राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी
जाजरकोट: भेरी नगरपालिका-४ कि बालिका राना कपडा सिलाउन सिकेपछि निकै प्रफुल्लित छिन् । घरको आर्थिक अवस्था एकदमै नाजुक भएकी बालिकाले राष्ट्रपति महिला उत्थान कार्यक्रमको तीन महिने सिलाई कटाई सीप विकास तालिम लिएकी हुन्।
‘म अब आफै कपडा सिलाउन सक्ने भएकी छु। मैले निशुल्क रुपमा सिलाई मेसिन पनि पाएकी छु सिलाई पसल खोलेर आत्मनिर्भर हुन्छु।' बालिकाले आत्मविश्वासका साथ भनिन्।
सिलाईको तालिम लिएकी छेडागाड नगरपालिका ८ पजारुकी निर्मला सिंह पनि अब यसैलाई व्यवसायका रुपमा अगाडी बढाउने सोचमा छिन्। अरु कुनै आयस्रोत छैन, बिहान बेलुकाको छाक टार्न नै मुस्किल छ, निर्मला भन्छिन्, 'अब यो सिलाई सिकेकाले सिलाई कटाई पसल राख्छु।'
बालिका र निर्मला जस्तै तीन दर्जन महिलाले गत बैशाख देखि जिल्ला सदरमुकाम खलंगामा सिलाई तालिम लिने अवसर पाएका थिए। सरकारले महिला तथा बालबालिका कार्यालय कार्यालय मार्फत महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले राष्ट्रपति महिला उत्थान कार्यक्रम गत आर्थिक बर्ष देखि संचालनमा ल्याएको हो।
महिला सशक्तिकरणका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत जाजरकोटमा ३६ जना महिलाले तीन महिने सिलाई कटाई तालिम लिएका छन्।