आफूखुसी सेवासुविधा नलिन जनप्रतिनिधिलाई एमालेको आग्रह
नेपालगन्ज : नेकपा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले निर्वाचित जनप्रतिनिधिलाई आफुखुसी तलब भत्ता नलिन निर्देशन दिनुभएको छ।
एमालेबाट निर्वाचित पाँच नम्बर प्रदेशका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा गौतमले राज्यले दिएको बजेट सेवासुविधामा खर्च नगर्न निर्देशन दिनुभएको हो। उहाँले जनप्रतिनिधीलाई स्वयमसेवी भएर काम गर्न आग्रह गर्नुभयो।
कार्यवाहक अध्यक्ष गौतमले भन्नुभयो, ‘तपाईहरु पहिला आफैले राजस्व संकलन गरेपछि मात्रै तलब भत्ता व्यवस्था गर्नुहोस्, सरकारले पठाएको पैसाले तलब भत्ता खाने काम नगर्नु होला।'
दुई दिन सम्म चल्ने अभिमुखीकरणमा प्रदेश नम्बर पाँच बाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख , गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा पालिका नजितेका स्थानबाट २/२ जना निर्वाचित वडा अध्यक्षहरुको सहभागिता रहेको एमालेका उपमहासचिव एव प्रदेश नम्बर पाँचका संयोजक विष्णु पौडेलले जानकारी दिनुभयो ।
अभिमुखीकरण कार्यक्रममा विषय विज्ञहरु नेपाल राष्ट्र बैकका पूर्व गर्भनर युवराज खडिवडा, पुननिर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञावाली, राज्य पुनर्संरचना आयोगका पूर्वअध्यक्ष बालानन्द शर्मा पौडेल लगायतले प्रशिक्षण दिनेछन्।