सम्पदा पुनर्निर्माण गर्न पुरातत्वको चार करोड
मध्यपुर : पुरातत्व विभागले भूकम्पमा भत्किएका भक्तपुरका सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धार गर्न चालु आर्थिक वर्षमा चार करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकमबाट भक्तपुरका करिब १२ वटा सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार गरिने विभागअन्तर्गतको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका प्रमुख इन्जिनियर मोहनकृष्ण श्रेष्ठका अनुसार विभागबाट विनियोजित रकमबाट नयाँ नौवटा र क्रमागत तीनवटा सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार कार्य हुनेछ । विभागले गत वर्षदेखि जीर्णोद्धार कार्य भइरहेको विश्वसम्पदा चाँगुनारायण मन्दिरका लागि ५० लाख रुपैयाँ छुट्याएको प्रमुख इन्जिनियर श्रेष्ठले बताए ।
उनका अनुसार चाँगुनारायण मन्दिर परिसरमै रहेको बलम्बु पाटीका लागि १० लाख, भीमसेन पाटीका लागि पाँच लाख र चाँगुनारायण चौघेरा सत्तलका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यी सबै सम्पदामा ०७२ साल वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनले क्षति पुर्याएका थिए ।
त्यस्तै, भक्तपुर दरबार क्षेत्रमा रहेको गोपीनाथ मन्दिरका लागि १५ लाख, खौमास्थित जगन्नाथ मन्दिरका लागि २० लाख रुपैयाँ छ्टयाइएको छ । गोपीनाथ मन्दिर भूकम्पले क्षतिग्रस्त बनाएको हो भने जगन्नाथ मन्दिर १९९० सालको भूकम्पले भत्काएर अहिले खुला रहँदै आएको हो ।
प्रमुख इन्जिनियर श्रेष्ठले यसबाहेक भक्तपुरमा ११ वटा सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार कार्य भइरहेको छ । जसमध्ये भक्तपुर दरबार क्षेत्रस्थित फसीदेग, तव सत्तल र सिद्धि लक्ष्मी मन्दिरको पुनर्निर्माण कार्य भइरहेको छ ।
त्यस्तै, सूर्यविनायक नगरपालिका-४ स्थित दक्षिण बाराही र अनन्तलिंगेश्वर महादेव मन्दिरको पनि पुनर्निर्माण भइरहेको छ । यी सबै सम्पदा भूकम्पले पूर्णरूपमा भत्काएका हुन् । सूर्यविनायक नपाको अनन्तलिंगेश्वर महादेव मन्दिर भने १९९० सालको भूकम्पले भत्काउनुअघिको प्यागोडा शैलीमा पुनर्निर्माण हुँदै गरेको छ।
०७२ सालको भूकम्प र त्यसपछिका पराकम्पनले गुम्बज शैलीको अनन्तलिंगेश्वर मन्दिर भत्काएको थियो । पहिले उक्त मन्दिर प्यागोडा शैलीको रहेको भन्ने प्रमाण मन्दिर परिसरमा रहेको लिच्छविकालीन शिलालेखमा उल्लेख छ ।
माघ मसान्तभित्र पुनर्निर्माण सम्पन्न गर्नुपर्ने अनन्तलिंगेश्वर महादेव मन्दिरको काम अहिलेसम्म ४० प्रतिशत मात्र भएको छ । एक करोड ६३ लाख रुपैयाँमा उक्त मन्दिर पुनर्निर्माण भइरहेको प्रमुख इन्जिनियर श्रेष्ठ बताउँछन् । भूकम्पपछि सरकारले तयार गरेको पीडीएनए रिपोर्टअनुसार भक्तपुरका सातवटा सम्पदा पुनर्निर्माणका लागि करिब २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
पुरातत्वव विभागसँगसँगै यहाँ भक्तपुर नगरपालिकाले भूकम्पमा भत्किएका सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार कार्य गर्दै आएको छ । उसले भक्तपुर दरबार क्षेत्रमा करिब आधा दर्जन सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसकेको छ । त्यस्तै, भक्तपुर दरबार क्षेत्रकै वत्सला मन्दिर र केदारनाथ मन्दिरको पुनर्निर्माण गरिरहेको छ ।
भक्तपुर नपाको प्रथम नगर सभाले सम्पदा संरक्षणलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम पारित गरिसकेको छ । तर, बजेट भने छुट्याइनसकेको नपाको सम्पदा शाखामा प्रमुख आर्किटेक्ट इन्जिनियर रामगोविन्द श्रेष्ठ बताउँछन् । उनका अनुसार नपाले धेरै सम्पदालाई वडामा पठाउने ५० लाख रुपैयाँबाट समेत पुनर्निर्माण तथा जीर्णोद्धार गर्ने गरी योजना निर्माण गरिरहेको छ ।
विभागका अनुसार भूकम्पमा भक्तपुरका २० वटा सम्पदा पूर्णरूपमा क्षति भएका थिए । त्यस्तै, ४३ वटा सम्पदामा आंशिक क्षति पुगेको थियो ।