नेपाली खेलाडीको विजयी सुरुआत
काठमाडौं: इन्डोनेसियामा जारी पेम्वाङ्गुनाल जया राया ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिप—२०१७ मा नेपाली खेलाडीले गतिलो प्रदर्शन गरेका छन्।
ब्याडमिन्टन एसिया कन्फिडेरेसनको आयोजनामा भएको उक्त च्याम्पियनसिपमा नेपालका प्रफुल महर्जनले पहिलो चरणको खेलमा कम्बोडियाका डिना साओमलाई हराए। उक्त खेलमा प्रफुल २१—११, २१—८ अंकले विजयी भए । जितसँगै प्रफुल प्रतियोगिताको दोस्रो चरणमा स्थान बनाउन सफल भए।
हालै ललितपुरमा सम्पन्न छैटौं पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा प्रफुलले सातौं वरीयताका सञ्जीव खड्कालाई पराजित गर्दै आफूलाई उदीयमान खेलाडीका रूपमा प्रस्तुत गरेका थिए। उनले अब दोस्रो चरणमा आयोजक इन्डोनेसियाका फतुरामान फौजीसँग प्रतिस्पर्धा गर्ने जानकारी नेपाल ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाहले दिए।
यसैगरी अर्को खेलमा नेपालका रुकेश महर्जनले मंगोलियाका खेलाडी मेन्देब्यर बात्सुकलाई २१-८, २१-७ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गरे। अर्का जुनियर खेलाडी पबिन लिन्थेपले पनि आफ्नो पहिलो खेलमा जित हात पारे।
उनले पहिलो चरणको खेलमा पाकिस्तानका खेलाडी राजा मुहम्मद हैदरमाथि १५—२१, २१—१७, २१—१७ अंकको प्रतिस्पर्धात्मक जित हासिल गरे।दोस्रो चरणको खेलमा रुकेशले श्रीलंकाका खेलाडी रसिन्दु हेन्देवासँग र पविनले पनि श्रीलंकाकै रन्थुस्का ससिन्दुसँग प्रतिस्पर्धा गर्नेछन्।
पविन पनि नेपाली ब्याडमिन्टनका उदीयमान खेलाडी हुन्। उनले पुष्पलाल ब्याडमिन्टनमा छैटौं वरीयताका नेपाल पुलिस क्लबका खेलाडी दीपक बोहरालाई पराजित गर्दै आफ्नो क्षमताको परिचय दिएका थिए। च्याम्पियनसिप जुलाई ३० सम्म सञ्चालन हुनेछ।