कसैलाई खुशी बनाउन संविधान संशोधन हुँदैनः गौतम
नेपालगञ्ज: नेकपा (एमाले)का कावा अध्यक्ष बामदेव गौतमले कसैलाई खुशी बनाउन मात्रै आफ्नो दल संविधान संशोधनको कार्यसूचीमा सहभागी नहुने बताएका छन्।
प्रदेश नं ५ अन्तर्गतका जिल्लाबाट स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट विजयी जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराई र पहाडबीच फाटो ल्याउने योजनालाई जनताले निर्वाचनमार्फत असफल बनाए।
'कसैलाई खुशी बनाउन संविधान संशोधन हुन सक्दैन, किन र केका लागि संशोधन गर्ने हो औचित्य पुष्टि नै नभएको संशोधनको खेलमा आफ्नो दलको कुनै सहमति हुन सक्दैन', उनको भनाइ छ।
बुधबारसम्म सञ्चालन हुने सो अभिमुखीकरणमा सहभागीलाई सो दलका नेता विष्णु पौडेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र गोकर्ण विष्टले प्रशिक्षण दिने जनाइएको छ। रासस