प्रधानसेनापति क्षेत्री र आसाम राइफल्सका निर्देशकबीच दोक्लाम तनावमाथि छलफल
काठमाडौं : प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाल भ्रमणमा रहेका भारतीय आसाम राइफल्सका निर्देशक लेफ्टिनेन्ट जनरल सोकिन चौहानसँग भेट गरेका छन्।
जंगी अड्डामा मंगलबार भएको भेटका क्रममा प्रधानसेनापति क्षेत्री र जनरल चौहानबीच आपसी हित र समसामयिक विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपाली सेनाको निमन्त्रणामा सोमबार नेपाल आएका जनरल चौहान शनिबार स्वदेश फर्कने छन् ।
प्रधानसेनापति क्षेत्री र जनरल चौहानबीच नेपालको पछिल्लो राजनीतिक अवस्था र पछिल्लो समयमा भारत चीन सम्बन्धमा आएको तनावका विषयमा समेत छलफल भएको सैनिक स्रोतले बताएको छ।
स्रोतका अनुसार क्षेत्री र चौहानबीच दोक्लाममा देखिएको तनावका बारेमा पनि छलफल भएको थियो।
नेपाल स्थित भारतीय दूतावासमा विगतमा सैनिक सहचारीको रुपमा काम गरिसकेका जनरल चौहान नेपालको सुरक्षा एवं राजनीतिक अवस्थाबारे जानकार मानिन्छन्।
सैनिक प्रवक्ता झंकर बहादुर कडायतले जनरल चौहनको सद्भावना भ्रमण मात्र भएको र अन्य विषयमा छलफल नभएको बताए।