जर्मन सहयोगमा भूकम्पले क्षतिग्रस्त ३७ भवन निर्माण
नुवाकोट : दुई बर्षअघि गएको विनासकारी भूकम्पले क्षतिग्रस्त धादिङ र नुवाकोटका ३७ स्वास्थ्य संस्थाको भवन जर्मन सहयोगमा निर्माण गरी सरकारलाई बुझाएको छ। नुवाकोटको बुङताङमा कार्यक्रम गरी जर्मन दूतावासकी कार्यवहाक राजदूत ज्याक्लीन ग्रोथले स्वास्थ्य मन्त्रालयका प्रमुख विषेशज्ञ डा विनोदमान श्रेष्ठलाई भवन हस्तान्तरण गरेकी हुन्।
धादिङका २० स्वास्थ्य चौकी, नुवाकोटमा जिल्ला जनस्वास्थ्य कार्यालय र १६ स्वास्थ्य चौकी गरी १७ स्वास्थ्य संस्थाको भवन निर्माण गरेको छ। भवन निर्माणले ग्रामीण भेगका जनताको स्वास्थ्य सेवामा पहुँच पुगोस भन्ने लक्ष्य लिएको राजदूत ज्याक्लीन ग्रोथले बताइन्। सरकारसँग ३८ मिलियन युरो बजेट खर्च गर्ने गरी सम्झौता गरे मध्ये स्वास्थ्य संस्था निर्माणको काम सम्पन्न गरेर सरकारलाई बुझाएको हो। बाँकी शिक्षा क्षेत्रका कामलाई निरन्तरता दिने बताएको छ।
नेपाली–जर्मनको पुननिर्माण कार्यक्रम जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोग रहेको छ। स्वास्थ्य चौकीको भवन निर्माण गर्न ५० लाख खर्च भएको थियो। प्रिफ्याव्रिकेड्स भवन निर्माण गर्न बिरा फर्निचरले एक भवनका लागि दुई सय दिन खर्चेको थियो।
जिआइजेडले मंगलबार नुवाकोटको सिक्रे, छाप, मनकामना, कल्याणपुर, गेर्खु, बुधंसी, थपबुधंसी थपबुधंसी, मदानपुर, कविलास, लच्याङ, वालकुमारी, सुन्दरादेवि, नर्जामण्डप, राउतवेसी, उर्लेनी र गणेशस्थान स्वास्थ्य चौकी भवन एकै पटक हस्तान्तरण गरेको हो। धादिङ र जिल्ला जनस्वास्थ्य कार्यालय यस अघिनै जिम्मा दिइ सकेको थियो। २०७२ वैसाख १२ गतेको भूकम्पले नुवाकोटमा ३० स्वास्थ्य संस्थाको भवन क्षतिग्रस्त भए भने २० भवनमा आंशिक क्षति पुगेको थियो।
भवन निर्माणसँगै सरकारले तोकेको मापदण्डअनुसार ऊर्जा, पानी आपूर्ती, फोहर व्यवस्थापन, भौतिक पूर्वधारसमेत पूर्ण व्यवस्थापन गरिएको छ। संस्थामा आड्रा नेपालले चिकित्सा उपकरण सहयोग गरेको छ। जर्मन विकास सहयोगले दोलखा, गोरखा, रामेछाप र रसुवा जिल्ला अस्पतालको पुनस्थापनामा केएफडब्लू डेभलपमेन्ट बैँक मार्फत् सहयोग गरी रहेको छ। भूकम्प जोखिम न्युनीकरणका लागि दुई हजार सर्वसाधारणलाई तालिम र जिविकोपार्जनमा सहयोग पुग्ने लक्ष्यले सहयोग गरेको जिआइजेडले जनाएको छ।