फोटोमा भूकम्पपछिको नेपाल
काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)द्वारा आयोजित 'भूकम्पपछिको नेपाल' शीर्षक फोटो प्रदर्शनी सम्पन्न भएको छ । साउन ५ देखि ८ सम्म राजधानीमा चलेको प्रदर्शनीमा 'भ्युवर्स च्वाइस'का आधारमा दीपक केसीले खिचेको फोटो पहिलो हुँदै ५० हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । भक्तपुरकी स्थानीय एक महिलाले भूकम्पपछि भत्केको आफ्नो घरको पर्खालमा चढेर सामान खोजिरहेको फोटो पहिलो भएको हो ।
त्यसैगरी सरोज बादेले खिचेको भारी वर्षा भइरहेका बेला पाल ओडेर बसिरहेका भूकम्पपीडित बाबु र छोरीको फोटो दोस्रो हुँदै २० हजार रुपैयाँ पुरस्कार जित्न सफल भएको छ । दीपक केसीकै भूकम्पपछि पुनर्निर्माण भइरहेको काठमाडौंको बौद्धस्थित बौद्धनाथ स्तूपको फोटोले तेस्रो स्थान हासिल गर्दै १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
प्रदर्शनीमा समावेशमध्ये स्कन्द गौतमले खिचेको भूकम्पपीडित एक परिवारको सडक बासको फोटोले पाँच हजार रुपैयाँसहित सान्त्वना पुरस्कार जितेको छ । त्यसैगरी भूकम्पले भत्काएको घरमा च्यापिएको अवस्थामा उद्धार गर्दै गरेको राजेश गुरुङले खिचेको फोटो र राजेशले नै खिचेको भूकम्पको धक्काले भत्किँदै गरेको खोकना गाउँको फोटोले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजित शैक्षिक प्रदर्शनी इक्यान परिसरभित्र गरिएको प्रदर्शनी हेरेर दर्शकले दिएको भोटलाई ५० प्रतिशत र फेसबुक लाइकलाई ५० प्रतिशत आधार मानी पुरस्कृत फोटोहरू निर्धारण गरिएको हो । प्रदर्शनीमा २४ जना फोटोपत्रकारले खिचेका ४५ वटा फोटोहरू समावेश गरिएका थिए ।