११ जना जुवाडे ६ लाख नगदसहित पक्राउ
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले सदरमुकाम महेन्द्रनगर बजारबाटै ११ जना जुवाडेलाई नगद सहित पक्राउ गरेको छ।
मंगलबार दिउँसो छापा मारेर प्रहरीले जुवाका खालबाट करिब ६ लाख रकम सहित एघार जनालाई पक्राउ गरेको हो। भीमदत्त नगरपालिका ४ स्थित गल्ली नम्बर ५ मा रहेको चन्द्रा देवी रावलको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगद सहित उनीहरुलाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक हिरेन्द्र बहादुर रोकायाको कमान्डमा खटिएको प्रहरीको टोलीले जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा डम्बर गिरी, कैलाश धामी, पंकज विष्ट, बिकास पाण्डेय, लोकेन्द्र सावद, शिवदत्त भट्ट, राजेन्द्र भण्डारी, बालकृष्ण भट्ट, दामोदर भट्ट, दिपक मगर र दिपक जोशीलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट नगद ५ लाख ९४ हजार ३ सय २० रुपैया समेत बरामद भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।