नक्कली नोट कारोबारमा प्रतिष्ठितकै संलग्नता
विराटनगर : पछिल्लो समय बढेको नक्कली नोटको कारोबारमा विराटनगरका प्रतिष्ठित व्यक्तिकै संलग्नता रहेको प्रहरीले पत्ता लगाएको छ। यस्ता नोटको कारोबारमा उच्च व्यापारिक घरना एवं प्रतिष्ठित व्यक्तिकै संलग्नता रहेको पाइएपछि प्रहरीले अनुसन्धानको दायरालाई थप फराकिलो पारिएको जनाएको छ।
मोरङ प्रहरीले नक्कली नोट कारोबारका विषयमा गरिरहेको अनुसन्धानका क्रममा यस्तो तथ्य फेला पारेको हो। घटना अनुसन्धानका क्रममा रहेको र सबैलाई पक्राउ गर्ने तयारी भइरहेको भन्दै उसले कारोबारमा संलग्न ठूला व्यक्तिहरुको नाम भने सार्वजनिक गरेको छैन।
‘नक्कली नोट कारोबारमा संलग्न केही युवालाई पक्राउ गरेर अनुसन्धान गर्दा नयाँ तथ्य फेला परेको छ,’ मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले भने, ‘यसमा उच्च घरना र प्रतिष्ठितकै संलग्नता पाइएपछि प्रहरी नै अचम्ममा परिरहेको छ।’ उनले पछि पक्राउ गरेर कारवाही अघि बढाइएपछि कारोबारमा संलग्न सबै व्यक्तिहरुका बारेमा सर्वाजनिक गरिने जानकारी दिए। एसपी भण्डारीले नक्कली नोट उत्पादन गर्नेदेखि लिएर कारोबारमा मानिसको प्रयोग गर्नेसम्मका गतिविधीमा उनीहरुको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको बताए।
प्रहरीले पछिल्लो पटक विराटनगर ९ का १९ वर्षीय विट्टु कामतलाई पक्राउ गरेको छ। नक्कली नोटकै कारोबारमा संलग्न रहेका कारण उनलाई पक्राउ गरिएको जानकारी भण्डारीले दिए। कारोबारमा संगै रहेका साथीहरु पक्राउ परेपछि भागेर भारतको दरबंगा पुगेका कामतलाई पक्राउ गर्न प्रहरी सफल भएको उनले बताए।
कामतविरुद्ध जिल्ला अदालत मोरङबाट खोटा चलन मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले गत शुक्रबार साँझ नक्कली नोटको कारोबारमा संलग्न विराटनगर ६ का २२ वर्षीय संगीत महतो र विराटनगर ७ का २१ वर्षीय सुमन तोलाङ्गीलाई पक्राउ गरेको थियो।
विराटनगरमा नक्कली नोटको कारोबारमा संलग्न संगीत महतो एवम् सुमन तोलाङ्गी र उनीहरुका साथबाट बरामद भएको नक्कली नोट सार्वजनिक गर्दै प्रहरी। तस्बिर : अन्नपूर्ण