‘घरमै सामाजिक सुरक्षा भत्ता
बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका वडा नं १ गुरुखोला श्रीखण्डका लक्ष्मी भट्टलाई सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि सकि नसकी साविकको गुरुखोला गाविसमा पुग्नुपथ्र्यो। तर मंगलबार उनि ज्यादै खुशी देखिईन्।
वडा अध्यक्ष भुवनराज भट्ट सामाजिक सुरक्षा भत्ता लगेर घरमै पुगेपछि लक्ष्मीको खुशीको सीमा रहेन। उनले भनिन् ‘जनप्रतिनिधिले जनताको काम गर्छन भन्थे हो रैछ। हामीलाई यस्तै खालको सहयोग गर्यो भने पुग्यो।'
दशरथचन्द नगरपालिका वडा नं १ कै दुरा भाट पनि घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा निकै खुशी भइन् । खुट्टाको अपांगता भएकी भाटलाई निकै सकस थियो गाविससम्म पुगेर भत्ता लिन। उनले भनिन् ‘वडा अध्यक्षले घरमै आएर सामाजिक सुरक्षा भत्ता दिए। मलाई निकै खुशी लाग्यो।' बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ को कार्यालयले घरमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरु निकै खुशी छन्।
‘लट्ठी टेकेर सामाजिक सुरक्षा भत्ता बुझ्न जानुपथ्र्यो । अब गाउँमै पाइन थाल्यो। हामीलाई घरमै सरकार आए जस्तो भयो ।'दशरथचन्द नगरपालिका १ गुरुखोलाका गौरे लुहारले भने, ‘हामी दलितको दैलोमा समेत पहिला कोही टेक्दैनथे। अहिले वडा अध्यक्ष कर्मचारी आँफै गाउँमा आएर सामाजिक सुरक्षाभत्ता वितरण गरे।'
दशरथचन्द नगरपालिका वडा नं १ को कार्यालयले साविकको गुरुखोला गाविसका ९ ओटा टोलमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको वडा नं १ का अध्यक्ष भुवनराज भट्टले बताए। उनले भने ‘हामीले वडाको पहिलो बैठकबाट घरमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने निर्णय गरेका हौं। निर्णयलाई कार्यान्वयन गर्न हामी टोलटोलमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गरिरहेका छौं।'
सामाजिक सुरक्षाभत्ता पाउने जेष्ठ नागरिक र अपांगता भएका नागरिकलाई वडा कार्यालय सम्म पुग्न कठिन भएकाले घरमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको वडा अध्यक्ष भट्टले बताए। उनले भने ‘सामाजिक सुरक्षाभत्ता गाउँमै पाउन थालेपछि गाउँले पनि खुशी भएका छन्। निर्वाचन जितेपछि गाउँलेसंग भेटघाट पनि भइरहेको छ।'
वडाभरीका सामाजिक सुरक्षात्ता पाउने नागरिकको सूची सहित गाउँमै सामाजिक सुरक्षाभत्ता प्रदान गरिरहेको दशरथचन्द नगरपालिका वडा नं १ का वडा सचिव माधवप्रसाद भट्टले बताए।