रवीन्द्र मिश्र ‘विवेकशील साझा पार्टी’को संयोजक
काठमाडौं : लामो प्रयासपछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता हुने भएको छ। पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ। दुवै पार्टीका १७-१७ केन्द्रीय सदस्य चयन गरी ३४ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति भएको छ।
‘साझा पार्टी गठन हुनु अघिदेखि नै एकताको प्रयास भएको थियो, निर्वाचनअघि एकताको प्रयास असफल भए पनि अहिले एकताका विषयमा सहमति जुटेको छ’, साझा पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘पार्टी नेतृत्वका विषयमा कुनै विवाद छैन। सामुहिक नेतृत्वमा जाने विषयमा छलफल भएको भए पनि अन्तिममा रवीन्द्रजीको नेतृत्वमा सहमति जुटेको छ।’
नागरिक समाज र बौद्धिक वर्गको आग्रहकै आधारमा विचार मिल्ने पार्टीबीच एकता हुन लागेको साझा पार्टीका प्रवक्ता डा. सूर्य आचार्यले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।
‘दुई पार्टीबीच राजनीतिक दृष्टिकोण, वैकल्पिक राजनीतिक सोच मिल्ने भएकाले यसलाई नयाँ पार्टी मात्र नभएर साच्चिकै संस्कारसहितको भरोसालाग्दो पार्टी बनाउने लक्ष्यसहित एकताको निर्णय गरेका हौँ’, साझा पार्टीका प्रवक्ता आचार्यले भने, ‘बौद्धिकवर्ग, नागरिक समाजका अगुवा र आम सर्वसाधारणको चाहना अनुसार भोलि पार्टी एकताको घोषणा गर्दै छौँ।’
परम्परागत पार्टीभित्र एकता र फुटको संस्कार नेपालका लागि नयाँ होइन। पछिल्ला दिनमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएका पार्टीको एकतालाई महत्वका साथ हेरिएको छ। विवेकशील र साझा पार्टीको एकता छलफलमा प्राविधिक समस्या देखिए पनि सहजै सहमति जुटेको प्रवक्ता आचार्यको दाबी छ। ‘परम्परागत दलमा एकता हुने र फुट्ने कुरा हामी देख्दै आएका छौँ, हामीले त्यो जटिलता फेस गरेनौँ’, प्रवक्ता आचार्यले भने, ‘प्राविधिक समस्या आए पनि हामी व्यक्तिगत स्वार्थ र इगो भन्दा पनि मुलुकको दीर्घकालीन आवश्यकतालाई मससुस गरेर एकताको घोषणा गर्ने बिन्दुमा पुगेका छौँ।’
उज्ज्वल थापा नेतृत्वको विवेकशील पार्टी थापाकै घरमा कार्यालय खोलेर एक दशकयता राजनीतिमा सक्रिय छ। उनको पार्टीमा युवा पुस्ताको आकर्षण देखिन्छ। यता, बीबीसी नेपाली सेवाको आकर्षक जागिर जोडेर पत्रकार मिश्र ललितपुरको बखुन्डोलमा एउटा घर मासिक १ लाख भाडामा लिएर राजनीतिमा होमिएका छन्।
जेठ ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा २१ वर्षीय युवती रञ्जु दर्शनालाई मेयर पदमा उम्मेदवार बनाएर विवेकशील दलले लोकप्रिय मत पाएको थियो। साझा पार्टीका तर्फबाट काठमाडौंको मेयर पदका उम्मेदवार बनेका पूर्व सचिव किशोर थापाले समेत लोकप्रिय मत पाएका थिए। यो मतसँगै विवेकशील र साझा पार्टीको चर्चा चुलिएको थियो।
काठमाडौंमा आकर्षक मत पाए पनि विवेकशील र साझा पार्टीले दोस्रो चरणको निर्वाचनमा भने कुनै पनि स्थानीय तहमा आकर्षक मत पाएनन्। यद्यपी आम सर्वसाधारण, बौद्धिकवर्ग र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले लामो समयदेखि पार्टी एकताका लागि दबाब दिइराखेका थिए। पार्टी सञ्चालन र संगठन सम्बन्धी थप निर्णय भने एकतापछिको केन्द्रीय समितिको बैठकले गर्ने बताइएको छ।
पार्टी एकताको घोषणा बुधबार दिउँसो १ : ३० बजे नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा हुँदैछ। साझा पार्टीका प्रवक्ता आचार्य र विवेकशील पार्टीका प्रवक्ता रमेश पौडेलले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै बुधबार नयाँ बानेश्वरमा पार्टी घोषणा हुने जानकारी गराएका छन्।