विद्यार्थीको रोज्जा विषय पहुँचबाहिर
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले सन् २००२ देखि सुरु गरेको सेमेस्टर प्रणालीको विषय विद्यार्थीको पहिलो रोजाइमा परे पनि अझै उनीहरूको पहुँचबाहिर नै रहेको पाइएको छ । ग्रामीण भेगबाट सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले उत्कृष्ट अंक ल्याए पनि यी विषयहरूमा उनीहरूको पहुँच पुगेको छैन । त्रिविले सेमेस्टर प्रणालीबाट बीबीए, बीएचएम, बीआईएम, बीटीटीएम, बीबीएम विषयको पढाइ सुरु गरिसकेको छ ।
धनाढ्य र पहुँचवालाका छोराछोरीले मात्र यस्ता विषय अध्ययन गर्न पाएका छन् । शुल्क बढी लाग्ने, पढ्न चाहे पनि छनोटमै नपारिदिनेजस्ता समस्या बढी भएकाले विद्यार्थीहरू पुरानै शिक्षा पढ्न बाध्य भएका छन् । विदेशमा पढाइ हुने यी विषय नेपाल भित्रिए पनि पद्धति र प्रक्रियामा सुधार नहुँदा शिक्षा प्रणाली एकात्मक बन्दै गएको याङ्जोम शेर्पाको आरोप छ । गाउँका भाइबहिनीलाई आधुनिक विषय पढ्न र पढाउन प्रेरित गर्दा पनि पहुँच नपुगेको उहाँले गुनासो पोख्नुभयो । विश्वमै माग भएका यी विषय पढ्ने अवसर भए पनि समान रूपमा पढ्न नपाएपछि सामान्य परिवारका उत्कृष्ट विद्यार्थी पछि पर्दै आएको शेर्पाको भनाइ छ ।
‘नेपालमै पढ्न पाउनु खुसीको कुरा हो तर छोराले बीटीटीएम पढ्ने इच्छा गरे पनि कोटामा पर्न सकिएन’, भोजपुरका फुरलाक्पा शेर्पाले बताउनुभयो । त्रिविले लिने सीम्याट, केयूयू म्याट र जीम्याट परीक्षामा सर्वसाधारणका उत्कृष्ट विद्यार्थीले स्थान नपाउने गरेको उहाँको आरोप छ । सामुदायिक विद्यालयबाट ए प्लस अंक ल्याएका विद्यार्थीले यो विषय पढ्न नपाएको भन्दै तत्काल सर्वसाधारणको पहुँचमा पनि ल्याउन शेर्पाले अनुरोध गर्नुभयो ।
संखुवासभाका सदीक्षा राई आफूले बीबीएम पढ्न इच्छा राखेर सीम्याट परीक्षा दिए तर नाम निस्केन । त्रिविले परीक्षा प्रणाली भरपर्दो नबनाएका कारण पहुँचवालाकै पक्षमा शिक्षा गएको उहाँले बताउनुभयो । गाउँबाट उच्च शिक्षा हासिल गरेकाले पनि यो विषय पढ्न पाउनुपर्ने व्यवस्था गर्न उहाँले त्रिविसँग माग राख्नुभयो । काठमाडौं फर्पिङका सरन थापामगर कक्षा १२ मा ६६ प्रतिशत अंक ल्याएपछि एजुकेसन डट कम संस्थाको सहयोगमा सिमेटमा ८२ प्रतिशत ल्याएको बताउनुभयो । यो संस्थाले जेहेनदार र विपन्न उत्कृष्ट विद्यार्थीलाई यी आधुनिक विषय पढ्न प्रोत्साहन गरेपछि बीएचएम पढ्दै आएको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीबाट बीबीए, बीएचएम, बीआईएम, बीटीटीएम, बीबीएमको अध्यापन सुरु गरे पनि सामुदायिक तथा गुठीबाट सञ्चालित विद्यालयका उत्कृष्ट विद्यार्थीको पहुँचमा यी विषय पुग्न सकेको छैन ।
संस्थाले लाखौं खर्चेर बिदेसिने हजारौं विद्यार्थीलाई नेपालमै अध्ययन गर्न प्रोत्साहित गर्दै आएको संस्थाका मेनेजिङ डाइरेक्टरले जीवन लामा गोलेले बताउनुभयो । सन् २००९ देखि सेवा विस्तार गरी वार्षिक तीन हजारभन्दा बढी विद्यार्थीलाई परामर्श दिँदै आएको उहाँको भनाइ छ । नाफामात्र हैन सेवाको भावनाले ग्रामीण विद्यार्थीलाई सहयोग गरेको उहाँले बताउनुभयो । यी विषय अध्ययनका लागि लिइने सेन्टर मेनेजमेन्ट एडमिसन टेस्ट (सिमेट) को तयारी कक्षा, परामर्श, सरकारी विद्यालयमा अध्ययन गरेको अंग्रेजी कमजोर भएका विद्यार्थीलाई अंग्रेजी सिकाइने, अन्तर्वार्ता, आईक्यू लगायतका विषयबारे जानकारी गराउँदै आएको छ । गाउँका सामुदायिक विद्यालयमा अध्ययन गरेका उत्कृष्ट विद्यार्थीमा आधुनिक विषय अध्ययन गर्न प्राविधिक ज्ञान नहुने भएकाले सबै क्याम्पस र यो विषयको बारेमा संस्थाले प्रस्ट जानकारी गराइदिने गरेको छ ।
काभ्रेपलाञ्चोककी मञ्जु तामाङ विपन्न र निरक्षर परिवारकी भए पनि उहाँले यो संस्थाको सहयोगमा होटल म्यानेजमेन्ट पढ्न पाएको बताउनुभयो । आठ वर्षदेखि आधुनिक विषयप्रति आकर्षण बढ्दै गएको छ । ग्रामीण क्षेत्रमा शिक्षा, मानविकी संकायमात्र पढाइ हुने गरेको र समयको मागअनुसार प्राविधिक शिक्षा पढाइ हुन नसकेको अभिभावकको भनाइ छ । सहरकेन्द्रित आधुनिक विषयको पहुँच विस्तार गर्नुपर्ने मागसमेत गरेका छन् । सामुदायिक, गुठीबाट सञ्चालित विद्यालयबाट उत्कृष्ट अंक ल्याएकालाई यी विषयहरू पढ्न छात्रवृत्तिको व्यवस्था गरिनुपर्ने माग छ । पछिल्लो समय व्यवस्थापन, होटल म्यानेजमेन्ट, आईटी र नर्सिङ पढ्न वार्षिक हजारौं युवा बिदेसिने गरेका छन् ।