सशस्त्रमा एआईजी थप्ने गृहकार्य

सशस्त्रमा  एआईजी थप्ने गृहकार्य

काठमाडौं : गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा एआईजी दरबन्दी थप गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीमा एआईजीलाई प्रदेश प्रमुखका रूपमा खटाउन लागिएसँगै सशस्त्र प्रहरीमा पनि दरबन्दी थप गर्ने तयारी भएको हो ।गृहमन्त्री जनार्दन शर्मा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एआईजीको संख्या बढाउन सकारात्मक संकेत दिएपछि सशस्त्र प्रहरी मुख्यालयले त्यसको प्राविधिक तथा प्रशासनिक कार्य अघि बढाएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलगायत उच्च अधिकारीले प्रादेशिक संरचनाबमोजिम एआईजी दरबन्दी थप्न लबिङ गरेका थिए । नेपाली सेनाले पनि दुई प्रदेशमा पृतना थप गरिसकेको छ । यद्यपि, नेपाल प्रहरीमा हचुवाका भरमा एआईजी दरबन्दी थपेको भन्दै गृहमन्त्री शर्माको चर्को आलोचना भएको थियो ।

सशस्त्र प्रहरीमा एआईजी दरबन्दी कति थप्ने टुंगो भने लागिसकेको छैन । यद्यपि, एआईजी दरबन्दी ६ बाट बढाएर कम्तीमा १० पुर्‍याउने तयारी भइरहेको स्रोतले जनाएको छ । नियमावली संशोधन गर्ने विषयमा सशस्त्र प्रहरीका एआईजी र डीआईजीहरूबीच विवाद भए पनि दरबन्दी थप गर्ने विषयमा भने सबै एकमत देखिएका छन् ।

गृहका प्रवक्ता दीपक काफ्लेले सशस्त्र प्रहरीमा एआईजी दरबन्दी थप गर्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए । 'मुलुक संघीय संरचनामा गइसकेकाले सबै प्रहरी संगठनको पुनःसंरचना आवश्यक पर्छ, गृहमन्त्रीज्यूको मार्गचित्रमा पनि यो विषय उल्लेख छ', प्रवक्ता काफ्लेले अन्नपूर्णसँग भने, 'कुन संगठनलाई के-कति दरबन्दी आवश्यक पर्छ ? त्यसको अध्ययन भइरहेको छ ।'

मन्त्री शर्माले आइतबार नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालसहित डीआईजीहरूलाई बोलाएर संघीय कानुन, प्रहरीको केन्द्रीय तथा प्रादेशिक संरचनाका विषयमा छलफल गरेका थिए । उनले संघीयतामा सशस्त्र प्रहरीको संरचना कस्तो हुने भन्ने विषयमा सशस्त्र नेतृत्वसँग छलफल भने गरेका छैनन् । यद्यपि, प्रहरीमा दरबन्दी थपिएसँगै उसले पनि त्यसका लागि लबिङ गर्दै आएको जनाइएको छ ।

सशस्त्र प्रहरी अर्धसैनिक बल (प्यारामिलिटरी फोर्स) भएकाले उसलाई प्रहरीको शैलीमा दरबन्दी आवश्यक पर्छ कि पर्दैन भन्नेबारे छलफल भइरहेको गृह स्रोतले जनाएको छ । प्रहरीकै संचरनाअनुरूप प्रदेशमा एआईजी खटाउने तयारीस्वरूप दरबन्दी थप्ने प्रक्रिया अघि बढाए पनि सशस्त्रको नेपाली सेनाको मोडलमा 'कमान्ड सिस्टम' हुने स्रोतले जनाएको छ । सशस्त्रमा हाल प्रकाश ओझा, प्रेम शाही, शैलेन्द्र खनाल, पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेल गरी ६ एआईजी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.