सौराहाका होटलमा थपिँदै स्विमिङ पुल

सौराहाका होटलमा थपिँदै स्विमिङ पुल

सौराहा : नेपालको तेस्रो पर्यटकीय गन्तव्य सौराहाका होटलमा स्विमिङ पुल राख्ने क्रम बढेको छ। पर्यटकको आकर्षणका लागि व्यवसायीले होटलमा स्विमिङ पुल निर्माण गर्न थालेका छन् । होटलमा आउने पर्यटकले स्विमिङ पुल खोज्न थालेपछि व्यवसायीले होटलको स्तरोन्नति गरेका छन् । गर्मी स्थान भएकाले स्विमिङ गर्ने इच्छा गर्न थालेपछि व्यवसायीले होटलको सेवालाई परिस्कृत गर्न लागिपरेका हुन्।

ठूला होटल भए पनि अधिकांशमा स्विमिङ पुल थिएन। यसको अभावमा पर्यटकको संख्या कम हुन थालेको व्यवसायी बताउँछन् । अहिले एकपछि अर्को गरेर होटलमा स्विमिङ पुल राख्ने क्रम बढेको छ। ‘होटलमा आउने पाहुनाले सुरुमै स्विमिङ पुल छ कि छैन भनेर सोध्न थाले' पार्कल्यान्ड होटलका सञ्चालक अञ्जनकुमार पाण्डेले भने, ‘सबै सुविधा छ तर स्विमिङ पुल नहुँदा असर पर्ने रहेछ ।'

उनले करिब ८० लाख खर्च गरेर बनाएका हुन् । उनका अनुसार विदेशीभन्दा पनि स्वदेशी पर्यटक रमाउन चाहन्छन् । सुविधा विस्तारले होटल चलेको पाण्डेले बताए । क्षेत्रीय होटल संघका तृतीय उपाध्यक्षसमेत रहेका पाण्डेले पर्यटक आगमन बढेको बताए । ठूलो मान्छेका लागि साढे पाँच फिट गहिराइमा एउटा र बालिबालिकाका लागि तीन फिट गहिराइको स्विमिङ पुल बनाएका छन् ।

सन् २००० मा सौराहाका तीन ठूला होटलमा मात्रै स्विमिङ पुल थिए । राइनो रेसिडेन्सी रिसोर्ट, बाघमारा वाइल्ड लाइफ रिसोर्ट र सफारी एडभेन्चर लजले मात्र बनाएका थिए । अहिले करिब दर्जनभन्दा बढी होटलमा स्विमिङ पुल बनाइएको छ । होटल सेन्टर पार्क, सेभेन स्टार, हर्मिटेज, ग्रिन पार्क, जंगल क्राउन, रेन फरेस्ट, जंगल वल्र्ड रिसोर्ट, होटल वाइल्ड लाइफ क्याम्प, ल्यान्ड मार्क होटलले बनाइसकेका छन् भने होटल मोनालिसा, पार्क सफारी र मदर नेचर रिसोर्टले निर्माण गरिरहेको छ ।

‘स्विमिङ पुल हुनु र नहुनुमा धेरै फरक छ, यसैका कारण पर्यटक रमाउँछन्', सेन्टर पार्कका सञ्चालक श्याम महतले भने, ‘पुल बनाएपछि पर्यटक तान्न सजिलो भएको छ ।' स्विमिङ पुल बनाएपछि व्यवसाय फस्टाएको उनले बताए ।

चैतदेखि असारसम्म चितवनमा निकै गर्मी हुने गर्छ । गर्मी रमाउन आउने पर्यटकका लागि लक्ष्य गरेर पौडीको सुविधा थप गरेका छन् । पहिला कम होटलमा भएका कारण वास्ता थिएन, विस्तारै एकपछि अर्को होटलले निर्माण गर्न थालेपछि व्यवसायी सुविधा थप्न लागिपरेका हुन् । ‘पहिला कल र मेल आउने बेलामै स्विमिङ पुलबारे सोध्छन्' होटल मोनालिसाका सञ्चालक केशव खनालले भने, ‘गर्मीमा पौडीमा रमाउने आउँछन्, नहुँदा अन्त जान खोज्ने भएपछि बनाउनु अनिवार्यजस्तै भयो ।'

पर्यटन विभागसँग अनुमति लिएर मात्र स्विमिङ पुल निर्माण गर्न पाइने प्रावधान छ । पाँच फिटभन्दा बढी गहिराइ बनाए सुरक्षाका लागि गार्ड राख्नुपर्ने व्यवस्था छ । स्विमिङ पुल बनाएपछि नगरपालिकामा पनि वार्षिक कर तिर्नुपर्ने नियम छ । अन्य होटलले पनि बनाउने योजना सुरु गरेका छन् । अहिले आवश्यकता भएरै निर्माण गर्न लागेका छन् । केही होटलले पुल बनाएपछि पनि अन्य होटल व्यवसाय प्रभावित हुने डरले स्विमिङ पुल बनाएका छन् । ‘गर्मी ठाउँ भएपछि अनिवार्यजस्तै भएको छ' क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले भने, ‘यसले सौराहाको विशेषता बढाएको छ ।' सौराहामा अहिले ११० वटा होटल सञ्चालनमा छन् ।

जिल्लाको नारायणगढ र मेघौलीमा भने स्विमिङ पुल बनाइएको छ । होटल साराङ स्याङचुरीमा पनि स्विमिङ पुल निर्माण भइरहेको छ । ‘स्विमङ पुल नहुँदा पर्यटकलाई भुल्याउनै सकिँदैन', सञ्चालक सुवोध प्रधानले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.