हलियाको ७४ लाख रुपैयामा कमिसनको गन्ध,मालपोत कार्यालयमा ताला 

हलियाको ७४ लाख रुपैयामा कमिसनको गन्ध,मालपोत कार्यालयमा ताला 

डोटी : आफुहरुको लागि आएको रकम माथि कमिसनको खेल भइरहेकाले सो कार्य रोकिनु पर्ने भन्दै मुक्त हलियाहरुले मालपोल कार्यालयको गेटमा ताला लगाएका छन् । हलियाहरुको भबिश्य माथि नै खेलबाड गरिरहेको आरोप लगाउँदै उनीहरुले कार्यालयमा ताला लगाएका हुन् ।
आफुहरुले रोजेको जग्गा खरिद गरिदिनु पर्ने माग गर्दै आइरहेका मुक्त हलियाहरु ‘मुक्त हलिया पुनःस्थापना जिल्ला कार्य समिति’को काम प्रति असन्तुष्टी व्यक्त गर्दै आइरहेका थिए ।
‘हामीहरुको नाममा आएको रकम फ्रिज जाने सम्भावना भयो । रकम फ्रिज जान नदिनको लागि ताला लगाएका हौं’, मुक्त हलिया शेरबहादुर बिकले भन्नुभयो, ‘हामीले रोजेको स्थानमा जग्गा खरिद नगरेर आफ्नै मनोमानीमा अर्कै ठाउँको जग्गा खरिद गर्न खोजिएको छ । त्यस ठाउँमा हामीहरु बस्न राजी भएका छैनौं ।’
‘जिल्ला मालपोल कार्यालयबाट जग्गा नलिए रकम फ्रिज जानेछ भनेका छन्’, बिकले भन्नुभयो,‘हाम्रो नाममा आएको रकममा कमिसनको खेल खेलिरहेका छन् र सफल नभए फ्रिज गरिदिने भएकाले त्यस्तो हुन नदिन तालाबन्दी गर्नु परेको हो ।’ ताला बन्दीले गर्दा कार्यालयको कामकाज ठप्प रहेको छ । कार्यालयका कर्मचारीहरु कार्यालय बाहिर नै रहेका छन् ।
डोटीमा रहेका मुक्त हलिया पुनःस्थापनाको नाममा आएको रकम माथि टाठाबाठाहरुले आँखा लगाउन थालेका छन् । पुनःस्थापनाको लागि आएको रकममा कमिसनको खेल हुन थालेपछि मुक्त हलियाहरु आक्रोसित बनेका छन् । मुक्त हलिया पुनःस्थापना अन्तर्गत सामुहिक आवासको लागि भन्दै डोटीमा आर्थिक बर्ष २०७३/०७४ मा नेपाल सरकारबाट ८४ लाख रकम आएको थियो । त्यसमध्ये १० लाखको पाँच परिवारलाई शुरुमै उनिहरुले रोजे बमोजिम नै जग्गा खरिद गरिसकिएको थियो । बाँकी ७४ लाख रकम माथि चलखेल भइरहेको हो ।
आर्थिक बर्ष २०७३/०७४को समाप्तीसंगै सामुहिक बस्ती निमार्णको कार्य सम्पन्न हुनुपर्ने भए पनि नयाँ आर्थिक बर्ष सुरु हुँदा पनि बस्ती निर्माणको कार्यमा अन्योल देखिएको छ । जिल्ला सदरमुकाम सिलगढी बजार नजिकै भएको जमिन छोडेर मुक्त हलिया पुनःस्थापना जिल्ला कार्य समितिले सदरमुकामबाट तीन घण्टाको पैदल दुरीमा रहेको जमिन किन्ने तयारी गरेको हो ।
ठुलाबडाका कारण आफुले प्राप्त गर्दै गरेको रकम फ्रिज जाने अबस्थामा पुुगेको पुर्बिचौकी गाउँपालिका– २ बगलेककी मुक्त हलिया बिस्ना बिकले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी सबै सदरमुकाम नजिकैको जमिनमा बस्न राजी थियौं, हलियाका नेता र हाकिम मिलेर अर्कैैको जग्गा पास गर्ने तयारी गर्यो, हामीलाई अरु थाहा छैन हामीलाई पुनःस्थापना हुन पर्यो ।’ 
हिउँदमा खारो पर्ने, जंगल भएको जमिनमा आफुलाई ईच्छा नभएको ७० बर्षीय भागा बिकले बताउनु भयो । भागाले भन्नुभयो, ‘जंगलमा बस्नु पर्ने भएमा के को पुनःस्थापना भएको मान्ने ? सरकारबाट आयो पैँसाले हामीलाई राम्रो ब्यस्था हुन पर्छ हामीलाई ठग्न पाईन्न ।’
‘राति ९÷१० बजे तिर हामीहरुलाई जबर्जस्ती औंठा छाप लाउन लगायो’, मुक्त हलिया चन्नरीदेवी कोलीले भन्नुभयो,हामी त लाटा सोझा मान्छे राम्रै जग्गा पाइन्छ भनेर औंठा छाप लगायौं तर माथि गाउँको जंगलको जग्गा रहेछ ।’ सो जग्गा खरिद गरे बापत मालपोतका हाकिम लगायत अन्य केही व्यक्ति लाखौंको कमिसन पाउने भएकाले जबर्जस्ती रुपमा सो कार्य गर्न थालेको कोलीले बताउनुभयो ।
हलिया पुनःस्थापनाका लागी आएको बजेट हलिया बीच भएको बिवादका कारण फ्रिज हुने भएको जिल्ला मातपोत कार्यालय डोटीका कार्यालय प्रमुख तथा मुक्त हलिया पुनःस्थापना जिल्ला कार्य समितिका सदस्य सचिब सुनिल सागर जोशीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘चुनावका कारण ढिलो भयो, जग्गा खोज्ने उहाँहरुको जिम्मेवारी हो, हाम्रो होईन सामुहिक बस्ती निर्माण गर्ने भएकाले हामीले खोजेका हौं ।’
मुक्त हलिया पुनःस्थापना जिल्ला कार्य समितिले ४३ रोपनी जग्गा छोडेर ३० रोपनी जग्गा किन्न निर्णय गरेको छ । सदरमुकाम नजिकै रहेको ४३ रोपनी जमिन ७४ लाखमा खरिद गर्न छोडेर सोही मूल्यमा सदरमुकामबाट टाढा रहेको बगलेक गाबिसमा ३० रोपनी जग्गा किन्नका लागी तयार भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ सिलगढीको पैँयाभञ्जाङ नजिकै रहेको हर्क बोहराको ४३ रोपनी जग्गा छोडेर मुक्त हलिया पुनःस्थापना जिल्ला कार्य समितिले साबिकको बगलेक गाबिसमा रहेको मोहन बमको नाममा रहेको हनुमान हर्टिकल्चर फर्मको जग्गा किन्नका लागी तयार भएको हो ।
समय घर्काउदै ल्याएर अन्तिम अबस्थामा हस्ताक्षर नगरे रकम फ्रिज जाने भन्दै जवरजस्ती हस्ताक्षर गराएको बिस्ना बिकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई जग्गा मालिक बोलाएर ल्याउनु भने, हामी बिहान कार्यालयमा पुग्दा हाकिम र हलियाका अध्यक्ष अर्कैको जग्गा नाप्न बगलेक पुगेका रहेछन ।’
हलिया र आफ्ना बीचमा जग्गा लेनदेनका बारेमा सबै कुरा मिलेको र कागजी पक्रिया अन्तिम चरणमा हुँदा समितिले अर्कैको जग्गा प्रस्ताब गरेको जग्गा धनी हर्क बहादुर बोहराले बताउनु भयो । बोहराले भन्नुभयो, ‘म ७४ लाखमा तयार छु, हलिया पनि मेरो जमिनमा बस्न तयार छन लिने र दिने बीचमा सहमति भएको छ भने बीचमा अर्कैै ब्यक्तिसंग जमिनको कुरा गर्ने समितिको नियत के हो ?’
‘हामीले हलियाकै पक्षमा काम गरिरहेका छौं’, राष्ट्रिय मुक्त हलिया समाज नेपाल डोटीका अध्यक्ष भिम सार्कीले भन्नुभयो, ‘अझै पनि बिग्रेको छैन समस्या मिलाउने प्रयासमा छौं ।’
‘केही कमी कमजोरी भएको छ’, उहाँले भन्नु भयो ।


