हाकिमलाई प्रचण्ड र विप्लवका कार्यकर्ताको मोसो
डोटी : मुक्त हलिया पुनःस्थापनाको रकममा कमिसन खान खोजेको भन्दै जिल्ला मालपोत कार्यालय डोटीका कार्यालय प्रमुख सुनिल सागर जोशीलाई कालो मोसो दलिएको छ ।
माओवादी केन्द्र र बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले संयुक्त रुपमा कालो मोसो दलेका हुन् । माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिबालय सदस्य डबल सिँह र नेकपाको राष्ट्रिय युवा जन स्वयंसेवक जिल्ला सह ईन्चार्ज मोहन कठायतको नेतृत्वमा गएको समूहले जोशीलाई कालो मोसो दलेको हो ।
कार्यालयको गेटमा ताला लगाएर परिसरमा धर्नामा बसेका मुक्त हलियाहरुसंग कुरा गरिरहेको बेलामा एक्कासी आएर ‘कुरा गर्नुछ’ भन्दै कालो मोसो दलेका थिए ।
‘हलियाहरुको नाममा आएको रकममा लाखौंको कमिसनको खेल गर्न थालेको र कमिसन खान नपाएपछि रकम फ्रिज गर्न खोजिएकोले कालो मोसो दलिएको हो’, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य सिंहले भने, ‘हाकिम र केही अरु व्यक्तिका कारण फ्रिज हुने निश्चित भएकोले हामीले बाध्य भएर यस्तो गर्नु परेको हो ।’