष अर्थात् २०७० मा जिल्लाभरको उत्तीर्ण दर १०.८ प्रतिशत रहेकोमा राष्ट्रिय माविको उत्तीर्णदर जम्मा ३.४५ छ ।
शैक्षिकस्तर बर्सेनि ओरालो लाग्दै गएको राष्ट्रिय मावि नेपाल शिक्षक महासंघका महासचिव तिलक कुँवर प्रधानाध्यापक रहेको विद्यालय हो । सुबाट नै विद्यालयको शैक्षिकस्तर वृद्धिमा भन्दा पनि शिक्षकको पेसागत राजनीतिमा बढी सक्रिय हुँदै आएका कुँवर पछिल्लो समय महासंघको महासचिव बनेपछि विद्यालय छोडेर काजमा काठमाडौं हिँडेपछि विद्यालय लथालिंग अवस्थामा छ । कुँवर महासंघको राजनीति गर्न काजमा काठमाडौं जाँदा अस्थायी शिक्षक टंक रावललाई प्रअको जिम्मा दिइएको छ ।
भौतिक, स्रोत, जनशक्तिको पर्याप्तता जस्ता कारणले गुणस्तरीय शिक्षा प्रदान गर्नेमा जिल्लामै नमुना विद्यालय बन्नुपर्ने राष्ट्रिय मावि त्यसको ठीक उल्टो अर्थात् शिक्षाको गुणस्तर खस्कँदो क्रममा रहेको विद्यालयको नमुना बन्न पुगेको छ । विद्यालयमा गएका भौतिक निर्माणलगायत विभिन्न कार्यक्रम सम्पन्न हुन नसकेर अधुरै छन् । गुणस्तरीय सिकाइ हासिल गर्न सबैभन्दा महत्ववपूर्ण मानिने कक्षाकोठा व्यवस्थापन राम्रो छैन । १२ कक्षासम्म पढाइ हुने विद्यालयको कार्यालय कोठा हेर्दा सामान्य निजी स्रोतमा चलेका प्रावि विद्यायलको जस्तो छ । कार्यालय कोठामा स्पष्ट रूपमा देखिने गरी शैक्षिक तथ्यांकहरू प्रदर्शन गर्नुपर्नेमा त्यो पनि छैन ।
विद्यालयको बाह्य तथा भित्री वातावरण हेर्दा सक्षम प्रशासनिक नेतृत्वको अभाव रहेको स्पष्ट देखिन्छ । आर्थिक वर्ष ०६९/७० मा चारकोठे विज्ञान भवनका लागि जिल्ला शिक्षा कार्यालयबाट २४ लाख निकासा भएकोमा दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेमा हालसम्म सम्पन्न हुन सकेको छैन । उक्त रकम शिक्षाको बेरुजू शीर्षकमा छ । विज्ञान भवन सम्पन्न नहुँदै आव ०७१/७२ मा शिक्षाबाट विज्ञानको प्रयोगात्मक सामग्री खरिदका लागि गएको ६ लाख ५० हजार पनि फस्र्योट नगरेको जिशिका लेखा शाखाले जानकारी दिएको छ ।
भौतिक निर्माणका कामहरूका लागि छुट्टै निर्माण समिति गठन नगरेर प्रअले आफैं नेतृत्व लिने गरेकाले आर्थिक हिनामिनाको आरोपसमेत कँवरमाथि लाग्ने गरेको छ । विज्ञान भवन निर्माणका लागि सुरुमा निकासा भएको १० लाख रकम कुँवरले नै खर्च गरेर दुई वर्षपछि मात्र काम सुरु गरेको आरोप स्थानीयवासीको छ । विज्ञान भवन अधुरो रहेपछि गाविसले थप पाँच लाख छुट्याएर निर्माणको काम सम्पन्न गर्न लगाइएको वडा सचिव उमाकान्त जोशीले जानकारी दिनुभयो । स्थानीयवासी समेत रहेका जोशीले प्रअ कुँवरले विद्यालयमै हुँदा पनि सबैसँग छलफल, सरसल्लाह नगरेर काम गरिरहेकाले अभिभावकले विद्यालयप्रति वास्ता गर्न छोडेको बताउनुभयो ।
प्रशासनिक व्यवस्थापन फितलो, अभिभावको कम चासो, अन्य शिक्षकहरूले पनि पूर्ण रूपमा जिम्मेवारी पालन नगर्नुजस्ता कारणले राष्ट्रिय माविको शैक्षिक स्तर खस्कँदो अवस्थामा रहेको देखिन्छ । हालैमात्र राष्ट्रिय माविको निरीक्षणका क्रममा बाब्ला पुग्नुभएका सुदूरपश्चिम क्षेत्रीय शिक्षा निर्देशक लालजंग चौहानले शिक्षकका नेताले नेतृत्व गरेको विद्यालयको बाह्य तथा कक्षा कोठाभित्रको शैक्षिक वातावरण हेर्दा सन्तोषजनक नभएको बताउनुभयो । ‘शिक्षकको काम भनेको पढाउने हो, आफूले नपढाउने भए अर्को शिक्षक राखेर पनि पढाउनुपर्छ', चौहानले भन्नुभयो, ‘राज्यको सुविधा लिइरहने तर नपढाउने काम राम्रो होइन ।'
शिक्षाबाट गएको स्रोत हेर्दा शैक्षिक सामग्री र कक्षाकोठा व्यवस्थापनदेखि शौचालय, घेरापर्खाल, खेलमैदान कुनै कुराको पनि राम्रो व्यवस्थापन नभएको विद्यालय निरीक्षक हरिदत्त जोशीले बताउनुभयो । पञ्चायतकालमा निर्माण गरिएको जीर्ण घेरापर्खाल र खेलमैदानले नै विद्यायको बाह्य वातावरण बालमैत्री नरहेको स्पष्ट देखिने जोशीले सुनाउनुभयो । विद्यालयमा अनारको बगैंचा निर्माण गर्ने काम भने राम्रो रहेको उहाँले सुनाउनुभयो ।