इस्लिङ्टनका विद्यार्थीलाई बेलायतमा छात्रवृत्ति
काठमाडौं : पानीपोखरीस्थित इस्लिङ्टन कलेजले यस कलेजबाट स्नातक तह पूरा गरेका पूर्वविद्यार्थीहरूलाई बेलायतमै अध्ययन गर्न छात्रवृति दिने भएको छ। सो कलेजले आगामी सेप्टेम्बर शैक्षिक सत्रमा सूचनाप्रविधि तथा व्यवस्थापनमा (एएस सीआईटी र एमबीए)का लागि स्नातकोत्तर तह अध्ययनका लागि छात्रवृत्ति दिन लागेको हो ।
बेलायतस्थित लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयले एकजनालाई खान, बस्न र अध्ययनको लागि पूर्ण र दुई विद्यार्थीलाई नेपालको इस्लिङ्टन कलेजमा अध्ययन गर्न पूर्ण छात्रवृत्ति उपलब्ध गर्न लागेको कलेजले जनाएको छ । बेलायतस्थित लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयमा सूचनाप्रविधि र व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनका लागि सम्पूर्ण खर्च विश्वविद्यालयले बेहोर्ने भएको छ ।
‘छनोटमा परेका विद्यार्थीलाई पूर्ण अध्ययनका लागि सो विद्यालयले ३३ हजार पाउन्डको छात्रवृत्ति पाउनेछन्', कलेजका अध्यक्ष तथा प्रमुख कार्यकारी सुलभ बुढोथोकीले भने । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयले नेपालमा अध्ययन गर्ने विद्यार्थीको गुणस्तर उत्कृष्ट रहेकाले छात्रवृत्ति दिएको बुढाथोकीले बताए । कलेजले छात्रवृत्तिका लागि १९ जुलाईमा निवेदन दिने, २७ देखि ३० जुलाईसम्म अन्तर्वार्ता र ७ अगस्टमा छात्रवृत्तिको नतिजा सार्वजनिक गर्ने भएको छ । विगत २१ वर्षदेखि सो कलेजले बीआईटी र बीबीए अध्यापन गराउँदै आएको छ ।
स्वेदशमै बेलायती डिग्री दिने अग्रणी संस्थाका रूपमा रहेको यस कलेजबाट उत्पादित विद्यार्थी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत खपत भइरहेको कलेजले दाबी गरेको छ । अनुभवी शिक्षक, उत्कृष्ट भौतिक संरचना तथा सैद्धान्तिक र व्यावहारिक दुवै तरिकाबाट पढाइने भएका कारण विद्यार्थीहरू सहजै बजारमा रोजगारीमा जान सक्षम भएको कलेजको भनाइ छ ।