'र'को एजेन्ट भन्दै फिराती माग्ने पक्राउ
भरतपुर: आफूलाई 'र' को नेपाल प्रतिनिधि भन्दै आपराधिक गतिविधिमा लागेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ।उनीहरूले आफू भारतीय खुफिया एजेन्ट 'र'को प्रतिनिधि बताउँदै फिरौती रकम मागेका थिए।
मुख्य योजनाकार धादिङ ज्वालामुखी गाउँपालिका २ का ३० वर्षीय ईश्वर बस्नेत, गाउँपालिका १ का २२ वर्षीय रामकृष्ण श्रेष्ठ, वडा नम्बर २ का २२ वर्षीय रोशन बस्नेत र सोही वडाका २० वर्षीय मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।उनीहरूले प्रयोग गरेको कल डिटेलका आधारमा प्रहरीले पक्राउ गरेको हो।
मुख्य योजनाकार ईश्वर सशस्त्र प्रहरीका भगौडा सिपाही हुन्।अपहरणकारीले १५ दिन अगाडिबाट अपहरणको योजना बनाएका थिए।सुरुवातमा काम खोज्ने बहानामा व्यवसायीको फ्याक्ट्री अगाडि आएर उनीहरूले साउन ६ गते फोन गरेर पैसा माग गरेका थिए।
पटकपटक फोनमार्फत धम्काएका उनीहरूले एसएमएस गरेर छोराछोरीको अपरहण गर्ने धम्की दिएका थिए।उनीहरू मेघौली, सौराहा र हेटौंडा पुगेर योजना बनाएको प्रहरीको भनाइ छ।उनीरूले २० लाख रुपैयाँमा मार्ने सुपारी लिएको भन्दै ५० लाख दिए छोडिदिने आश्वासनसमेत दिएका थिए।प्रहरीले व्यवसायीको नाम भने गोप्य राखेको छ।
फिरौती रकम मागेर धम्की दिन थालेपछि व्यवसायीले जिल्ला प्रहरी कार्यालयका एसपी दीपक थापालाई गोप्य रूपमा जानकारी गराएका थिए।एसपी थापाले २० लाख लिएर आफू पनि सँगै जाने भन्दा व्यवसायी डराएपछि कल डिटेल खोज्न थालिएको थियो।आइतबार अदालतको आदेश आएपछि कल डिटेल खोजिएको हो।
उनले प्रहरी निरीक्षकको नेतृत्वमा सादा पोसाकमा व्यवसायीको घर वरपर प्रहरी खटाएका थिए।
‘बारम्बार धम्की आएपछि मात्रै उहाँले मलाई खबर गर्नुभएको हो', एसपी थापाले भने,'त्यसपछि उहाँलाई निगरानीमा राखेर काम अगाडि बढाएको हुँ।' फिरौती माग्ने क्रममा उनीहरूले तीनवटा सिमकार्ड प्रयोग गरेका थिए।
आइतबार उनीहरूले अन्तिम अप्रेसन सुरु गर्छौं भनेर म्यासेज गरेका थिए।पाँच घन्टामा पैसा नल्याए जे पनि हुन सक्छ भन्दै अल्टिमेटम दिएका थिए।त्यसको ३ घन्टामा प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।साउन ९ गते काडमाडौंको नयाँ बसपार्कस्थित सिस्नेरी होटेलमा लुकीछिपी बसेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
मध्यक्षेत्र प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान टोली, महानगरीय अपराध महाशाखा काठमाडौं र जिल्ला प्रहरी कार्यालय चितवनले महानगरीय प्रहरी आयुक्तको कार्यालय काठमाडौं र केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा पक्राउ गरेको हो।बुधबार उनीहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।उनीहरूलाई मंगलबार चितवन ल्याएर अनुसन्धान थालिएको हो।