कर्णाली राजमार्गको यात्रा अझै जोखिमपूर्ण, स्तरोन्‍नतिमै १७ करोड खर्च

कर्णाली राजमार्गको यात्रा अझै जोखिमपूर्ण, स्तरोन्‍नतिमै १७ करोड खर्च

जुम्ला: कर्णाली राजमार्गको सुर्खेतदेखि गम्गडीसम्मको सय किलोमिटर लामो सडकखण्डमा पहिरोको जोखिम अत्यधिक छ। कुल एक सय ९५ किलोमिटर लामो सडकखण्डका धेरै स्थानमा पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ।

पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा पनि पन्छाउने उपकरण नहुँदा यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यो राजमार्गको ट्र्याक खुलेको दशक बढी भइसकेको छ । तर, हालसम्म पनि यो राजमार्गमा ढुक्कसाथ यात्रा गर्ने बाटो बनेको छैन।

पहिरो गएका बेला जोखिमपूर्ण यात्रा गर्नुपर्ने भए पनि राजमार्ग स्तरोन्नतिका लागि राज्यको ध्यान पुग्न नसकेको कर्णालीवासीको गुनासो छ ।
सडक डिभिजन कार्यालय जुम्लाले प्रत्येक वर्ष दर्जनौं ठाउँमा पहिरो गए पनि पन्छाउने उपकरण नहुँदा समयमै बाटो खुलाउन नसकिएको बताएको छ।

भर्खरै ठूलै पहिरो जाँदा तीन दिनसम्म सडक अवरुद्ध भयो। आइतबार राति परेको अविरल वर्षाका कारण ५ किलोमिटर सडकखण्डमा सात ठाउँमा ठूलै पहिरो गयो। पहिरो पन्छाउने उपकरण अभावका कारण तीन दिनपछि मात्रै राजमार्ग खुलाउन सकिएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख अंगलाल रोकायाले बताए।

‘कालिका गाउँपालिका वडा नम्बर १ को एसमोडदेखि दहीखोलासम्म सात ठाउँमा ठूलो पहिरो गयो,' उनले भने,'हामीसँग स्काभेटर नहुँदा समयमै सडक खुलाउन सकिएन ।'सडक डिभिजन कार्यालय कालिकोट र सुर्खेतबाट आएका दुईवटा स्काभेटरले सोमबारदेखि पहिरो पन्छाउँदा बुधबार दिउँसो मात्रै एकतर्फी रुपमा बाटो खुल्यो।


मृत्युमार्गका नाममा परिचित कर्णाली राजमार्गमा पछिल्ला वर्षमा दुर्घटनामा कमी आए पनि अझै जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य छन्।


पहिरो पन्छाउन सडक विभागका २० जना मजदुर, ८ जना कर्मचारी, दुईवटा स्काभेटरले क्रियाशील रहेको निमित्त प्रमुख रोकायाले बताए ।
उनका अनुसार यस वर्ष मात्रै कालिकोट, दैलेख र मुगु गरी तीन दर्जनभन्दा बढी ठाउँमा पटक-पटक गरी पहिरो खसेको छ।

'हामीलाई मुगु खण्ड र कालिकोट खण्डमा चारवटा स्काभेटर र टिपर आवश्यक छ,' उनले भने,'तीन जिल्लाका लागि जम्मा दुईवटा मात्रै छन् । त्यही पनि कहिलेकाहीँ बिग्रिएपछि सडक अवरुद्ध भएका बेला समस्या उत्पन्न हुने गरेको छ।'

जुम्लाको स्काभेटर मुगुको सडक अवरुद्ध हटाउन क्रियाशील छ । कालिकोटमा पनि असारमा नयाँ स्काभेटर खरिद गरियो ।सडक डिभिजन कार्यालय जुम्लाका अनुसार कर्णाली राजमार्गको दैलेखदेखि कालिकोटको नाग्मसम्म करिब ६० किलोमिटर क्षेत्रका विभिन्न ठाउँमा पहिरो गएको छ । मुगुमा पर्ने ९३ किलोमिटरमध्ये ४० किलोमिटर सडकखण्ड पहिरोको उच्च जोखिममा छ।

एकतर्फी रूपमा तत्कालका लागि सडक खुलाइए पनि अझै जोखिमपूर्ण अवस्थामा गाडी गुडाउनुपर्ने बाध्यता छ । बुधबार साँझ जुम्ला पुगेका चालक विक्रम सुनारले भने,'अझै पनि सडकको अवस्था राम्रो छैन, पानी पर्नेबित्तिकै निरन्तर पहिरो खसिरहन्छ। कतिबेला आफ्नै टाउकोमा पहिरो खस्छ थाहै नहुने स्थिति छ।'

कालिकोटदेखि दहीखोलासम्म दिनहुँ पहिरो खस्ने गरे पनि सडक विभागले पन्छाउने कार्य नगरेको उनको गुनासो छ । पहिरो गएको ठाउँमा यात्रुलाई हिँडाएर खाली गाडी चढाउने र पहिरो छिचोल्दै गाडी पास गर्ने गरेका छन्।

दुई सातादेखि नाग्म गम्गडी सडक अवरुद्ध छ । जसकारण मुगुदेखि जुम्ला हुँदै सुर्खेत नेपालगन्ज पुग्ने यात्रुले सास्ती खेप्नुपरेको छ । गम्गडी सडकखण्डमा सिंजा क्षेत्र, घुच्चीलेखलगायत करिब दर्जन बढी ठाउँमा पहिरो खसेका कारण सडक अवरुद्ध छ।

