बच्चा जन्माउन नसकेर गैंडाको मृत्यु
रत्ननगरः चितवन राष्ट्रिय निकुञ्जमा केटो (बच्चा) जन्माउन नसकेर गैँडाको मृत्यु भएको छ। करिब पाँच वर्षको गैँडा यसरी मृत्यु भएको पाइएको निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा कमल गैरेले मंगलबार जानकारी दिए।
“निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत डुमरिया र दुधौरा पोष्टको बीचमा शुक्रबार गैँडा मरेको भेटियो”, गैरेले भने, “केटो पेटभित्रै मरेको पाइयो।” निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार बच्चा ठूलो भएकाले जन्माउन नसकेको हो। उहाँले यो उसको पहिलो बच्चा भएको दाबी गर्नुभयो। शव परीक्षण गरेर मरेको भाले केटोलाई निकालिइएको हो।
यसअघि गएको पुस ५ गते पनि यसैगरी बच्चा जन्माउन नसकेर एउटा गैँडाको मृत्यु भएको छ। चितवन निकुञ्जका अनुसार गएको एक वर्षमा विभिन्न कारणले २५ गैँडा मरेको छ। २१ वटा प्राकृतिक कारणले मरेको हो । दुईवटा गैँडा तस्करको गोलीबाट मारिएको थियो भने दुईवटा गैँडा करेन्ट लागेर मरेको थियो।
पछिल्लो गणनामा चितवन निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा ६०५ वटा रहेको तथ्याङ्क छ। उक्त गैँडामध्ये एक दर्जन जति शुक्लाफाँटा र बर्दियामा पठाइएको छ। रासस