लोकमानलाई महाअभियोग लगाउनेसहित यी हुन् माओवादीका ६ मन्त्री
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट ६ मन्त्री थपिने भएका छन्। यी हुन् माओवादीका नयाँ मन्त्री :
गिरिराजमणि पोखरेल (स्वास्थ्य) : नेकपा (माओवादी केन्द्र)का सचिव समेत रहिसकेका गिरिराजमणि पोखरेल महोत्तरीबाट निर्वाचित सांसद हुन्। यसअघि पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पोखरेल पार्टी भित्र नारायणकाजी श्रेष्ठ निकट मानिन्छन्। माओवादीको प्रमुख सचेतक समेत रहिसकेका पोखरेल अविवाहित नेता हुन।
आशा खनाल कोइराला (महिला बालबालिका तथा समाजकल्याण) :
नेकपा माओवादी केन्द्रकी नेतृ आशा खनाल कोइराला समानुपातिक सांसद हुन्। सशस्त्र युद्धका बेला पटक पटक जेल र हिरासतमा बिताएकी आशा माओवादी आन्दोलन भित्र सशक्त महिला नेतृका रुपमा चिनिन्छिन्। गोरखा माइती र तनहुँ घर रहेकी आशा पहिलो पटक मन्त्री भएकी हुन्।
सन्तकुमार थारु (पशुपंक्षी): नेकपा माओवादीका नेता सन्तकुमार चौधरी थारु बर्दियाबाट निर्वाचित सांसद हुन्। थारु मुक्ति मोर्चाको नेतृत्व सम्हालिसकेका चौधरी पहिलो पटक मन्त्री भएका हुन्। माओवादी सशस्त्र युद्धमा होमिएका चौधरीले पार्टी भित्र इमान्दार र पार्टी प्रति बफादार नेताको छवी बनाएका छन्।
टेकबहादुर बस्नेत (सामान्य प्रशासन): नेकपा माओवादीका नेता टेकबहादुर बस्नेत सल्यानबाट निर्वाचित सांसद हुन्। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित बस्नेत यसअघि माओवादी संसदीय दलमा प्रमुख सचेतक थिए। पटक पटक मन्त्री बनाउने सूचीमा नाम आउने तर मन्त्री नहुने अवस्था बेहोर्दै आएका बस्नेत पहिलो पटक मन्त्री भएका हुन्।
महेन्द्रबहादुर शाही (ऊर्जा) : दोस्रो संविधानसभा निर्वाचनमा कालिकोटबाट निर्वाचित महेन्द्रबहादुर शाही माओवादी सेनाका लडाकुका एक कमाण्डर हुन्। सात वटा अस्थायी शिविरमा रहेका सात जना कमाण्डर मध्येका एक शाही गृहमन्त्री जनार्दन शर्मा निकट मानिन्छन्। अख्तियार दुरुपयोग अनुन्धान आयोग पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएदेखि शाही चर्चामा आएका हुन्। शाही पहिलो पटक मन्त्री भएका हुन्।
शिवकुमार मण्डल (आपूर्ति) : मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित शिवकुमार मण्डल नेकपा माओवादी केन्द्रका नेता हुन्। झिनो मत अन्तरले दोस्रो संविधानसभा निर्वाचनमा झिनो मत अन्तरले विजयी मण्डललाई मधेसमा आशा गरिएका मध्ये एक युवा नेता हुन्। मण्डल पहिलो पटक मन्त्री भएका हुन्।