भारतीय चिकित्सकले शल्यक्रिया गरेका तीन नेपाली महिलाको मृत्यु
वीरगन्ज : विगत एक महिनाको अवधिमा सीमावर्ती भारतीय बजारका क्लिनिकमा विभिन्न रोगको शल्यक्रिय गराएका पर्साका तीन महिलाको मृत्यु भएको छ।
सीमावर्ती भारतीय बजारमा रहेका झोले चिकित्सकले क्लिनिकमा असुरक्षित शल्यक्रिया गराएका कारण संक्रमण भएर पर्साको धोबिनीकी रामपति देवी, सेढवाकी रेणु चौधरी र पटेर्वा सुगौलीकी चनमतिया देवीको मृत्यु भएको हो।
एक महिना पहिले धोबनी निवासी रामपती देवीले भारतको भिस्वामा रहेको एक निजी क्लिनिकमा पाठेघरकोे शल्यक्रिया गराएकी थिइन्। शल्यक्रिया गराएको एक हप्तामै घाउँमा संक्रमण भएपछि उनको मृत्यु भएको हो।
सँगै दुई साता पहिले सुवर्णपुर गाउँपालिका वडा नम्बर ७ सेढवाका रघुराय चौधरीकी १८ वर्षीया छोरी रेणु चौधरीले पनि भारतीय बजार इनर्वामा रहेको एक निली क्लिनिकमा शल्यकिया गराएको तीन दिन नबित्दै मृत्यु भएको थियो।
‘छोरीलाई बवासिर (पाइल्स) भएको थियो, भारतमा सस्तोमा उपचार हुन्छ भन्ने सुनेपछि इनर्वा बजारमा रहेको डाक्टर अनिल कुमार गुप्ताको क्लिनिकमा लगेर अप्रेसन गराएँ’, रेणुका बुबा रघुरायले भन, ‘तर अप्रेशन गरेर घर ल्याएपछि छोरीका शरीरभरी ठूलठूला फोका निस्किए। फेरि त्यही डाक्टरको क्लिनिकमा लगेँ, डाक्टरले अप्रेशन गरेको घाउँ बिग्रिएकाले अन्तै लैजान सुझाव दिए। छोरीलाई कतै लान नपाइ त्यही दिन छोरीको मृत्यु भयो।’
भारतीय बजार इनर्वामै रहेको डाक्टर अनिल कुमार गुप्ताको निजी क्लिनिकमा पत्थरीको शल्यक्रिया गराएकी पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ सुगौली निवासी ५८ वर्षीया चनमतिया देवीको पनि संक्रमण भएर शल्यक्रिया गराएको एक महिना नबित्दै उनको मृत्यु भएको चनमतीया देवीका आफन्त गोविन्द गुरुले जानकारी दिए। सीमावर्ती भारतीय बजारमा चिकित्सा शास्त्र अर्थात् एमबीबीएसको अध्ययन नै नगरेका सिएमए र अहेबहरुले साइन बोर्डमा नामका अगाडि डाक्टर लेखेर निजी क्लिनिक सन्चालन गर्दै आएका छन्।
उनीहरु झोले डाक्टरका रुपमा पर्साको ग्रामीण भेगमा आएर बिरामीको स्वास्थ्य परीक्षण र उपचार गर्ने गर्छन्। गम्भीर प्रकृतिका रोगीलाइ भने ती दलालले सीमावर्ती भारतीय बजारमा रहेका निजी क्लिनिक र नर्सीङ होममा शल्यक्रियाका लागि पठाउने गरेका छन्।
सीमावर्ती भारतीय बजारमा रहेका नीजी क्लिनिकमा सिएमए र अहेबले पत्थरी, लिकोरीया, पाठेघर, हर्निया, बवासीर, भकन्दर, हाइड्रोसील लगायतका रोगको शल्यक्रिया पनि गर्दै आएका छन्। ती क्लिनिकमा सुरक्षित शल्यकृया कक्ष (अपरेशन थिएटर) नभएका कारण सिएमएले खुल्ला कोठामा खाटमै सुताएर बिरामीको असुरक्षित तरिकाले शल्यक्रिया गर्दै आएका कारण शल्यकृया गरिएका बिरामीको घाउमा संक्रमण भएर मृत्यु हुने गरेको छ।
सरकारी स्वास्थ्यमा दरबन्दी भए्पनि चिकित्सकहरु कार्यरत नभएका कारण पर्साको ग्रामीण भेगका बिरामीहरु उपचारका लागि सीमावर्ती भारतीय बजारमा रहेका चिकित्सकका क्लिनिकमा पुग्न बाध्य छन्।
यसका साथै नेपालमा भन्दा उपचार शुल्क सस्तो भएका कारण पनि भारतसंग सीमा जोडिएका पर्साको गाउँका बिरामी सीमावर्ती भारतीय बजारमा पुग्ने गर्छन्।
पर्साको ग्रामीण भेगमा तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र र ७९ वटा स्वास्थ्य चौकी छन्। प्रत्येक प्राथमिक स्वास्थ्य केन्द्रमा एक एक जना एमबिबिएस डाक्टरको दरबन्दी रहेपनि अहिलेसम्म कुनै पनि प्राथमिक स्वास्थ्य केन्द्रमा डक्टर कार्यरत छैनन्। यस्तै स्वास्थ्य चौकीहरुमा पनि दरबबन्दी अनुसारका स्वास्थ्यकर्मी कार्यरत छैनन्।