नेपालको छनोटमा अफगानिस्तान तगारो
काठमाडौं : समूहगत चरणको अन्तिम खेलमा अफगानिस्तानसँग ९६ रनले पराजित भएपछि अर्काे वर्ष न्युजिल्यान्डमा हुने यू–१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै बनेको छ । एसियाली क्षेत्रको छनोट अन्तर्गत सिंगापुरमा मंगलबार सम्पन्न प्रतियोगितामा विश्वकप छनोटका लागि नेपालले अफगानिस्तानलाई ठूलोअन्तरले हराउनुपर्ने बाध्यता थियो । झिनो गणितीय आशाका साथ अफगानिस्तानविरुद्ध उत्रिएको नेपाली टोलीको ब्याटिङ राम्रो बन्न सकेन । नेपाल दोहोरो राउन्ड रोबिन लिगअन्तर्गत अफगानिस्तानविरुद्धको पहिलो खेलमा पनि एक सय ४१ रनको भारीअन्तरले पराजित भएको थियो ।
छनोट खेलमा शतप्रतिशत नतिजा निकालेको अफगानिस्तानले सन् २०१८ मा आयोजना हुने विश्वकपको ढोका खोलेको छ । प्रतियोगितामा सहभागी अन्य दुई टोली सिंगापुर र मलेसिया पनि नेपालभन्दा पछि रहे । राउन्ड रोबिन लिगको दुवै खेलमा नेपालले यी दुई टोलीलाई पराजित गरेको थियो ।
बलिङमा सशक्त प्रदर्शन गरेको नेपालको प्रतियोगिता अवधिभर ब्याटिङमा भने प्रदर्शन निक्कै फितलो रह्यो । नेपालका लागि प्रतियोगिताको दौरान एक खेलाडीले मात्र अर्धशतक पूरा गरे । दीपेन्द्रसिंह ऐरीले सिंगापुरविरुद्ध गत शुक्रबार भएको खेलमा ५४ रन बनाउनबाहेक अन्य कुनै पनि खेलाडीले त्योभन्दा माथिको रन बनाउन सकेनन् ।
मंगलबारको खेलमा अफगानिस्तानविरुद्ध एक सय ९६ रनको विजयलक्ष्य पछ्याएको नेपाल ४०.६ ओभरमा सबै विकेट गुमाएर ९९ रनमा समेटिएको थियो । आजको खेलमा पनि दीपेन्द्रले ४८ रन बनाए । अन्य ब्याट्सम्यानले आकर्षक खेल पस्कन सकेनन् । व्यक्तिगत ६ रनमा ओपनर सन्दीप सुनारलाई गुमाएको नेपालले ३४ रनको योगफलमा महत्वपूर्ण अन्य पाँच विकेट गुमाएको थियो । दीपेन्द्र र पवन सर्राफले छैटौं विकेटका लागि सन्तोषजनक साझेदारी गरे पनि उक्त जोडी धेरै समय क्रिजमा टिक्न सकेन । ८५ रनको योगफल पु¥याउँदै पवन र दीपेन्द्रलाई गुमाएपछि नेपालले हारको छनक देखाएको थियो । यसैगरी आसिफ शेख दुई, अनिल शाह ६ तथा रोहितकुमार पौडेल र कप्तान सन्दीप लामिछाने दुई/दुई रन जोड्दै आउट भए ।
यसअघि अफगानिस्तानले ४६.५ ओभरका सवै विकेट गुमाएर एक सय ९५ रन बनाएको थियो । अफगानिस्तानका लागि इब्राहिम जद्रानले शतकीय पारी खेले । उनले एक सय एक रन बनाएका थिए । जद्रान ४१ औं ओभरमा दीपेन्द्रको बलमा छैटौं विकेटको रूपमा पेभेलियन फर्केका थिए । इक्रम अल खलीले २४ तथा ओपनर नविद आबेदले २२ रन बनाएका थिए । नेपालका लागि साहब आलमले चार विकेट लिए । दीपेन्द्रले तीन तथा सन्दीप लामिछाने र पवन सर्राफले एक/एक विकेट झारे ।