किन रोकिए प्रहरीका अभियान ?
काठमाडौं : तत्कालीन ट्राफिक प्रहरी प्रमुख डीआईजी प्रकाश अर्याल (हाल प्रहरी प्रमुख)ले सडकमा छाडा प्रयोगकतालाई तह लगाउन भन्दै लेन अनुशासन कारबाही सुरु गरे । उनको कार्यकालभरि उक्त अभियान तीव्र गतिमा अघि बढ्यो ।अर्याल आईजीपी भएपछि डीआईजी मिङ्मार लामा ट्राफिक प्रहरी प्रमुखमा आए । उनले सुरुका दिनमा उक्त अभियानलाई साथ दिए पनि अहिले त्यो निष्प्रभावी बन्दै गएको छ । गृहमन्त्री जनार्दश शर्मालाई ट्राफिकको भत्ता कटौती गर्न सिफारिस गरेका लामाले मातहतका तल्लो दर्जामा भत्ता कटौतीको औचित्य पुष्टि गर्न नसक्दा अहिले ट्राफिक कारबाही घटेको छ ।
'किन भत्ता कटौती गर्न खोजिएको भन्नेबारे तल्लो तहसम्म आश्वस्त पार्न नसकेपछि फिल्डमा उत्रिने जुनियर प्रहरी अहिले मन लगाएर काम गर्न छाडेका छन्', महाशाखाका एक अधिकृतले अन्नपूर्णसँग भने, 'हाकिम हिरो हुन खोज्दा ट्राफिक व्यवस्थापनमा असहज बनेको छ ।'
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का तत्कालीन प्रमुख डीआईजी हेमन्त मल्ल ठकुरीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डा. उपाधि पाएकाहरूमाथि कारबाही गर्न 'अपरेसन क्वाक' चलाए । त्यसैको निरन्तरतास्वरूप हालका सीआईबी प्रमुख डीआईजी नवराज सिलवालले पनि केही समय अभियान चलाए । दुई दर्जनभन्दा बढी चिकित्सक पक्राउ गरेर उनीहरूमाथि मुद्दा चलाइए पनि अधिकांश धरौटीमा छुटिसके । गत फागुनदेखि नक्कली डाक्टर पक्राउ परेका छैनन् । सीआईबीले नक्कली पाइलटसमेत पक्राउ गरेको थियो । दुवै अभियानमा नयाँ कारबाही शून्यजस्तै छ।
दुई दर्जनभन्दा बढी चिकित्सक पक्राउ गरेर उनीहरूमाथि मुद्दा चलाइए पनि अधिकांश धरौटीमा छुटिसकेका छन् ।
महानगरीय प्रहरी परिसर टेकुले एक वर्षअघि कालोबजारीविरुद्ध कारबाहीलाई तीव्र पारेको थियो । धारा तेलले मूल्यवृद्धि उच्च पारेपछि दुगड र औषधि कम्पनीविरुद्ध कारबाही चलाएको प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुगडलाई मुद्दा नचलाउन दबाब दिए पनि अरोपीविरुद्ध अदालतमा मुद्दा चल्यो र अहिले केही पुर्पक्षमा छन् । तर, अहिले कालोबजारीविरुद्ध प्रहरीको कुनै कारबाही अघि बढेको देखिँदैन ।
एक वर्षअघि पेट्रोलियम पदार्थमा हुने ठगीबारे महानगरीय अपराध महाशाखाले दर्जनौं पेट्रोल पम्पविरुद्ध ठगीको मुद्दा नै चलाएको थियो । पम्पमा विभिन्न डिभाइस जोडेर पम्प सञ्चालकले गर्दै आएको ठगीको पर्दाफास भएको थियो । अहिले कारबाहीमा परेका सबै पम्प सञ्चालन गरेर आरामपूर्वक बसिरहेका छन् ।
चालकले लेन अनुशासन पालना गरेकै हुन् त ? पम्प सञ्चालकले ठगी गर्न छाडेकै हुन् त ? अनि कालोबजारी पूर्ण नियन्त्रणमा आएकै हो ? यी र यस्ता प्रश्न अहिले सबै पक्षबाट उब्जिएका छन् । बुधबार मात्रै महाशाखा प्रमुखमा हाजिर भएका एसएसपी सर्वेन्द्र खनालले लेन अनुशासन मात्रै नभएर उपत्यकाभित्रको अस्तव्यस्त ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने बताएका छन् । 'एक त सडकमा अहिले अधिकांश स्थानमा लेन छैनन्, सडकमा हुनुपर्ने न्यूनतम पूर्वाधारसमेत यहाँ छैनन्, यी सबै चुनौती हुँदाहुँदै पनि ट्राफिक व्यवस्थापन गर्न म लागिपर्छु', उनले भने ।
सीआईबीका एसएसपी शेरबहादुर बस्नेतले नक्कली चिकित्सक पक्राउ गर्ने अपरेसन अहिले रोकिएको स्वीकारे । 'पहिला पक्राउ परेकाहरू केही थुनामा छन्, केहीमाथि अनुसन्धान चलिरहेको छ, अब पुनः त्यस्ताको खोजीमा सीआईबी लाग्छ', उनले भने ।