अझै पाएनन् राष्ट्रिय च्याम्पियनले नागरिकता

अझै पाएनन् राष्ट्रिय च्याम्पियनले नागरिकता

काठमाडौं : पछिल्लो समय बक्सिङका राष्ट्रिय च्याम्पियन सुशील थापामगरको दैनिकी विभिन्न निकाय धाउनमै बित्ने गरेको छ । आमा–बुवाको नागरिकता र ठेगाना नहुँदा नागरिकता पाउनबाट वञ्चित हुँदै आएका सुशीलले विभिन्न निकायमा धाउँदा पनि नागरिकता पाउन सकेका छैनन् । गत चैत १५ गते अन्नपूर्ण पोस्ट्मा सातौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता सुशीलले नागरिकता पाउन नसकेको विषयमा समाचार प्रकाशित भएपछि तत्कालीन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले चासो देखाउँदै उनलाई नागरिकता दिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । तर, सुशीलले पटकपटक विभिन्न निकायमा धाउँदा पनि हालसम्म नागरिकता भने पाउन सकेका छैनन् ।

२०७१ सालमा बुवा बितेपछि नागरिकता पाउने आश गुमाएका सुशीलले गृहमन्त्रीको आश्वासनपछि नागरिकता पाउने आशा गरेका थिए । तर, धेरैपटक सम्बन्धित निकायमा धाउँदा पनि कर्मचारीतन्त्रले सहयोग नगरेपछि आफू निराश बनेको गुनासो सुशीलले गरेका छन् । ‘बुवा छउन्जेल नागरिकता पाउँछु भन्ने आश थियो, बुवा बितेसँगै सबै आशा म¥यो । तात्कालीन गृहमन्त्रीले चासो देखाएपछि नागरिकता पाउँछु कि भन्ने आशा जागेको थियो तर जति कागजपत्र जुटाए पनि जिल्ला प्रशासन कार्यालयका कर्मचारी नागरिकता दिन मिल्दैन भन्छन्’, सुशीलले दुःखी हुँदै भने, ‘मैले त लक्ष्य नै नागरिकता बनाएको छु । जीवनभर यही लक्ष्यमै लागिरहनेछु तर भाइले चाहिँ मैलेजस्तो समस्या बेहोर्नु नपरोस् ।’

नागरिकता पाउनकै लागि आफूले नेपाल बक्सिङ संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, राष्ट्रिय खेलकुद परिषद् र काठमाडौं महानगरपालिका वडा नम्बर १ को सिफारिस र सर्जिमिनपत्रका साथै शैक्षिक योग्यताका प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र तथा विभिन्न प्रतियोगितामा आफूले प्राप्त गरेका पदकको प्रमाणपत्र पनि जिल्ला प्रशासन कार्यालयमा बुझाएको पनि सुशीलले बताए ।

सुशीलले नागरिकताका लागि गत चैतदेखि सार्वजनिक बिदाको दिनबाहेक हरेक दिनजसो जिल्ला प्रशासन कार्यालय धाउने गरेको बताए । ‘चैतदेखि हरेक दिनजसो नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय धाउँदै आएको छु । पहिले जिल्ला प्रशासनका कर्मचारीले स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको सिफारिसपछि नागरिकता दिन सकिने बताएका थिए । अहिले वडाको सिफारिस र सर्जिमिन लिएर जाँदासमेत यसरी पनि नागकिता पाइन्छ भनेर उल्टै हप्काउँछन्’, बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा भेटिएका सुशीलले भने । उनले तीन पुस्तामध्ये कसैको नागरिकता हुनुपर्ने जिकिर जिल्ला प्रशासन कार्यालयका कर्मचारीले गर्ने गरेको बताए ।