कर्णाली राजमार्ग बुधबार पहिरो पन्छाएको ठाउँमा सानो गाडी सजिलैसित आए पनि बस तथा ट्रकलाई जोखिम रहेको चालक बताउँछन् ।

स्तरोन्नतिमै १७ करोड
०४८ सालबाट निर्माण सुरु भएको कर्णाली राजमार्गको दुई सय ३२ किलोमिटर सडकखण्ड ०६३ सालमा नेपाली सेनाले ट्र्याक खोलेको थियो । ट्र्याक खोलेको एक दशकपछि पनि कर्णाली राजमार्गको स्तरोन्नति हुन सकेको छैन । मृत्यु मार्गका नाममा परिचित कर्णाली राजमार्गमा एक÷दुई घटनाबाहेक पछिल्लो दुई वर्षयता राजमार्गमा सवारी दुर्घटनामा कमी आए पनि अझै जोखिमपूर्ण रूपमा यात्रा गर्नुपर्ने बाध्यता छ।

सडक डिभिजनका निमित्त प्रमुख रोकायाका अनुसार कर्णाली राजमार्ग नेपालको रोड स्ट्यान्डर्डअनुसार बनाइएको थिएन । त्यसैले सेनाले ट्र्याक खोलेको दशकपछि मात्रै माघमा सडक विभागलाई हस्तान्तरण गरेको थियो।

९३ किलोमिटरको नाग्म गमगडी सडकखण्डको स्तरोन्नतिका लागि दुई वर्षको अवधिमा १५ करोड रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

तर, सडकको हालत भने उस्तै छ । स्तरोन्नति गर्ने क्रममा नाग्मदेखि सिंजाको अचार्यलिइसम्म १६ किलोमिटर सडकलाई न्यूनतम १० मिटरका चौडाइ गरिएको छ । तर, ओटासिल भएको कर्णाली राजमार्गको स्तरोन्नतिका लागि दुई करोडमध्ये टेन्डरमार्फत राचुलीमा केही पहिरो पन्छाउने र केही ठाउँमा नाली सफाइ गर्नेबाहेक खासै केही काम हुन सकेको छैन।

‘दुई करोडमध्ये राँचुलीमा बाटो काट्ने, केही ठाउँमा ग्याबिन हाल्नुका साथै दायाँ–बायाँ वाल लगाउने कार्यमा ५० लाख खर्च भएको छ,' निमित्त प्रमुख रोकायाले भने,'अन्य ठाउँमा पनि बाटो छेउका नाली बनाउने र दायाँ बायाँतिर वाल लगाउने कार्य भएको छ।'

तर, १५ करोड रुपैयाँ स्तरोन्नतिकै लागि खर्च भएको नाग्म गम्गडी सडकखण्डको हालत भने अझै दयनीय छ । कच्ची सडक भए पनि तीन घन्टामा पुग्नुपर्ने भए पनि सडकको खराब अवस्थाका कारण न्यूनतम सात घन्टासम्म लाग्ने गरेको छ।

स्थानीयले भने, १५ करोड रुपैयाँ सडक स्तरोन्नतिकै लागि खर्च भयो भनिए पनि काम प्रभावकारी नहुँदा सडकको अवस्था सुध्र्रन नसकेको गुनासो गरेका छन्।

दोब्बर भारले सडक बिग्रँदै
कर्णाली राजमार्गमा दैनिक सवारी चापले पनि सडकको अवस्था बिगँ्रदै गएको छ । न्यूनतम भार थेग्न सक्ने क्षमता भए पनि दैनिक सवारी चापका कारण ओटासिल गरेको एक वर्षमै सडकको ओटासिल अधिकांश ठाउँमा बिग्रेको छ।

सडक मापदण्डअनुसार ओटासिल गरिएको बाटोमा दैनिक दुई सयभन्दा कम सवारी साधनको भार थाम्न सक्ने हुन्छ । तर, पछिल्लो समय कर्णाली राजमार्गमा मापदण्डभन्दा दोब्बर सवारीसाधन गुड्ने गरेका छन्।

सडक डिभिजन कार्यालयका अनुसार असोज महिनासम्म दैनिक तीन सय गाडी गुड्ने गरेका थिए । उक्त संख्या बढेर हाल दैनिक चार सय संख्यामा पुगेको छ । दोब्बर सवारी चापका कारण भर्खर ओटासिल गरिएको सडक खाल्डाखुल्डी पर्ने तथा खोलामा बाटो जोखिमपूर्ण बन्दै गएको छ।

दुई वर्षअघि हस्तान्तरण गरेको नाग्म गमगडी सडकखण्ड र कर्णाली राजमार्गको स्तरोन्नतिकै हालसम्म १६ करोड रुपैयाँ खर्च भइसकेको छ। विश्व बैंकको सहयोगमा एक अर्ब २० करोड रुपैयाँ खर्च गरी ट्र्याक खुलेको कर्णाली राजमार्गको स्तरोन्नतिका लागि माघदेखि हालसम्म दुई करोड रुपैयाँ खर्च भएको सडक विभागले जनाएको छ।

 यस्तै, सडक मापदण्डअनुसार न्यूनतम १५ मिटर घुम्ती हुनुपर्ने भए पनि हाल ८ मिटर मात्रै छ । जसकारण दुर्घटनाको उच्च जोखिम छ । उकोलो तथा ओराला न्यूनतम १० प्रतिशत मात्रै हुनुपर्ने भए पनि हाल कर्णाली राजमार्गमा १५ प्रतिशतसम्म भएकाले धेरै ठाउँमा गाडी चिप्लिने र बाटो बिग्रने गरेका छन्।

वर्षातको समयमा कम्तीमा चारवटा स्काभेटर आवश्यक रहेकाले सडक विभागसँग माग गरिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.