सरकारले विद्यार्थीलार्इ दिएको खाजा व्यवस्थापन समितिले बेच्यो
बैतडी : विद्यार्थीहरुलाई विद्यालयमा आकर्षण गराउनका लागि सरकारले सञ्चालन गर्दै आएको दिवाखाजाका सामाग्री खाजा व्यवस्थापन समितिका पदाधिकारीहरुको मिलेमतोमा विक्रि गरेको पाइएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नं ९ विशालपुरमा रहेको शिव आधारभूत विद्यालयले विद्यार्थीको दिवा खाजका लागि उपलब्ध गराएको पीठो, तेल र चिनी विक्रि गरेको हो ।
इलाका प्रहरी कार्यालय मेलौली, मेलौली नगरकार्यपालिका र वडा अध्यक्ष लगायतको अनुगमन टोलीले विद्यालयमा अनुगमन गर्दा विद्यार्थीका लागि आएको दिवा खाजाको सामग्री विक्रि वितरण गरेको भेटिएको मेलौली नगर कार्यपालिकाका सदस्य सुरत पार्कीले बताए । उनले भने ‘हामीले अनुगमन गर्दा विद्यालयमा विद्यार्थीहरुका लागि आएको १३ बोरा पिठो मध्ये ९ बोरा पिठो, ९ कार्टुन तेल र २४ केजी चिनी बेचिएको पाइयो, ९ हजार १२० रुपैया बराबरको दिवा खाजा विक्रि गरेको पाइयो । हामीले यस बिषयमा थप छलफल गर्ने भनेका छौं ।’
विद्यालय व्यवस्थापन समितिका एक सदस्य लोकमणी भट्टले खाजा विक्रि गरेको बारेमा इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुगमन गरिएको थियो । अनुगमन टोलीसंग खाजा व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम लुहारले दिवा खाजाको सामग्री बेचेको स्वीकार गरेका छन् ।
अनुगमन टोलीले खाद्यको गोदामको अनुगमन गर्दा ३ बोरा पिठो, २ कार्टुन तेल र थोरै मात्रामा चिनी भेटिएको नगरकार्यपालिका सदस्य पार्कीले बताए । उनले भने ‘ पिठो प्रतिबोरा ४ सय, तेल प्रतिकार्टुन ४ सय र चिनी प्रितिकेजी ८० रुपैयाका दरले विक्रि भएको पाइएको छ । खाजाको सामग्री राख्ने गोदाम पनि अव्यवस्थित रहेको पाइएको छ ।’
अनुगमन टोलीसंग खाजा व्यवस्थापन समितिका अध्यक्ष लुहारले विद्यालय पनि बन्द रहेको र खाजाको पिठो सड्न थालेको मुसाले खान थालेकाले आफूले विक्रि गरेको बताएका छन् । उनले भने ‘नजिकै पानीको मूहान छ । विद्यालयमा खानेपानीको समस्या थियो । पाइप किन्नका लागि विक्रि गरेको हौं । सबैको सल्लाहमा मैले विक्रि गरेको हो ।’
खाजा समितिका अध्यक्ष कृष्णराम लुहारले निर्णय गरेर दिवा खाजा विक्रि गरेको बताएपनि निर्णय भने नदेखाएको नगरकार्यपालिका सदस्य पार्कीले बताए । यो बिषयमा वडा भेलापछि छलफल गर्ने वडा नं ९ का अध्यक्ष नारददत्त भट्टले बताए ।
विद्यालयको दिवा खाजा विक्रि गरेको बारे आफूलाई कुनै जानकारी नभएको र अनुगमन टोली आएपछि मात्रै जानकारी पाएको विद्यालयका प्रधानाध्यापक जयराज ओझाले बताए । उनले भने ‘खाजा व्यवस्थापन समितिले निर्णय गरेर बेचेको रहेछ । मलाई यस बारेमा कुनै जानकारी दिइएन् । पछि मात्रै मैले थाहा पाएको हुँ।’