नागरिकता नभएकै कारण तीन ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट वञ्चित बनेका सुशीलले यसबीचमा कानुन व्यवसायीसँग पनि सल्लाह गरेको जानकारी दिए । कानुन व्यवसायीले अदालतबाट विगतमा भएका फैसला र उपलब्ध कागजातका आधारमा नागरिकता पाउनसक्ने जानकारी आफूलाई दिएको पनि उनले बताए । ‘मेरोजस्तै विषयमा अदालतले पहिले पनि नागरिकता दिन फैसला गरेको कुरा वकिलबाट थाहा पाएँ । वकिलले मसँग भएका कागजपत्र हेरेर वंशजकै आधारमा नागरिकता पाउनुपर्ने बताएका छन् । तर, जिल्ला प्रशासन कार्यालयका कर्मचारी भने दिन मिल्दैन भन्दै झर्कने गर्छन्’, सुशीलले भने ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले नेपाली नागरिकले नागरिकता पाउने निश्चित आधारहरू रहेको र त्यो आधारका कागजात सुशीलले जुटाउन नसक्दा नागरिकता पाउन नसकेको बताए । ‘सुशील थापामगर विदेशी हुन् भने अंगीकृत नागरिकताका लागि पहल गर्नु बेस हुन्छ, होइन नेपाली नै हुन् र वंशजको आधारमा नागरिकता लिने हो भने नेपाली भएको प्रमाण जुटाउनुपर्छ’, पन्थीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘सुशीलले आफ्नो बुवा नेपाली हुन् भन्ने प्रमाण पेस गर्न सके नागरिकता पाउन सक्छन् ।’ नेपालमा बसेको, अनुहार र भाषाका आधारमा मात्र सुशीललाई नागरिकता दिन नमिल्ने उनले बताए ।

‘दार्जिलिङ र सिक्किमका बासिन्दाले हामीभन्दा राम्रो नेपाली बोल्छन् । उनीहरूको पनि हाम्रोजस्तै अनुहार छ । खुला सीमा भएका मुलुकमा आवतजावत गर्न, बस्न र पढ्न पाउँछन् । त्यही कारण बाबुको प्रमाण पेस नगरेसम्म नागरिकता पाउन सक्ने अवस्था छैन’, प्रमुख जिल्ला अधिकारी पन्थीले भने । उनले नेपाल सरकार र राष्ट्रप्रमुखले विशेष निर्णय गरेर नागरिकता दिन सकिने अवस्था रहेको बताए । ‘माथिल्लो निकायकोे आदेश अथवा अदालतको निर्देशनबाहेक अन्य विकल्पबाट सुशीललाई नागरिकता दिन सकिने अवस्था छैन’, पन्थीले भने ।

सुशीलले नागरिकता पाउन नसकेको विषयलाई नजिकबाट नियाल्दै आएकी अधिवक्ता सुषमा गौतम भने सर्वोच्च अदालतबाट विगतमा भएको फैसलाको नजिर र उनीसँग भएको कागजपत्रका आधारमा नागरिकता पाउनुपर्ने दाबी गर्छिन् । ‘सुशीलको जस्तै विषयमा सर्वोच्च अदालतबाट पटकपटक फैसला भएको छ । जिल्ला प्रशासनले अदालतको नजिरलाई बेवास्ता गर्दा सुशीलजस्ता धेरै नेपाली नागरिकता पाउनबाट वञ्चित हुन परेको छ’, गौतमले भनिन्, ‘जिल्ला प्रशासनले यथेष्ठ ठाउँ हुँदाहुँदै पनि उनलाई सहयोग गरेको छैन ।’

अधिवक्ता गौतमले सम्बन्धित निकायबाट सहयोग नपाएपछि कानुनी आधारमा सुशीलसँग एउटैमात्र विकल्प रहेको बताइन् । तर, त्यो अन्तिम विकल्प आफ्नो पक्षमा नआए सुशीलले कहिल्यै नागरिकता पाउन नसक्ने जानकारी पनि उनले दिइन् । ‘कानुनी आधारमा सुशीलसँग अब एउटैमात्र विकल्प छ, नागरिकता माग गर्दै अदालतमा मुद्दा दायर गर्ने । तर, फैसला उनको पक्षमा आउँछ भन्ने पनि छैन र समय पनि कति लाग्छ भन्ने यकिन हुँदैन’, गौतम भन्छिन् ।

लामो समयदेखि राजधानीको नक्सालमा बसोबास गर्दै आएका राष्ट्रिय बक्सिङ खेलाडी सुशीलले बुवाआमाको नागरिकता नहुँदा नागरिकता पाउन सकेका छैनन् । नागरिकताका लागि विभिन्न निकायमा पटकपटक धाउँदा पनि उनले आश्वासनमात्र पाउँदै आएको बताए । सानै उमेरमा काठमाडौं छिरेका सुशीलको आमाबुवाको जन्मस्थान यकिन हुन नसक्दा बुवा शिव र आमा शान्तिले नागरिकता पाउन सकेनन् । बुवाआमाकै नागरिकता नभएपछि सुशील र उनका भाइले पनि नागरिकता पाउन सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.