साबिकको बगलेक गाबिसमा रहेको हनुमान हर्टिकल्चरको फर्मको जग्गा खरिदका लागि कार्य समितिको निर्णय भए पनि हलियाका नाममा राजिनामा भएको छैन । जग्गा राजिनामा हुन बाँकी रहदा नै जिल्ला मालपोत कार्यालय डोटीले हनुमान हर्टिकल्चरको नाममा ७४ लाखको चेक काटी सकेको छ ।
हलियालाई हनुमान हर्टिकल्चरको जग्गा अस्वीकार गर्दा पुनःस्थापना पनि नहुने र अर्को पटक ढिलोगरी पुनःस्थापना पर्ने चिन्ताले छाएको मुक्त हलिया धनबहादुर बिकले बताउनु भयो । बिकले भन्नुभयो, ‘हामीलाई अप्ठयारो ठाउँमा ल्याएर फसाईयो, समितिको निर्णय मानौं पुरानै जिन्दगी बित्ने भयो नमानौं भने हाम्रो नाममा आउन लागेको रकम फ्रिज हुन्छ ।’ काम सम्पन्न भए मात्र भुक्तानी दिनु पर्ने भए पनि कार्य सम्पन्न नहुँदै फर्मको नाममा चेक काटिनुले अर्को शंका उत्पन्न गरेको छ । विकले ७४ लाखमा ठुलो चलखेल भईरहेको बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.