ठेकेदार भागेपछि ४५ दिनमा पुल तयार
भक्तपुर : ठेकेदार भागेपछि स्थानीय उद्योगी व्यवसायी र समुदायले ४५ दिनमा पक्की पुल निर्माण पूरा गरेका छन्। उनीहरुले भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका जोड्ने गोंस खोलामा सात मिटर चौडा र १०.६० मिटर लामो पुल ४५ दिनमा निर्माण पूरा गरेका हुन्।
भण्डारा थुतुङ एण्ड श्याम बाबु जेभी निर्माण कम्पनीले १८ महिना अघि उक्त पुल निर्माण गर्ने ठेक्का हात पारेको थियो। सम्झौताअनुसार म्यादभित्र पुल निर्माण नगरेपछि ठेकेदार कम्पनीलाई आठ लाख ६१ हजार ९ सय २८ रुपैयाँ जरिवाना तोेकिएको थियो।
तर ठेकेदार कम्पनी पहिलो किस्तावापतको १२ लाख रुपैयाँ हात पारेर जरिवानासमेत नतिरी भागेपछि स्थानीय उद्योगी व्यवसायी र समुदायले जरिवाना रकमसमेत तिरेर पुल निर्माण पूरा गरेका छन्। पुरानो पुल जीर्ण भएर कुनै पनि समय भत्कने स्थितिमा पुगेपछि तत्कालीन जिल्ला विकास समितिमार्फत ठेकेदार कम्पनीले भ्याटसहित एक करोड २४ लाख एक हजार आठ सय ३३ रुपैयाँमा ठेक्का पाएको हो।
तर पहिलो किस्तावापतको १२ लाख रुपैयाँ हात पारेर उक्त कम्पनीले १६ महिनासम्म काम नगरेपछि स्थानीय उद्योगी व्यवसायी तथा समुदाय मिलेर ४५ दिनमा पुल निर्माण पूरा गरिएको हो।
ठेकेदार कम्पनीले काम नगरेपछि स्थानीय उद्योगी व्यवसायी तथा समुदायले पटकपटक जिल्ला विकास समितिमा गएर ध्यानाकर्षण गरेका थिए। उनीहरुले ठेकेदार कम्पनीलाई समेत पटकपटक पुल निर्माण कार्य अघि बढाउन ताकेता गर्दा पनि सुनुवाइ नभएको स्थानीय इँटा उद्योग व्यवसायी कृष्णप्रसाद कोजूले बताए।
‘ठेकेदार कम्पनीले पुल निर्माण कार्य अघि नबढाएपछि हामी पटकपटक जिल्ला विकास समितिमा ध्यानाकर्षण गर्न गयौं’, उनले भने, ‘त्यस्तै ठेकेदार कम्पनीलाई पनि धेरैपटक ताकेता ग¥यौं तर दुवैतर्फबाट कुनै सुनुवाइ भएन। पुल निर्माण सम्झौताको १८ महिना पूरा हुँदा पनि पुल निर्माणको कुनै काम भएन।’
जिल्ला विकास समितिका प्राविधिकहरुले उक्त पुल निर्माण गर्न एक करोड ४० लाख रुपैयाँ लाग्ने लगत इस्टिमेट तयार गरेको थियो। तर ठेकेदार कम्पनीले समितिका प्राविधिकहरुको इस्टिमेटभन्दा करिब १६ लाख तल झेरर ठेक्का हात पारेको थियो। त्यस्तै सम्झौताबमोजिम पुल निर्माण पूरा नभएको भन्दै ठेकेदार कम्पनीलाई जिल्ला विकास समितिले आठ लाख ६१ हजार ९ सय २८ रुपैयाँ जरिवाना तोकिएको थियो।
तैपनि पुल निर्माण कार्य हुन सकेन। जसले गर्दा भक्तपुरबाट चाँगुनारायण नगरपालिका ८ साविक सुडाल गाविस जाने सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको थियो।
ठेकेदार कम्पनीले पुरानो पुल भत्काएपछि डाइभर्सनको रुपमा कच्ची पुल बनाएपछि खोलामा आएको बाढीले धेरैपटक बगाएको थियो। जसले गर्दा उक्त पुल भएर आवतजावत गर्ने सवारीसाधन तथा सर्वसाधारणले धेरै सास्ती भोग्नुपरेको थियो।
स्थानीयलाई आवातजावतमा धेरै समस्या भएपछि स्थानीय उद्योगी व्यवसायी र समुदाय मिलेर ठेकेदार कम्पनीले तिर्नुपर्ने जरिवाना रकमसमेत व्यहोरेर ४५ दिनमा पुन निर्माण कार्य पूरा गरेरै छाडेको साविक सुडाल गाविसका पूर्वअध्यक्ष रामकुमार बुढाथोकीले बताए।
उनले ठेकेदार कम्पनीले एक करोड २४ लाख रुपैयाँ निर्माण गर्न नसकेको उक्त पुल आफूहरुले करिब ९० लाख रुपैयाँ निर्माण पूरा गरेको जानकारी दिए।
जिल्ला समन्वय समितिका इञ्जिनियर सरिता उपाध्यायले स्थानीय उद्योगी व्यवसायी र समुदायले बनाए पनि पुलको गुणस्तरमा कुनै कमी र त्रुटि नभएको बताइन्।
उनले ठेकेदारबाट भन्दा स्थानीय उपभोक्ताबाट विकास निर्माण गरिँदा छिटो र गुणस्तरीय बन्ने गोंस पुल एउटा उदाहरण र नमुना भएको दावी गरिन्।
‘सम्पूर्ण उपकरण र जनशक्ति भएको ठेकेदार कम्पनीले १८ महिनामा बनाउन नसकेको पुल स्थानीयले ४५ दिनमा निर्माण पुरा गर्नु साँच्चै्र नमुनायोग्य र उदाहरणीय कार्य हो’, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी ध्रुवप्रसाद अधिकारीले भने, ‘यस पुल निर्माण कार्यले स्थानीय उपभोक्तामार्फत विकास निर्माण गर्न उत्साहित गरेको छ।’
यसैबीच मंगलबार एक कार्यक्रमबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छेले उक्त पुलको उद्घाटन गरेका छन्।
उनले ठेक्का हात पारेर भाग्ने ठेकेदार कम्पनीलाई जेल हाल्ने कानुन नबनेसम्म यस्ता घटना दोहोरिरहने बताए।
‘सडक, पुलपुलेसा, ढललगायतको ठेक्का हात पारेर काम पूरा नगर्ने ठेकेदार कम्पनीलाई जेल हाल्ने कानुन नल्याएसम्म समयमै कुनै काम हुनेछैन’, अध्यक्ष बिजुक्छेले भने, ‘अधुरा छोडिएको विकास निर्माणको कारण कसैको ज्यान गए त्यसको दोषी ठेकेदार कम्पनी हुने कानुन बनाउनुपर्छ। विदेशमा यस्ता कानुन बनेका छन्।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले ठेक्का प्राप्त गरेर काम नगरेको कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्न जिल्ला समन्वय समितिलाई निर्देशन दिए। मंगलबार नै उक्त पुलको सञ्चालन तथा संरक्षण गर्ने दायित्व भक्तपुर र चाँगुनारायण नगरपालिकालाई हस्तान्तरण गरिएको छ।